लमजुङमा करेन्ट लागेर बालिकाको मृत्यु

सोमबार, ४ साउन, २०७८
डिजिटल संस्करण

लमजुङको राईनास नगरपालिका– ७ सालफेदीमा करेन्ट लागेर सात वर्षीया बालिकाको मृत्यु भएको छ । टेलिभिजन हेर्न भनी सेट्रोल बक्स छुन पुगेकी सृष्टि पाण्डेको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं इन्स्पेक्टर जगदीश रेग्मीका अनुसार सोमबार बिहान ७ बजेतिर करेन्ट लागेर घाइते सृष्टिको उपचारका क्रममा गरमबेंसीस्थित सहोदर अस्पतालमा सोमबार बिहान साढे ८ बजे मृत्यु भएको हो । करेन्ट लागेपछि भुइँमा ढलेकी बालिकालाई परिवारले अस्पताल पु¥याएका थिए । तत्काल अस्पताल पु¥याए पनि बालिकाको बाटोमै मृत्यु भइसकेको भन्दै अस्पताल पुग्नेबित्तिकै डाक्टरले बालिकालाई मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले आफैँ घटनास्थल पुगी घटनाबारे थप अनुसन्धान थालिएको बताए । उनले भने, ‘टिभी हेर्ने भनेर बक्स छुन पुग्दा नांगो तारमा बालिकाले छुन पुगेको र बालिकालाई करेन्ट लागेपछि मृत्यु भएको हो ।’ 

घटनाको मुचुल्का उठाएर पोस्टमार्टमका लागि बालिकाको शव बेंसीसहरस्थित जिल्ला अस्पताल लमजुङमा ल्याई पोस्टमार्टमपछि उक्त शव परिवारलाई बुझाइएको छ । मृतक बालिका धमिलिकुवास्थित शैलपुत्री मावि कक्षा २ मा पढ्दै आएकी थिइन् । 

सुझावित समाचार