छानबिन समितिको प्रतिवेदनमा कल्याण गुरुङको ‘नोट अफ डिसेन्ट’, बारा, सप्तरी, धनुषा–४ र सर्लाही–२ को नयाँ सदस्यता वितरणको विवाद पदाधिकारीबाटै सुल्झाउन सुझाब
कांग्रेसको क्रियाशील सदस्य संख्या आठ लाख ५२ हजार पुगेको छ । क्रियाशील सदस्यता छानबिन समितिले देशभरका क्रियाशील सदस्यको नामावली तयार गरी सुझाबसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । समितिले ७७ वटै जिल्ला सदस्यता नवीकरण र ७५ वटा जिल्लाका सदस्यता छानबिन गरी मंगलबार सभापति शेरबहादुर देउवासमक्ष प्रतिवेदन बुझाएको हो ।
समितिले बारा, सप्तरी, धनुषा–४ र सर्लाही–२ को नयाँ सदस्यता वितरणको विवाद शीर्ष नेताहरूकै बीचबाट सुल्झाउन आग्रह गरेको छ । तर, समिति सदस्य कल्याणकुमार गुरुङले प्रतिवेदनमा असहमति जनाएपछि विवाद बढ्न सक्ने देखिएको छ । प्रतिवेदनबारे धारणा बनाउन नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।
सभापति देउवाले प्रतिवेदन र अन्य ठाउँको सदस्यता विवाद समाधानका विषयमा छलफल गर्न बुधबार पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले त्यसबारे चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार छुट्टै भेला गरेर पूर्वतयारी गरेको छ । ‘क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन आए पनि फर्जी क्रियाशील सदस्यको समस्या एकदमै धेरै छ ।
फेरि, समितिभित्रै पनि सहमति जुटेको देखिँदैन, त्यसैले अहिल्यै प्रतिवेदन स्वीकृत नहुन सक्छ,’ एक नेताले भने, ‘फर्जी क्रियाशील थपेर हतारमा महाधिवेशन गर्नुभन्दा क्रियाशीलमाथि गहन छानबिन र राम्रो तयारी गरेर सहज परिस्थितिमा महाधिवेशन गर्नुपर्छ भन्ने कुरा उठेको छ, यसबारे बुधबारको बैठकमा छलफल हुन्छ ।’
समितिले १४औँ महाधिवेशनका लागि देशभरबाट आठ लाख ५२ हजार सात सय ११ जना क्रियाशील सदस्यहरूको नामावली सभापतिमार्फत केन्द्रीय समतिलाई बुझाएको हो ।
कांग्रेसले १३औँ महाधिवेशनमा भएको क्रियाशीलको संख्यालाई दोब्बर बनाएको हो । यसअघि क्रियाशील सदस्यको संख्या चार लाख ७० हजार मात्रै थियो ।
१३औँ महाधिवेशनमा स्वीकृत सदस्यमध्ये १४औँ महाधिवेशनका लागि चार लाख नौ हजार ३३ जनाले मात्रै नवीकरण गरेका छन् । ६० हजार नौ सय ६७ जनाले कांग्रेसको सदस्यता त्यागेका छन् ।
समितिको प्रतिवेदनअनुसार यसपटक चार लाख ४३ हजार ६ सय ७८ जनाले कांग्रेसको सदस्यता लिएका छन् । ‘यो संख्या बारा, सप्तरी, धनुषा–४ र सर्लाही–२ बाहेकको हो । शीर्ष नेताहरूका बीचबाट ती ठाउँको विवाद समाधान भएमा यो संख्या वृद्धि हुन्छ,’ समितिका सदस्य जीवन परियारले भने ।
समस्या भएका ठाउँमा पार्टी नेतृत्वले निर्णय गर्छ : रमेश लेखक, संयोजक
क्रियाशील सदस्यता छानबिन समिति
७७ वटै जिल्लाको क्रियाशील सदस्यताको नवीकरण गरेका छौँ । केही ठाउँमा समस्या छ, त्यसलाई स्थगित गरेर त्यहाँ नवीकरण भएका सदस्यमार्फत अधिवेशन गर्न सिफारिस गरेका छौँ । त्यसमध्ये बारा र सप्तरीमा पुराना सदस्यको नवीकरण भएको छ । तर, नयाँ क्रियाशील सदस्यताको कागजात ढिला भएका कारण हामीले काम गर्न पाएनौँ ।
सबै क्रियाशील सदस्यमध्ये लैंगिक आधारमा तुलना गरेर हेर्दा कांग्रेसमा पुरुषको वर्चस्व रहेको देखिएको छ । क्रियाशील सदस्यमध्ये ७४.२६ प्रतिशत अर्थात् ६ लाख ५३ हजार चार सय ३८ जना पुरुष छन् । महिला २२.६२ प्रतिशत अर्थात् एक लाख ९९ हजार ९७ जना मात्रै छन् । तेस्रोलिंगी र समलिंगी क्रियाशील सदस्यको संख्या १७६ रहेको छ ।
