काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको आर्थिक वर्ष ०७७/७८ मा कुल विनियोजित रकमको ९७.३५ प्रतिशत कार्य प्रगति भएको नेपाली सेनाले बताएको छ ।
शुक्रबार नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको आर्थिक वर्ष ०७७/७८ को वार्षिक कार्यप्रगति स्थिति तथा चालू आ.व. ०७८/७९ को वार्षिक कार्यक्रम प्रस्तुत गर्दै आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले गत आ.व. ०७७/७८ मा आठ अर्ब ९६ करोड ८८ लाख विनियोजन भएकोमा वार्षिक प्रगति ९७.३५ प्रतिशत भएको जानकारी दिए ।
उनले आ.व. ०७६/७७ सम्म समष्टिगत भौतिक प्रगति ११.११ प्रतिशत रहेकोमा गत आ.व. ०७७/७८ मा आयोजनाको कुल कार्य अंशको थप ५.१० प्रतिशत काम सम्पन्न भएको बताए । त्यस्तै आयोजनाको कुल कार्यको १६.२१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य प्रक्षेपण गरिएकोमा १६.१० प्रतिशत प्रगति हासिल भएको उनले स्पष्ट पारे ।
आयोजनाको स्वीकृत डिपिआरअनुसार एक सय ७५ अर्ब लागत अनुमान रहेकोमा आयोजनाको सुरुबाट हालसम्म कुल बजेट खर्च २५ अर्ब ३९ करोड रुपैयाँ भएको उनले बताए । आयोजनाको हालसम्मको भौतिक प्रगति १६.१० रहेको आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले बताए ।
काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक खण्ड आयोजनाको कुल लम्बाइ ७२.५ किलाेमिटरमध्ये तीनवटा सुरुङ मार्गको जम्मा लम्बाइ ६.४१ किलाेमिटर, विभिन्न पुलहरूको लम्बाइ १०.५९ किलाेमिटर र खुद सडक खण्डको लम्बाइ ५५.५ किलाेमिटर रहेको जानकारी दिँदै आयोजना प्रमुख पोखरेलले यसमध्ये आयोजनाको ४४.१ किलाेमिटर सडक खण्डको सब ग्रेड लेभलसम्म तयार गर्न समष्टिगत माटो काट्ने/पुर्ने कार्यहरू हालसम्म ९० प्रतिशत सम्पन्न भएको बताए ।
आयोजनाको डिजाइन तथा कन्स्ट्रक्सन सुपरिभिजनका लागि अन्तर्राष्ट्रिय परामर्शदाता आयोजना अवधिभरका लागि छनाेट भई विषय विज्ञहरूसहितको टोलीले फिल्ड सर्भेलगायतका कार्यहरू सुचारु गर्न विभिन्न ठेक्का प्याकेजको टेन्डर डकुमेन्ट तयार गर्ने काम भइरहेको उनले उल्लेख गरे ।
आयोजनामा पर्ने तीन सुरुङ मार्ग महादेवटार, धेद्रे र लेनडाँडा सुरुङ खण्डमा प्रोजेक्ट म्यानेजर, विषय विज्ञहरूको डिजाइन टिमलगायतका समूहले कार्य प्रारम्भ गरेको उनले बताए । पुल निर्माणका लागि पनि ठेक्का सम्झौता भइसकेको उनले जानकारी दिए ।