विभाजित मानसिकताबाट मुक्त भए मात्र पुष्पलालप्रति सच्चा सम्मान हुन्छ : मुख्यमन्त्री पौडेल

बिहिबार, ७ साउन, २०७८
डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभाजित मानसिकताबाट नभई कम्युनिस्ट आन्दोलनको मूल प्रवाहीकरणमा अन्य मित्रशक्तिलाई समेत समाहित गरेर अघि बढे मात्र पुष्पलालप्रति सही सम्मान व्यक्त हुने धारणा राखेका छन् ।  नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले टुटफुट, एकता र विभाजनको अनेकन शृंखला पार गर्दै अघि बढेको कम्युनिस्ट आन्दोलनले विगतको तितामिठा अनुभवबाट सिकेर अगाडि बढ्न सक्दा मात्र वर्तमानको कार्यभार पूरा गर्न सकिने उल्लेख गरे ।

पौडेलले व्यक्तिगत कुण्ठा, द्वेष र अतृप्त आकांक्षाको परिपूर्तिका लागि जनादेशको अवमूल्यन गर्दै कम्युनिस्ट आन्दोलनलाई वर्गशत्रुको अगाडि आत्मसमर्पण गराउने प्रवृत्तिप्रति सचेत र सजग रहँदै प्राप्त उपलब्धिबारे जनतालाई सुसूचित गर्नुपर्ने धारणा व्यक्त गरे । पौडेलले समृद्धिको सपनालाई यथार्थमा बदल्न मिल्ने जति सबैसँग मिल्न सकिने धारणा राखे । 

‘पुष्पलालले प्रस्तुत गर्नुभएको विचारकै जगमा पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय व्यवस्थाको स्थापना भएको थियो । वि.सं. २००६ मा उहाँको नेतृत्वमा स्थापित कम्युनिस्ट पार्टी विभिन्न आरोह–अवरोहको सामना गर्दै अघि बढेको छ । टुटफुट, एकता र विभाजनको अनेकन शृंखला पार गर्दै अघि बढेको कम्युनिस्ट आन्दोलनले विगतको तितामिठा अनुभवबाट सिकेर अगाडि बढ्न सक्दा मात्र वर्तमानको कार्यभार पूरा गर्न सक्नेछ । राजनीतिक अधिकार प्राप्तिको आन्दोलनले सफलता पाएसँगै अब हाम्रो प्राथमिक कार्यभार जनताको समृद्धिको आकांक्षालाई सम्बोधन गर्नु हो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ त्यही आकांक्षाको अभिव्यक्ति हो,’ सन्देशमा उल्लेख छ । रासस

सुझावित समाचार