डेढ अर्ब लागतमा काठमाडौं सुक्खा बन्दरगाह निर्माण सकियो

बुधबार, ६ साउन, २०७८
डिजिटल संस्करण

चोभारस्थित काठमाडौं सुक्खा बन्दरगाहको निर्माण कार्य सम्पन्न भएको छ । तेस्रोपटक थपिएको म्यादअनुसार ठेकेदार कम्पनीले असार मसान्तमा सुक्खा बन्दरगाहको निर्माण सकेको हो । 

ठेकेदार कम्पनी सांसी–आशिष जेभीले काठमाडौं सुक्खा बन्दरगाहको निर्माण सम्पन्न भएको भन्दै हस्तान्तरणका लागि निवेदन दिएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । ‘ठेकेदार कम्पनीले असार मसान्तमै सुक्खा बन्दरगाहको पूर्वाधार निर्माण सम्पन्न गरेको हो, उसले हस्तान्तरण गर्ने भनेर निवेदनसमेत दिइसकेको छ,’ उनले भने, ‘अहिले परामर्शदाताले त्यसको चेकजाँच गरिरहेको छ, परामर्शदाताले रिपोर्ट दिएलगत्तै हस्तान्तरण प्रक्रिया अघि बढ्नेछ ।’

स्थानीयको अवरोध, कोभिड–१९ को प्रभाव र ठेकेदारको ढिलासुस्तीका कारण तोकिएको समयभन्दा करिब डेढ वर्ष ढिला गरी सुक्खा बन्दरगाहको काम सकिएको हो । आयोजनाको कुल लागत १ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । तर, सुरुको डिजाइनभन्दा थप पूर्वाधार बनाउनुपरेको तथा समयमै काम सम्पन्न नभएका कारण आयोजनाको लागत करिब १२ प्रतिशतले बढेको छ ।

विश्व बैंकको सहयोगमा चोभारमा निर्माण भएको आयोजनाको शिलान्यास ३ माघ ०७५ मा भएको थियो । त्यसअघि अगस्ट २०१८ मा नेपाल इन्टरमोडल यातायात विकास समिति र ठेकेदार कम्पनी सांसी–आशिष जेभीबीच १८ महिनाभित्र काठमाडौं सुक्खा बन्दरगाह निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, सुरुको ६ महिना स्थानीयको अवरोधका कारण काम नै सुरु हुन सकेन । काम सुरु नभएपछि आयोजनाको म्याद सात महिना थपियो ।

पहिलोपटक थपिएको म्यादअनुसार सेप्टेम्बर २०२० मा सुक्खा बन्दरगाह निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर, यही समयमा कोरोना महामारीका कारण काम अगाडि बढ्न सकेन । काममा अवरोध आएपछि आयोजनाको म्याद पुनः थपियो । दोस्रोपटक थपिएको म्याद गत १३ वैशाखमा सकियो । दोस्रोपटक थपिएको म्याद पनि काम सन्पन्न नभएपछि आयोजनाको म्याद असारसम्मलाई थप गरियो । तेस्रोपटक थपिएको म्यादमा भने सुक्खा बन्दरगाहको काम सकिएको छ । 

कोडिभकै बीच सुक्खा बन्दरगाह निर्माणको काम सकिनु सकारात्मक विषय भएको कार्यकारी निर्देशक गजुरेलको भनाइ छ । ‘सुरुमा स्थानीयको अवरोधका कारण काम भएन, पछि काम सुरु भयो, तर कोभिड आइहाल्यो,’ उनले भने, ‘कोभिडकै बीच धमाधम काम भयो, हामी सबै समयमै काम सम्पन्न गर्नेमा केन्द्रित थियौँ, यहीबीच काम सकियो, जुन सुखद छ ।’

विदेशबाट आउने कन्टेनरको जाँचपास चोभारमै
साबिक हिमाल सिमेन्ट कम्पनीको चोभारस्थित जग्गामा निर्माण भएको सुक्खा बन्दरगाह २ सय ६० रोपनी क्षेत्रफलमा फैलिएको छ । बन्दरगाहमा भन्सार, क्वारेन्टिन, बैंकलगायत निकायको उपस्थिति हुनेछ । भारत तथा चीनबाट आउने कन्टेनर सीधै काठमाडौं ल्याएर जाँचपास गर्न सकिने गरी सुक्खा बन्दरगाह निर्माण भइरहेको कार्यकारी निर्देशक गजुरेलले बताए । बन्दरगाहमा लोड–अनलोड भवन ३ वटा, गोदाम घर ३ वटा, प्रशासनिक भवन ३ वटा, कन्टेनर यार्ड, ट्रक पार्किङ, अन्य सवारी पार्किङलगायतका संरचना रहेका छन् । बन्दरगाहको कन्टेनर यार्डमा ४ सय ६४ वटा कन्टेनर राख्न मिल्छ । त्यस्तै, ३ सय ६० वटा ट्रकसमेत अटाउँछ । बन्दरगाहलाई काठमाडौं–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक), विद्यमान काठमाडौं–चक्रपथ र निर्माण हुने भनिएको बाहिरी चक्रपथसँग जोडिनेछ ।

तर, सञ्चालन हुन तीन महिना लाग्ने
निर्माण सम्पन्न भए पनि चोभारस्थित काठमाडौं सुक्खा बन्दरगाह सञ्चालनमा आउन अझै तीन महिना लाग्ने भएको छ । सुक्खा बन्दरगाहलाई भन्सार विभागले भन्सार क्षेत्र घोषणा गर्न बाँकी छ । भन्सार, वाणिज्य मन्त्रालय, क्वारेन्टिनलगायतका अफिस सेटअप गर्न बाँकी नै छ । यसले गर्दा मुख्य पूर्वाधार निर्माणका काम सम्पन्न भइसके पनि सुक्खा बन्दरगाह सञ्चालनमा आउन भने अझै समय लाग्नेछ । 

पूर्वाधार निर्माण सम्पन्न भए पनि सञ्चालनको मोडालिटीअनुसार अन्य काम गर्न बाँकी रहेकाले सञ्चालनमा ढिलाइ हुने कार्यकारी निर्देशक गजुरेलले बताए । सञ्चालनको मोडालिटी हालै तयार गरिएको भन्दै उनले मोडालिटीअनुसार सञ्चालनको तयारी गर्न दुईदेखि तीन महिना लाग्ने बताए । ‘सुरुमा मोडालिटी बन्नै ढिला भयो, मोडालिटीअनुसार कर्मचारी तयारी गर्ने, फर्निचरलगायतका अन्य पूर्वाधार राख्नेलगायतका काम पनि बाँकी छ,’ उनले भने, ‘यी सबै काम सक्न तीन महिना लाग्ने हाम्रो अनुमान छ, करिब तीन महिनामा हामीले आइसिडी सञ्चालनमा ल्याउनेछौँ ।’ सुक्खा बन्दरगाह छिट्टै सञ्चालनमा ल्याएर अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्ने उनले बताए । ‘सुक्खा बन्दरगाहमा दुईवटा माइलस्टोन छन्, एउटा पूर्वाधार निर्माण जो पूरा भइसकेको छ, अर्को भनेको सञ्चालन हो, जसका लागि अब केही महिना कुर्नुपर्नेछ,’ उनले भने । 

सुझावित समाचार