ओलम्पिक खेलको समापनलगत्तै जापानमा राजनीतिक खेल सुरु हुने भएकाले प्रधानमन्त्री योसिहिदे सुगा उच्च दबाबमा छन्
जुलाई ८ मा जापानी सरकारले टोकियोमा आपत्कालीन स्थितिको घोषणा गर्यो । अगस्ट २२ सम्म लागू हुने पछिल्लो आपत्कालले टोकियो ओलम्पिक (जुलाई २३–अगस्ट ८) लाई पनि प्रभावित बनाउनेछ । यसबाट ओलम्पिक खेल रंगशालामै गएर प्रत्यक्ष हेर्न चाहने दर्शक भने निराश हुनुपर्नेछ । ओलम्पिकसमेत प्रभावित हुने गरी लागू भएको नयाँ नियन्त्रणात्मक कदमले जापानी प्रधानमन्त्री योसिहिदे सुगा सबैभन्दा बढी निराश बनेको हुनुपर्छ । आखिर उनी ओलम्पिक खेललाई जापान गम्भीर संकटबाट उठ्न सक्छ भनेर देखाउन चाहन्थे । जापान सन् २०११ मा भूकम्प, सुनामी र फुकुसिमा आणविक दुर्घटनाबाट गम्भीर रूपमा प्रभावित भएको थियो ।
ओलम्पिक प्रतियोगिताको यस संस्करणको महत्वपूर्ण प्रतिस्पर्धामा दर्शकको हुटिङ सुनिनेछैन । तर, यसबाट टोकियो सहरवासीमा ओलम्पिकलाई लिएर जुन उत्साह छाएको थियो, त्यो सेलाएको छ । प्रतियोगिताले स्थानीय अर्थतन्त्रलाई बढावा दिनेछ भनेर सोच्नेहरू निराश भएका छन् ।
जापानको आपत्काल पश्चिमी देशहरूमा लागू भएको लकडाउनको तुलनामा खुकुलो छ । मानिसहरू आपत्कालबीच पनि सपिङ गर्न, बाहिर गएर खानपिन गर्न सक्छन् । रेस्टुराँ र ठूला खुद्रा पसलमा अरू व्यवसायमा भन्दा केही बढी नियन्त्रण लगाइएको छ । पछिल्लो आपत्कालीन घोषणा सन् २०२० अप्रिलयताको चौथो हो । अघिल्लो आपत्कालदेखि रेस्टुराँहरूमा रक्सी बिक्रीमा नियन्त्रण लागू भएको छ । रक्सीले धुत हुँदा ठुल्ठूलो स्वरमा कुराकानी हुने र त्यसले कोरोना विस्तार बढाउने सरकारको स्पष्टीकरण छ ।
सुगाको सरकारले आपत्कालीन अवस्थामा मानिसलाई अनावश्यक यात्रा रद्द गर्न र घरबाट काम गर्न ‘अनुरोध’ गरेको छ । पहिलो लकडाउनमा यत्तिकै नियन्त्रण पनि प्रभावकारी देखिएको थियो । तर, पछि सरकारले फरक शैली अपनायो । उदाहरणका लागि अघिल्लो गर्मीमा उसले जनतालाई अनुदान दिएरै घुम्न प्रोत्साहित ग¥यो । तर, सन् २०२० को अन्त्यमा संक्रमण एक्कासि बढेपछि जनवरी ८ देखि मार्च २१ बीच दोस्रो आपत्काल लागू गरियो । त्यसपछि अप्रिल २५ देखि जुन २० बीच तेस्रो आपत्काल लागू भयो । आपत्काल घोषणा गर्ने, खोल्ने, फेरि घोषणा गर्ने गरेको हेर्दा जापानी सरकारले पहिलेका अनुभवबाट सिक्न नसकेको वा नचाहेको देखिन्छ । यसका कारण जापानी अनुभव न्युयोर्कको भन्दा फरक रह्यो । सन् २०२० को वसन्तमा न्युयोर्क संक्रमणको विश्वव्यापी एपिसेन्टरमा गनिन्थ्यो । संक्रमण नियन्त्रणका लागि नगर प्रशासनले लामो अर्ध–लकडाउन गर्यो । अहिले आएर बल्ल सहर बिस्तारै खुल्दै छ । त्यसले गर्दा सहरमा संक्रमण बढेको देखिएको छैन ।
