प्रतिनिधिसभा चालू अधिवेशनको पाँचाैँ बैठक शुक्रबार बस्यो । औपचारिकता मात्र पूरा भएको उक्त बैठकमा सांसदले शून्य समय र विशेष समयमा अनेक विषय उठान गरे ।
सांसद देवप्रसाद गुरुङले वर्षाबाट बिग्रिएका लमजुङ, मनाङ र लेखनाथका सडक अवरुद्ध भएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले अवरुद्ध सडक छिटो खुलाउनसमेत आग्रह गरे । ‘वर्षातले गर्दा बिग्रिएका लमजुङ, मनाङ र लेखनाथका सडक अवरुद्ध छन्, छिटो खुलाउन सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भने, ‘बाढीपहिरोले लमजुङको दोर्दी खोला, निदिम, किस्ती खोला र खहरे खोलाहरूमा ठूलो बाढी आएर जनधनको क्षति भएको छ, त्यसैले यी खोलामा अविलम्ब तटबन्ध तथा जलाधार परियोजना निर्माण गरियोस् ।’
सांसद देवप्रसाद तिमल्सिनाले संघीय निजामती ऐन आउन नसकेकोमा चिन्ता व्यक्त गरे । उनले समावेशी हिसाबमा सुब्बाले पनि आन्तरिक प्रतिस्पर्धा गर्न पाउने गरी ऐन ल्याउन सरकारसँग माग गरे । सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्दा खोप, खोप, खोप भनेको, तर प्रभावकारी तरिकाले नलगाइरहेको बताए । उनले स्वास्थ्य निकायले व्यवस्थित तरिकाले खोप नलगाएको गुनासो गरे । उनले
अर्का सांसद देवेन्द्रराज कँडेलले नागरिकताबाट वञ्चितलाई नागरिकता दिलाउन माग गरे । उनले उनीहरूको भविष्यलाई सुनिश्चित गरेर नागरिकता अविलम्ब उपलब्ध गराउनुपर्ने बताए । उनले भने, ‘मेचीदेखि महाकालीसम्म लाखौँ मानिस नागरिकता नभएर बेरोजगार अवस्थामा छन्, यसले युवाहरू विदेश जान सकिरहेका छैनन्, अध्ययन गर्न त्यसैले उनीहरूको भविष्य अन्योल अवस्थामा छ, उनीहरूको भविष्यलाई सुनिश्चित गर्ने अब यो सरकारले अठोटताका साथ अविलम्ब उपलब्ध गराउनुपर्छ ।’
सांसद टेकबहादुर बस्नेतले राष्ट्रिय जनगणना रोक्नु नहुने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै बस्नेतले राष्ट्रिय जनगणना स्थगित गर्न लागेको जानकारी पाएकोले यसलाई रोक्न नहुने बताएका हुन् । उनले राष्ट्रिय जनगणना नेपाल सरकारको सूचीमा छ, छैन भन्ने विषयमा ध्यानाकर्षणसमेत गराए ।
‘नेपालमा पहिलो राष्ट्रिय जनगणना आजभन्दा एक सय १० वर्षअघि वि.सं १९६८ मा भएको थियो, त्यतिवेला नेपालको जनसंख्या ५६ लाख ३८ हजार ६ सय ४९ थियो, यो सबैलाई जानकारी छ, अहिले ११औँ राष्ट्रिय जनगणनाका लागि आवश्यक तयारी र आवश्यक बजेट पनि विनियोजन भइसकेको छ,’ उनले भने, ‘कोरोना महामारीका कारण कार्यक्रम स्थगित भएको भन्ने सुन्नमा आएको छ, त्यसलाई स्थगित गर्नुहुँदैन, अगाडि बढाउनुपर्छ, सरकारको कार्यसूचीमा छ, छैन, नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।’
प्रतिनिधिसभाका सदस्य दामोदर भण्डारीले अन्तैको आदेश र सर्वोच्चको परमादेशबाट बनाइएको वर्तमान सरकारले अझै पूर्णता पाउन नसकेको बताए । उनले सरकारलाई कुन नीति, कुन कार्यक्रम हो भन्नेसमेत थाहा नभएको भन्दै फेरि कसैको इसारा पर्खिएको हो कि के हो ? भन्दै प्रश्न गरे । उनले सरकारको प्राथमिकतामा विभिन्न अपराधका आरोपीहरू छुट्ने क्रम बढिरहेको बताए ।
‘अन्तैको आदेश र सर्वोच्चको परमादेशबाट बनाइएको वर्तमान सरकार बनेको तीन हप्ता पूरा भएको छ, र पनि सरकारले पूर्णता पाउन सकेको छैन, कुन नीति, कुन कार्यक्रम हो, कुन उद्देश्य हो थाहा छैन, नीति, उद्देश्य, कार्यक्रमका बारेमा कहीँ–कतै उल्लेख छैन, फेरि इसारा आदेश पर्खिएको हो कि ?’ उनले प्रश्न गरे, ‘एमआरमा हेर्दा सरकारको प्राथमिकतामा विभिन्न अपराधमा आरोपीहरू छुट्ने क्रम बढ्दो छ, फैसलाबाट आरोप र अभियोग, लगाउन मिल्दैन भन्ने तथ्यहरू बाहिर आइरहेका छन्, सरकारको प्राथमिकता यही हो ?’