समयमै महाधिवेशन गर्ने बाटो खुल्यो
छानबिन समितिका संयोजक रमेश लेखकले क्रियाशील सदस्यताको काम टुंगिएकाले अब महाधिवेशन गर्ने बाटो खुलेको बताए । ‘हामीले ७७ वटै जिल्लाको क्रियाशील सदस्यताको नवीकरण गरेका छौँ । नयाँतर्फ ७५ जिल्लामा प्रवेश गरेर टुंग्याएका छौँ । दुई तीनवटा विषय मात्रै सहमतिबाट टुंग्याउन नसकेकाले पदाधिकारीसमक्ष बुझाएका छौँ,’ लेखकले भने, ‘सहमति नभएका ठाउँमा नयाँतर्फको क्रियाशील सदस्यता स्थगित गरेका छौँ । र, त्यस्ता ठाउँमा अहिले नवीकरण भएका क्रियाशील सदस्यहरूमध्येबाट अधिवेशन गर्न सिफारिस गरेका छौँ । त्यसैले अब महाधिवेशन गर्ने विषय अगाडि बढ्नुपर्छ ।’
समितिले बारा र सप्तरीको नयाँ क्रियाशील सदस्यताका फारम खोलेर हेर्न नभ्याएको उनले बताए । ‘बारा र सप्तरीका पुराना सदस्यको नवीकरण भएको छ । तर, नयाँ क्रियाशील सदस्यताको कागजात ढिला भएका कारण हामीले त्यसमा प्रवेश गर्न सकेका छैनाैँ,’ लेखकले भने, ‘त्यस्तै, धनुषा–४ र सर्लाही–२ को नयाँ सदस्यताको विषयमा पनि सहमति हुन सकेन, त्यसबारे केन्द्रीय नेतृत्वलाई निर्णयमा पुग्न अनुरोध गरेका छौँ । अन्य ठाउँमा क्रियाशीलको विषय टुंगो लागेको छ ।’
तर, समितिको प्रतिवेदनमाथि सदस्य कल्याण गुरुङले फरक मत राखेका छन् । समितिले सबै निर्णय सर्वसम्मत रूपमा निर्णय गर्ने र सर्वसम्मत नभए त्यस्ता विवादलाई अर्को महाधिवेशनका लागि स्थगित गर्ने मापदण्ड बनाएको थियो । गुरुङको ‘नोट अफ डिसेन्ट’का बीच समितिले सभापतिसमक्ष प्रतिवेदन बुझाएको छ ।
नेता गुरुङले पूर्ण कागजात र विगतमा भएका सहमतिविपरीत प्रतिवेदन तयारी गरी हतारमा बुझाइएको भन्दै फरक मत राखेको बताए । ‘क्रियाशील सदस्यताबारे वडा, पालिका, प्रदेश सभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्रीय समितिहरूले गरेका प्रमाणित निर्णयहरू प्राप्त हुनुपर्ने हो । तर, अहिलेसम्म ती निर्णयहरू हामीले प्राप्त गरेका छैनाैँ । हामीले उजुरीकै आधारमा मात्रै छानबिन गरेर निष्कर्षमा पुग्न मिल्दैन,’ उनले भने, ‘त्यसैले मैले ती निर्णयहरू आएपछि मात्रै टुंगोमा पुग्नुपर्ने धारणा राखेको हुँ । प्रमाणित डकुमेन्टबिनै गरिएको छानबिनले कुनै अर्थ राख्दैन । त्यसैले मैले लिखित रूपमा नै ‘नोट अफ डिसेन्ट’ राखेको छु ।’
प्रमाणित डकुमेन्टविनै गरिएको छानबिनले कुनै अर्थ राख्दैन : कल्याणकुमार गुरुङ, केन्द्रीय सदस्य
क्रियाशील सदस्यताबारे वडा, पालिका, प्रदेश सभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्रीय समितिहरूले गरेका प्रमाणित निर्णय प्राप्त हुनुपर्ने हो । तर, अहिलेसम्म ती निर्णय हामीले प्राप्त गरेका छैनाैँ । उजुरीकै आधारमा मात्रै छानबिन गरेर निष्कर्षमा पुग्न मिल्दैन । प्रमाणित डकुमेन्टविनै गरिएको छानबिनले कुनै अर्थ राख्दैन । त्यसैले मैले लिखित रूपमै ‘नोट अफ डिसेन्ट’ राखेको छु ।
पार्टी पदाधिकारीहरूले गुरुङको ‘नोट अफ डिसेन्ट’ माथिसमेत छलफल गर्दै प्रतिवेदनलाई अघि बढाएका छन् । समितिले बुझाएका विवादका विषयमा थप छलफल गरेर सदस्यता अर्थात् पार्टीको अधिवेशनका मतदाताको टुंगो लगाउने संयोजक लेखकले बताए ।
यस्ता छन् समितिका सुझाब
