ओलम्पिकमा कल्पनाको राष्ट्रिय रेकर्ड

आइतबार, १० साउन, २०७८
डिजिटल संस्करण
ओलम्पिकमा कल्पनाको राष्ट्रिय रेकर्ड

कल्पना परियार । तस्बिर : एनएसजेएफ

टोकियो ओलम्पिकमा ६ सय १६.८ स्कोर गरेकी सुटिङकी कल्पनाले यसअघि १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ६ सय १४.५ स्कोर गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्

सुटिङकी कल्पना परियारले ३२औँ गृष्मकालीन टोकियो ओलम्पिक खेलकुद प्रतियोगितामा लक्ष्य पूरा गरेकी छन् । सुटिङतर्फको महिला १० मिटर एयर राइफल इभेन्टमा शनिबार कल्पनाले राष्ट्रिय कीर्तिमान राखेकी हुन् ।

कल्पनाले छनोट चरणमा ६ सय १६.८ स्कोर गर्दै यस इमेन्टमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । वाइल्ड कार्डमार्फत सहभागी भएकी उनले टोकियो जानुअघि आफ्नो लक्ष्य नै राष्ट्रिय कीर्तिमान बनाउने रहेको बताएकी थिइन् । उनले टोकियो ओलम्पिकमा आफ्नै रेकर्ड तोडेकी छन् ।

यसअघि कल्पनाले सन् २०१९ मा काठमाडौंमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ६ सय १४.५ स्कोरसाथ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । उनले सन् २०१८ मा इन्डोनेसियाको जकार्तामा सम्पन्न १८औँ एसियन खेलकुद प्रतियोगितामा १० मिटर एयर राइफलमा ५ सय ९४.८ स्कोर गरेकी थिइन् । यो रेकर्डलाई उनले १३औँ सागमा तोडेकी हुन् । टोकियोमा उनी समग्रमा ४६औँ स्थानमा रहिन् । 

शनिबार आसाका सुटिङ रेन्जमा कल्पनाले राष्ट्रिय कीर्तिमान बनाए पनि दोस्रो चरणमा स्थान बनाउन सकिनन् । कल्पनाले १० मिटर एयर राइफलको पहिलो सिरिजमा १०२.२ र दोस्रोमा १०५.४ स्कोर गरेकी थिइन् । यसैगरी, उनले तेस्रो सिरिजमा १०१.१, चौथोमा १०४.१ र पाँचौँमा १०३.४ स्कोर गरेकी थिइन् ।

उनी सहभागी इभेन्टमा ५० जनाको सहभागिता थियो । कल्पनाले बोस्निया, किर्गिस्तान, श्रीलंका र शरणार्थी टोलीका खेलाडीलाई भने पछि पारेकी छन् । त्रिभुवन आर्मी क्लबकी खेलाडी कल्पना अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले प्रदान गरेको ओलम्पिकको छात्रवृत्तिमा दुई वर्षदेखि तयारी गरिरहेकी थिइन् । 

सोनिया एक मिनेट १६ सेकेन्डमै पराजित

सुटिङकी कल्पनाले राष्ट्रिय रेकर्ड राखेकै दिन जुडोकी सोनिया भट्ट भने पहिलो खेलमै पराजित भएकी छन् । वाइल्ड कार्डबाट टोकियो ओलम्पिकमा सहभागी सोनिया शनिबार निप्पोन बुदोकान हलमा भएको अन्तिम ३२ को स्पर्धाअन्तर्गत ४८ केजी तौलसमूहमा रसियाकी डोल्गोभा इरिनासँग केवल एक मिनेट १६ सेकेन्डमै इप्पोनको आधारमा परास्त भएकी हुन् । 

१९ वर्षीया सोनियाले पहिलो खेलमै विश्व महिला जुडोको वरीयताको नवौँ स्थानमा रहेकी खेलाडी इरिनासँग प्रतिस्पर्धा गरेकी हुन् । पहिलो बाउटमै इरिनाले सोनियालाई मौका नै दिइनन् । सोनियाले १३औँ सागमा नेपाललाई कांस्य पदक दिलाएकी थिइन् । रसियन खेलाडी भए पनि इरिनाले ओलम्पिकमा ओलम्पिक कमिटीको झन्डामुनि प्रतिस्पर्धा गरिरहेकी छन् । डोपिङ प्रकरणका कारण टोकियो ओलम्पिकमा सहभागी सबै रसियन खेलाडी ओलम्पिक झन्डामुनि नै प्रतिस्पर्धा गरिरहेका छन् । 

टोकियो ओलम्पिकमा नेपालबाट चार खेलमा पाँच खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमध्ये जुडो र सुटिङका नेपाली खेलाडीको चुनौती समाप्त भएको छ । पौडीमा गौरिका सिंह, एलेक्स शाह तथा एथलेटिक्समा सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । 

चीन र जापानले स्वर्णमा खाता खोले
टोकियो ओलम्पिकमा आयोजक जापान र चीनले स्वर्ण पदकको खाता खोलेका छन् । चीनलाई १० मिटर एयर राइफलमा २१ वर्षीया याङले पहिलो स्वर्ण दिलाएकी छन् । उनले ओलम्पिकको झन्डामुनि प्रतिस्पर्धा गरेकी रसियन खेलाडी अनास्टासिय गालासिनालाई हराउँदै स्वर्ण पदक हात पारेकी हुन् । याङले स्वर्ण जित्नुका साथै २५१.८ स्कोरसहित नयाँ ओलम्पिक रेकर्डसमेत बनाइन् । 

यसैगरी, भारोत्तोलनमा चीनकी झिहुइ होउले महिला ४९ केजी तौल समूहमा नयाँ ओलम्पिक रेकर्डका साथ स्वर्ण पदक हात पारिन् । क्लिन एन्ड जर्कमा एक सय १६ केजी र स्न्याचमा ९४ केजीसहित उनले कुल दुई सय १० केजी उठाउँदै तीन कीर्तिमान राखिन् । आयोजक जापानले जुडोको ६० केजी तौल समूहमा पहिलो स्वर्ण हात पारेको हो । जापानका खेलाडी नओहिसा ताकातोले चाइनिज ताइपेईका युङ वेइ याङलाई गोल्डेन स्कोरमा हराउँदै शीर्ष स्थानमाथि कब्जा जमाए । 

यसैगरी, इक्वेडरले साइक्लिङमा स्वर्ण जितेको छ । साइक्लिङअन्तर्गत रोड रेस (दुई सय ३४ किलोमिटर) मा इक्वेडरका रिचार्ड कारापजले ६ घन्टा ५ मिनेट २६ सेकेन्डका साथ स्वर्ण हात पारेका हुन् । 

ओलम्पिकमा पहिलोपटक समावेश भएको खेल आर्चरीको मिक्स टिम इभेन्ट्समा दक्षिण कोरियाले स्वर्ण पदक जित्यो । कोरियाका जे डोक किम र सा आनले दक्षिण कोरियालाई पहिलो स्वर्ण दिलाएका हुन् । 

See More On

सुझावित समाचार