दार्चुला घटनाबारे भारतसँग औपचारिक विरोध जनाउन संसद्‍मा माग

मंगलबार, १९ साउन, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका नेता तथा दार्चुलाका सांसद गणेशसिंह ठगुन्नाले दार्चुला घटनाबारे भारत सरकारसँग औपचारिक विरोध जनाउन माग गरेका छन्। प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले घटनामा बेपत्ता जयसिंह धामीको परिवारले किटानी जाहेरी दिइसक्दा पनि सरकारले भारतीय राजदूतलाई बोलाए औपचारिक रूपमा विरोध जनाउन नसकेको बताए। उनले घटनाको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नसमेत माग गरेका छन्।

भारतीय सीमा सुरक्षा बलले महाकाली नदी तर्ने क्रममा तुइनको तार काट्दा धामी बेपत्ता भएका थिए। यस्तो घटना युद्धरत देशहरूबीच पनि नहुने ठगुन्नाको भनाइ छ। 
‘सरकारले भारत सरकारसँग अविलम्ब विरोध जनाओस् र दोषीमाथि मानव हत्या गरेको अभियोगमा कारबाही होस्,’ उनले भने। 

उनले धामी परिवारलाई यथोचित क्षतिपूर्ति दिन सरकारसँग माग गरे। सरकारले प्रशासनिक कर्मचारीको नेतृत्वमा छानबिन समिति गठन गरेर घटनालाई साम्य पार्न खोजेको आरोप लगाए। गृह मन्त्रालय र स्थानीय प्रशासनको विज्ञप्ति हेर्दा सरकारले यो घटनालाई संवेदनताका साथ लिएको नदेखिएको उनको भनाइ छ।

उक्त क्षेत्रमा महाकाली वारिपारिका जनतामा मित्रवत् सम्बन्ध रहेको उनले बताए। ‘त्यस क्षेत्रमा यस्ता घटना घटिरहन्छन्। भारतलाई मात्र दोष दिएर मात्र हामी उम्किन सक्दैनौँ। सडकलाई प्राथमिकता दिएर काम गर्न अनुरोध गर्दछु,’ उनले भने। उनले दार्चुला खलंगा तिंकर सडकलाई तत्काल राष्ट्रिय गौरवको योजना घोषणा गर्न माग गरे। 

सुझावित समाचार