सत्तापक्षीय पार्टीहरूको कार्यदल बैठकले सरकार सञ्चालनको विषयमा तीनवटा विषयमा केन्द्रित रहेको डकुमेन्ट ड्राफ्ट गरेको छ। ती विषय फाइनल भएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने कार्यदलका एक सदस्यले बताए। आज बालुवाटारमा बसेको बैठकले तीनवटै ड्राफ्टलाई पूर्णता गर्ने जिम्मेवारी जसपा नेता राजेन्द्र श्रेष्ठलाई दिएको छ। आजको बैठकमा तीनवटै विषयको सामान्य प्रारूपबारे छलफल गरिएको थियो।
श्रेष्ठका अनुसार सरकारका न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालनको कार्यविधि र सरकारका मन्त्रीहरूको आचारसंहिता कार्यदलले तयार पारिरहेको छ। पर्सिसम्म ती सबै डकुमेन्ट तयार पार्ने गरी काम भइरहेको श्रेष्ठले नयाँ पत्रिकालाई जानकारी दिए।
सरकार सञ्चालनका लागि दलहरूबीच हार्दिकता होस् र जनतामा डेलिभरि दिने गरी काम गर्न सकियोस् भन्न उद्देश्यका साथ कार्यदलले काम गरिरहेको उनले बताए।