महामारीबीच भक्तपुरमा चार अर्ब ४५ करोड राजस्व असुली

मंगलबार, ५ साउन, २०७८
डिजिटल संस्करण

 कोभिड– १९ को महामारीबीच आन्तरिक राजस्व कार्यालय भक्तपुरले अपनाएको प्रभावकारी कार्यशैलीका कारण लक्ष्यभन्दा धेरै राजस्व असुली भएको छ । कार्यालयले यो वर्ष लक्ष्यभन्दा ६.७ प्रतिशत धेरै राजस्व असुली गरेको हो । 

कार्यालयले आर्थिक वर्ष ०७७/७८ मा ४ अर्ब ४५ करोड ८२ लाख ७६ हजार रुपैयाँ कर रकम असुली गरेको छ । जब कि सो वर्ष चार अर्ब १७ करोड ८२ लाख रुपैयाँ कर असुली हुने लक्ष्य निर्धारण गरिएको थियो । यो वर्ष लक्ष्यभन्दा ६.७ प्रतिशत धेरै राजस्व असुली भएको कार्यालयका प्रमुख कर अधिकृत गगनबहादुर विकेले जानकारी दिए । 

उनका अनुसार यो वर्ष अघिल्लो वर्षको भन्दा एक अर्ब सात करोड बढी राजस्व संकलन भएको छ । राजस्वको शीर्षकगत रूपमा यस वर्ष प्राइभेट लिमिटेड कम्पनीहरूबाट ३७ करोड ७४ लाख ३७ हजार रुपैयाँ संकलन भएको छ । यो गत वर्षको तुलनामा ९४ प्रतिशतले बढी हो । कुल संस्थागत आयकरतर्फ ८४ प्रतिशत वृद्धि भएको छ । 

कुल व्यक्तिगत आयकरतर्फ पनि ४५ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ । यस्तै, पुँजीगत लाभकर शीर्षकबाट पनि ८० प्रतिशतभन्दा बढी राजस्व संकलन भएको छ । मूल्य अभिवृद्धि करतर्फ एक अर्ब ४५ करोड ९७ लाख राजस्व संकलन भएको छ । यो रकम गत वर्षको तुलनामा १८ प्रतिशतले बढी हो । त्यसैगरी अन्तःशुल्क पनि १२ प्रतिशतले बढेको छ । 

कार्यालयका प्रमुख कर अधिकृत गगनबहादुर विकेले कर असुलीमा अपनाइएको नीतिका कारण महामारीबीच लक्ष्य हासिल भएको बताए । ‘हामीले नियमित रूपमा व्यवसायबाट आउनुपर्ने करको रकम असुलीमा कडाइ गरेका थियौँ । त्यस्तै, करदाताहरूसँग रहेको बक्यौता कर रकम असुलीका लागि पनि कडाइ गर्याैँ । जसले गर्दा लक्ष्य हासिल गर्न सहज भएको हो,’ उनले भने । हाल काठमाडौं उपत्यकामा थुप्रै आन्तरिक राजस्व कार्यालय छन् । तर, अर्थ मन्त्रालयको गणनामा भक्तपुर सानो कार्यालयको रूपमा गणना गरिन्छ ।

See More On

सुझावित समाचार