नेपाल पक्षलाई ठाउँ खाली राख्दै एमालेका केन्द्रीय विभागहरूमा प्रमुख र सदस्य मनोनयन

सोमबार, १८ साउन, २०७८
डिजिटल संस्करण

पार्टीमा समानान्तर गतिविधि गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई ठाउँ खाली राख्दै एमालेले केन्द्रीय निकाय र विभागहरूमा प्रमुख र सदस्य मनोनयन गरेको छ । स्थायी कमिटीको सोमबार बसेको बैठकले विभिन्न निकाय र विभागका प्रमुख र सदस्यहरूको नाम तय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिए ।

बैठकले महाधिवेशन तयारीको कामलाई गति दिन नौवटा केन्द्रीय विभाग पनि गठन गरेको छ । जसअनुसार उपमहासचिव विष्णु पौडेलको नेतृत्वमा १४ सदस्यीय संगठन विभाग, सुवास नेम्वाङको नेतृत्वमा १४ सदस्यीय संसदीय विभाग, विष्णु रिमालको नेतृत्वमा दुई सदस्यीय आर्थिक विभाग गठन भएको छ । 

प्रदीप ज्ञवालीको नेतृत्वमा १५ सदस्यीय प्रचार विभाग, भानुभक्त ढकालको नेतृत्वमा १५ सदस्यीय पयर्टन प्रवद्र्धन विभाग, अध्यक्ष केपी ओलीको नेतृत्वमा ११ सदस्यीय पार्टी स्कुल विभाग, डा. राजन भट्टराईको नेतृत्वमा १४ सदस्यीय विदेश विभाग, अग्नि खरेलको नेतृत्वमा ६ सदस्यीय निर्वाचन विभाग र देवेन्द्र दाहालको नेतृत्वमा १४ सदस्यीय स्थानीय तह विभाग गठन भएको पनि ज्ञवालीले जानकारी दिए ।

नेपालपक्षीय नेताहरू भने निकाय र विभागमा समेटिएका छैनन् । नेपाल समूहलाई समेट्न पर्याप्त स्थान सुरक्षित गरिएको ज्ञवालीको दाबी छ ।

पार्टी एकताको काम र संगठनात्मक गतिविधिलाई पनि सँगै अघि बढाउने उनले बताए । आगामी २४ साउनमा बस्ने केन्द्रीय कमिटीले थप निर्णय लिने ज्ञवालीको भनाइ छ ।
 

सुझावित समाचार