कोरोना भाइरसको उच्च जोखिम भएको देशको सूचीमा आयोजक फिलिपिन्सले नेपाल र भारतलाई राखेसँगै फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाल खेल्नबाट वञ्चित भएको छ ।
महिना दिनदेखि तयारी गरेको नेपालको अवसर गुम्दा खेलाडी केही निराश पनि भएका छन् । पहिलोपटक एसियन भलिबल प्रतियोगितामा सहभागी हुने अवसर पाएको नेपाली महिला भलिबल टोलीलाई शुक्रबार एसियन भलिबल कन्फडेरेसन (एभिसी)ले जारी गरेको तालिकापछि केही निराश बनायो ।
ठूलो प्रतियोगिता खेल्ने पाउने उमंगका साथ तयारी गरेको महिला टोलीलाई उक्त तालिकाले स्तब्ध पनि भए । आठ टोलीले मात्र प्रतिस्पर्धा गर्ने तालिका सार्वजनिक भएसँगै नेपालको अवसर गुमेको छ । कोरोना भाइरसको रेड जोनमा नेपाललाई समावेश गरेका कारण एभिसीले प्रतियोगितामा समावेश नगरेको मुख्य प्रशिक्षक जगदीश भट्टले बताए ।