लमजुङमा स्वास्थ्य सावधानी नअपनाउँदा कोरोना बढ्ने चिन्ता

शुक्रबार, १५ साउन, २०७८
डिजिटल संस्करण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने चेतावनी गराइरहँदा सर्वसाधारणले भने स्वास्थ्य सावधानी अपनाउन बेवास्ता गरेका छन् । सदरमुकाम बेसीसहरसहित बजार क्षेत्र र ग्रामीण भेगका स्थानीयले मास्कसमेत मास्क लगाउँदैनन् । स्वास्थ्य सतर्कता नअपनाउनेमा सर्वसाधारण मात्र नभई व्यवसायी, कर्मचारीसमेत छन् । 

बेसीसहरमा बस्दै आएकी प्रतिमा थापा उपभोक्ताको भिड हुने पसलका व्यापारीले समेत मास्क नलगाने गरेको बताउँछिन् । उनी भन्छिन्, ‘शिक्षित, कर्मचारी, नेताहरूले पनि मास्क लगाउँदैनन्, चियापसल वा रेस्टुरेन्टमा जमघट बढ्दो छ । मास्क लगाउनेजस्तो आधारभूत स्वास्थ्य सावधानी अपनाउनसमेत आनाकानी गर्ने बढेसँगै प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियानसहित कोभिडसम्बन्धी सचेतनामूलक सन्देशसहित सूचना प्रवाह गरिरहेको छ । 

‘स्वास्थ्य जोखिम कायमै रहेकाले मास्क लगाउन र भौतिक दूरी कायम गर्न प्रहरीले माइकिङ गरेर आग्रह गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । उनले भने, ‘प्रहरीले कोभिडसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिरहेकै छ, तर स्वास्थ्यसम्बन्धी सावधानी अपनाउन सर्वसाधारण आफैँ सचेत हुनुपर्छ ।’ 

जिल्ला प्रशासन कार्यालयले औपचारिक रूपमा सबै क्षेत्रको निषेधाज्ञा हटाइसकेको छैन । व्यावहारिक रूपमा भने शैक्षिक संस्थाबाहेक सबै क्षेत्र खुलेका छन् । आर्थिक तथा सामाजिक गतिविधिलाई सक्रिय बनाउन निषेधाज्ञा खुकुलो पारिएको भए पनि कोरोना संक्रमणको जोखिम भने हटिसकेको छैन । निषेधाज्ञा खुकुलो भएसँगै सदरमुकाममा मात्र होइन ग्रामीण क्षेत्रमा पनि संक्रमण फैलिएको छ ।  गाउँगाउँबाट सदरमुकाम आउँदा प्रहरीले ‘गाली गर्छ’ भन्दै मास्क लगाउने, तर प्रहरीले नदेखे मास्क नलगाउनेको संख्या धेरै छ । तरकारी, खाद्यान्न, औषधि, दूध डेरी, मासु पसललगायतमा भिडभाड भए पनि मास्क नलगाउने र भौतिक दूरी कायम नगर्ने बढी छन् ।  

यस्तै, बुधबार  १७ जना र बिहीबार नाैजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रशासनका अनुसार संक्रमितमध्ये बेंसीसहर नगरपालिका र राईनास नगरपालिकामा बढी छन् ।  बुधबार र बिहीबार २६ जना थप भएसँगै लमजुङमा कोरोना संक्रमितको संख्या दुई हजार दुई सय ८६ पुगेको छ । दुई हजार ९२ जना निकाे भइसकेका छन् । हाल एक सय ५९ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म जिल्लाभित्र र बाहिर गरी लमजुङका ३५ जनाको मृत्यु भएको प्रशासनले जनाएको छ । 

सुझावित समाचार