प्रतिनिधिसभाकी अर्की सदस्य दिलकुमारीले पूर्वमन्त्री प्रभु साहले सिंगो नेपाली महिलामाथि अपमान गरेको बताइन् । उनले पूर्वमन्त्री साहले महिलाको सभ्यतामाथि आक्रमण गरेको र चरित्र हत्या गरेको बताइन् ।
उनले भनिन्, ‘पूर्वमन्त्री प्रभु शाहजीले सिंगो नेपाली महिलामाथि अपमान गर्नुभएको छ, महिलाको सभ्यतामाथि आक्रमण गर्नुभएको छ, चरित्र हत्या गरिएको छ, पूर्वमन्त्री प्रभु शाहको अश्लील हर्कतबारे केही कुरा भन्छु, पूर्वमन्त्री प्रभु शाह विगत दुई वर्षदेखि मदानी मेला लगाउँदै हुनुहुन्छ, के समाजवादमा पुग्ने यही बाटो हो ? उहाँले समाजको आधुनिकतावादमा लुटको खेती गर्दै हुनुहुन्छ ।’
प्रतिनिधिसभा सदस्य दिव्यमणि राजभण्डारीले मधेसी, आदिवासी, जनजाति, अल्पसंख्यकलगायत सबैका हकहितका विषयको कानुन तत्काल ल्याउन माग गरे । साथै उनले उखुकिसानको भुक्तानी नदिएको कुरा आएको बताउँदै गरिब किसानलाई कहिलेसम्म न्याय नदिने हो भन्दै प्रश्न गरे ।
सांसद दीपकप्रकाश भट्टले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयनको छोटो समयमै संविधानमाथि संविधान बनाउने र जलाउने पक्षबाटै आक्रमण भएको बताए । उनले यो संविधानलाई दिगो बनाउनका लागि संघीयता, समावेशिता र धर्मनिरपेक्षताजस्ता मूलभूत र आधारभूत कुरालाई दीर्घकालीन ढंगले आत्मसमर्पण गर्न सुझाए । उनले निर्वाचनबाहेकका कुरा नसोच्ने हो भने सरकार ठूलो दुर्घटनामा जाने भन्दै चिन्ता व्यक्त गरे ।
त्यस्तै, प्रतिनिधिसभा सदस्य दुर्गबहादुर राउतले जनआन्दोलनका वेला विस्थापित भएका शिक्षकहरूलाई पुनर्स्थापित गर्न माग गरे । जनयुद्ध, जनआन्दोलन र विगतका परिवर्तनमा शिक्षकहरूको भूमिका महत्वपूर्ण भएकाले उनीहरूलाई पुनर्स्थापित गर्नुपर्ने बताए ।
उनले भने, ‘जनयुद्ध, जनआन्दोलन र विगतका परिवर्तनका हरेक आन्दोलनमा नेपालमा शिक्षकहरूको ग्रामीण क्षेत्रमा अहं भूमिका रह्यो, यो आन्दोलन सफल गर्नेमा पनि उहाँहरूको भूमिका थियो, जनयुद्धको वेला शिक्षकहरू दोहोरो पेलानमा परे, सिआइडीको आरोप पनि शिक्षकहरूलाई लाग्ने, माओवादीको पनि ती विस्थापित शिक्षकहरू अहिलेसम्म पुनर्स्थापित भएका छैनन् । यही प्रक्रियाका कर्मचारीको पुनर्स्थापना भयो, तर शिक्षकहरूको भएन, यसका लागि सरकारले ती शिक्षकको पुनर्स्थापना गरोस् ।’
त्यस्तै, दुर्गाकुमारी विश्वकर्माले तेस्रो लहरको जोखिमबाट नेपाली जनतालाई जोगउन आवश्यक तयारी नभएको बताइन् । उनले पहिलो लहर वृद्धवृद्धा, दोस्राे युवा र तेस्रो लहरमा बालबालिकालाई खतरा भएको भनिएकोले नेपाली जनता यसबाट निकै आक्रान्त बनिरहेको बताइन् ।