कोरोना नियन्त्रणमा निजी क्षेत्रको सहयोग आवश्यक : प्रधानमन्त्री (भिडियोसहित)

बुधबार, ६ साउन, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड– १९ को महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन्। बुधबार नेपाल उद्योग परिसंघको १८औँ वार्षिक साधारणसभामा प्रधानमन्त्री देउवाले नेपाललाई कोभिड– १९ महामारीबाट मुक्त गर्नका लागि उद्योगी तथा व्यापारीहरूले सहयोग गर्नुपर्ने धारणा राखे। 

उनले कोभिड– १९ महामारीको समस्या समाधान गर्नु सरकारको कर्तव्य भएको उल्लेख गर्दै महामारी नियन्त्रणमा उद्योगी, व्यापारीहरूले हातेमालो गरे छिट्टै मुक्त हुन सकिने भन्दै सहयोगका लागि आह्वान गरे।

‘कोभिडको जो समस्या छ त्यो समस्या समाधानका निम्ति नेपालका उद्योगपति व्यापारीहरूले सहयोग गर्नुपर्छ भन्ने मेरो धारणा छ। म यहीँबाट फेरि उहाँहरूलाई अनुरोध र आह्वान गर्दछु कि नेपालमा जो महामारी फैलिएको छ यो सरकारको कर्तव्य हो। यसलाई पालना गर्नुपर्दछ। साथै तपाईंहरूले पनि हातेमालो गरिदिनुभयो भने हामी छिट्टै यो महामारीबाट मुक्त हुन सक्छौँ भन्ने मलाई आशा छ,’ उनले भने।

प्रधानमन्त्री देउवाले वर्तमान अर्थमन्त्री मिहिनेती भएको टिप्पणी गर्दै अर्थमन्त्रीले नेपालको अर्थतन्त्रलाई सुधार गर्नेमा विश्वास गरे। ‘हाम्रो अर्थमन्त्रीजी अत्यन्त मिहिनेती हुनुहुन्छ। मलाई विश्वास छ, उहाँले नेपालको अर्थतन्त्रलाई पहिलेको भन्दा माथि उठाएर नेपालको आर्थिक अवस्थामा सुधार गर्नुहुनेछ भन्ने विश्वास छ। उहाँले सक्नुहुन्छ पनि। अत्यन्तै मिहिनेती हुनुहुन्छ उहाँ। भिजन पनि भएको व्यक्ति हो,’ उनको भनाइ थियो। प्रधानमन्त्री देउवाले कोभिड– १९ महामारीको कारण धराशायी बनेको अर्थतन्त्रको समुन्नत विकासका लागि निजी क्षेत्र र सरकारले हातेमालो गर्नुपर्नेमा जोड दिए।
 

सुझावित समाचार