समितिले महाधिवेशनको मुखैमा मात्र क्रियाशील सदस्यता नवीकरण र वितरण गर्ने परम्परालाई तोड्दै त्यसको समायोजन, प्रमाणपत्र तयारी र वितरण, अद्यावधिक गर्नेलगायत क्रियाशील सदस्यताको विवरण दुरुस्त राख्ने कार्यका लागि महाधिवेशनलगत्तै तीन सदस्यीय संरचना गठन गर्नु आवश्यक रहेको सुझाब दिएको छ । समितिले महाधिवेशनलगत्तै नयाँ क्रियाशील सदस्यता लिन चाहनेलाई सदस्यता दिने व्यवस्था गर्नसमेत केन्द्रीय समितिलाई आग्रह गरेको छ ।
क्रियाशील सदस्य नै कांग्रेसको तल्लो तहको अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यमध्येबाट छनोट भएका क्षेत्रीय अधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशन प्रतिनिधिको चयन गरेर पठाउँछन् । हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट केन्द्रीय महाधिवेशनका लागि सभापतिसहित २५ जना महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ । ती महाधिवेशन प्रतिनिधिले नै केन्द्रको नेतृत्व चयन गर्छन् । त्यहीकारण नेताहरूले आफ्नो पक्षमा धेरै क्रियाशील सदस्यहरू थप गर्ने प्रयास गर्ने गर्दछन् । जसकारण विभिन्न जिल्लामा विवाद उत्पन्न हुँदै आएको छ । क्रियाशील सदस्यताकै कारण मंगलबारबाट सुरु हुने तल्लो तहको अधिवेशन रोकिएको छ । भदौमा महाधिवेशन नगरे कांग्रेस वैधानिक संकटमा पर्ने खतरा रहन्छ । कांग्रेसले १६ देखि १९ भदौमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।
सबैभन्दा बढी ४१ देखि ६० वर्ष उमेर समूहका
कांग्रेसको नेतृत्वमा अधिकांश पाका नेताहरूले दाबी गरिरहेका छन् । अर्थात् ६० नाघेका नेताहरू हाबी छन् । पदाधिकारीका आकांक्षी पनि पाका उमेरकै छन् । तर, क्रियाशील सदस्यमा भने युवाको वर्चस्व देखिएको छ । सबैभन्दा बढी ४१ देखि ६० वर्ष उमेर समूहका सदस्य बढी छन् । १६ देखि २५ वर्ष उमेर समूहका ४० हजार ४२७ जना अर्थात् ४.५९ प्रतिशतले क्रियाशील पाएका छन् ।
२६ देखि ४० वर्ष उमेर समूहका दुई लाख २९ हजार ७७४ अर्थात् २८.३८ जनाले सदस्यता पाउँदा ४१ देखि ६० वर्ष उमेर समूहका तीन लाख २८ हजार २३४ जना अर्थात् ३७.३० प्रतिशतले सदस्यता पाएका छन् । ६१ देखि ७५ वर्ष उमेर समूहका ८३ हजार १० जना अर्थात् ९.४३ प्रतिशत र ७५ वर्षमाथिका ११ हजार ७८२ जना अर्थात् १.३३ प्रतिशत क्रियाशील सदस्य छन् ।
समानुपातिक समावेशी छैन कांग्रेस
क्रियाशील सदस्यताको संख्या हेर्दा कांग्रेसमा जनसंख्याको आधारमा समानुपातिक समावेशी सहभागिता भएको देखिँदैन । खसआर्य समुदायका पुरुषको वर्चस्व छ । कांग्रेसमा अल्पसंख्यकतर्फ ६ हजार आठ सय २९ जना क्रियाशील छन् । मधेसी ९५ हजार एक सय ४१, मुस्लिम १६ हजार ९ सय ७०, थारू २७ हजार ६ सय १५, अपांगता भएका दुई सय एक, पिछडिएको क्षेत्रबाट १४ हजार ९ सय १४, आदिवासी जनजाति २ लाख ८ हजार एक सय ५९, खसआर्य तीन लाख ६७ हजार ६ सय ११ र दलित ४५ हजार चार सय १७ जना छन् ।
डा.यादवले तोडे अनशन
क्रियाशील सदस्यताको विवादलाई लिएर केन्द्रीय कार्यालयमा आमरण अनशनरत डा.चन्द्रमोहन यादवले अनशन तोडेका छन् । उनीसहित धनुषा र सर्लाहीका तीन नेताले पनि अनशन तोडेका छन् । क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै उनीहरू १० दिनदेखि अनशनमा बसेका थिए । सभापति शेरबहादुर देउवाले धर्ना र अनशनमा रहेका नेता कार्यकर्ताको माग सम्बोधन र छलफलका लागि सह–महामन्त्री डा.प्रकाशसरण महत र पूर्वसहमहामन्त्री डा.रामशरण महतलाई जिम्मेवारी दिएका थिए । नेताद्वयको उपस्थितिमा मंगलबार साँझ ६ बुँदे सहमतिपछि यादवसहितले अनशन तोडेका हुन् ।