संक्रमण नियन्त्रणमा अक्षम भएको भन्दै जापानी सर्वसाधारण सरकारसँग रुष्ट छन् । न्यून खोपदर असन्तुष्टिको अर्को कारण बनेको छ । जापानको खोपदर अन्य विकसित देशको तुलनामा निकै सुस्त छ । जुलाई ११ को दिन जापानमा प्रति १०० व्यक्तिमा ४९ जनालाई खोप दिइरहेको थियो । जबकि, फ्रान्समा यो दर ९०, जर्मनीमा ९८ र अमेरिकामा सय थियो । टेलिभिजन तथा युट्युब भिडियोमा न्युयोर्क तथा अन्य पश्चिमी सहरमा उन्मुक्त रूपमा हिँडिरहेको दृश्य देख्दा जापानीहरू ईर्ष्या गर्न थालेका छन् ।
जापानीहरू ओलम्पिक–पाराओलम्पिक खेललाई रद्द गर्नुपर्ने विषयको पक्ष र विपक्षमा विभाजित छन् । सामाजिक तथा आर्थिक क्रियाकलापमा कडा नियन्त्रण लागू हुँदा रेस्टुराँ व्यवसायीबाट विरोधको स्वर सुनियो । निश्चित रूपमा सरकारले दुवै पक्षलाई सन्तुष्ट बनाउन सक्दैन । त्यसैले उसले दर्शकविना खेल आयोजना गर्ने बीचको बाटो अपनाएको छ ।
आर्थिक मोर्चाको कुरा गर्दा टोकियोमा संक्रमण रोकिँदै–बढ्दै गरेका कारण समग्र उपभोगमा सुस्तता छाएको छ । यो वर्षको अप्रिल–जुनमा ‘निक्केई २२५’ को प्रदर्शन अन्य कुनै विकसित अर्थतन्त्रको स्टक सूचकभन्दा खराब रह्यो । कमजोर अर्थतन्त्रले सत्तारूढ दललाई सधैँ नै क्षति पुर्याउने भएकाले सुगा अर्थतन्त्रलाई बिस्तारै खुलाउँदै लाने चर्को दबाबमा छन् ।
तर, पूर्ण रूपमा आर्थिक क्रियाकलाप सुचारु गर्न र ओलम्पिक खेललाई उत्सवमय सञ्चालन गर्न नयाँ संक्रमण दर न्यून रहनुपथ्र्यो । यसका लागि न्युयोर्कमा जस्तै तीव्रताका साथ खोप अभियान सञ्चालन गर्नुपथ्र्यो । हुन त पछिल्लो समय तीव्रताका साथ खोप खरिद भइरहेको छ । तर, जापानले प्रारम्भमा खोप किन्न ढिलाइ गर्यो । भर्खरै जापानी अधिकारीले जुनको अन्तिमसम्म चार करोड मोडेर्ना खोप पाउनुपर्नेमा जम्मा १.३७ करोड खोप मात्र हासिल भएको खुलाए । यो गृष्म ओलम्पिक खेल जसरी सञ्चालन भए पनि सुगाले सेप्टेम्बरमा पार्टीको आन्तरिक चुनौती सामना गर्दै छन् । त्यसपछि अक्टोबरमा आमनिर्वाचन हुनेछ । ओलम्पिक खेलको समापनलगत्तै जापानको राजनीतिक खेल सुरु हुँदै छ ।
पूर्ववित्त उप–सहमन्त्री ताकातोसी इतो कोलम्बिया विश्वविद्यालयका प्राध्यापक हुन् ।
© Project Syndicate 2021
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य