प्रहरी जवान (जनपद) पदको परीक्षामा सहभागी दुईजना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । दैलेखको भगवतीमाई गाउँपालिका–२ रुम बेस्तडाका २२ वर्षीय रोशन शाही र २३ वर्षीय लोबन शाहीलाइ प्रहरीले पक्राउ गरेका हो ।
कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगन्जमा) सञ्चालन भएको अन्तर्वार्ता परीक्षामा सहभागी हुन आएका उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीले बताए ।
‘रोशन शाही दर्ता नं. ४९१७१ का उम्मेदवार हुन् । अन्तर्वार्ता दिने क्रममा उनले शंकास्पद कुराहरू गरेपछि लेख्न पठाउँदा उनलाई लेख्न आएन ,’ घर्तीले भने, ‘त्यसपछि सोधपुछ गर्दा उनले ०७७ फागुन १२ गते लोकसेवा आयोगको कार्यालय सुर्खेतले सञ्चालन गरेको लिखित परीक्षामा लोबनलाई एक लाख रकम दिएर आफू पास भएको बयान दिए ।’