गोजीबाट लोगो निकाल्दै सांसद गजेन्द्रबहादुरले भने- सरकार र मन्त्रीका कारण हामीले लोगो लुकाएर हिँड्नुपर्छ

मंगलबार, १२ साउन, २०७८
डिजिटल संस्करण

प्रतिनिधिसभाका सदस्य गजेन्द्रबहादुर महतले सरकार र मन्त्रीका कारण आफूले सांसदको लोगो लुकाएर हिँड्नुपर्ने अवस्था आएको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद महतले नवनियुक्त ऊर्जामन्त्रीले गरिबहरूलाई निःशुल्क बिजुली दिने समाचारले आफूलाई चिन्तित बनाएको बताए । भर्खरै गफाडी सरकारलाई बिदा गरेको बताउँदै उनले अबको सरकार पनि गफाडी हुने हो कि भन्ने चिन्ताले सताएको बताए । 

उनले मन्त्रीको अभिव्यक्ति झट्ट सुन्दा लोकप्रिय भए पनि कालान्तरमा जिब्रोको पासो हुने अभिव्यक्ति दिए । ‘हामी सांसद अहिले अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिएजस्तो भएका छौँ । हामी भूतले खाजा खाने वेलामा माननीय भएछौँ । सरकार र मन्त्रीका कारण हामीले सांसदको लोगो लुकाएर हिँँड्छौँ,’ उनले गोजीबाट लोगो निकाल्दै भने । 

खनखनी पैसा गन्छौँ भन्दा त कर्णालीमा बिजुली पुर्याउन नसक्ने सरकारले निःशुल्क दिन्छु भनेर गफ नदिन आग्रह गरे । 

सुझावित समाचार