नियुक्ति सच्याएपछि मात्रै देउवाले शपथ लिने

मंगलबार, २९ असार, २०७८
डिजिटल संस्करण

कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्रीमा नियुक्ति गरेको भन्दै त्यसलाई सच्याएपछि मात्रै शपथग्रहण गर्ने अडान लिएका छन् । देउवाले राष्ट्रपतिको कार्यालयले संविधानको धारा उल्लेख नगरी नियुक्ति दिएकाले त्यसलाई संविधानको धारा ७६ (५) बमोजिम उल्लेख गरेर नियुक्ति सच्याएपछि मात्रै शपथ लिने भएका हुन् ।

साँझ ६ बजे हुने भनिएको शपथका लागि देउवा शीतलनिवास पुगिसकेका छन् । पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराईलगायत पनि शीतलनिवास पुगेका छन् । गठबन्धनका अन्य नेताहरू पनि शीतलनिवास पुगिसकेका छन् । तर, नियुक्ति सच्याएपछि मात्रै शपथ लिने तयारी रहेको स्राेतले बतायो ।

देउवाले आफूले संविधानको धारा ७६ (५) बमोजिमको प्रधानमन्त्रीका लागि दाबी पेस गरेको र त्यही आधारमा सर्वोच्च अदालतले आफूलाई प्रधानमन्त्री नियुक्त गर्न निर्देशन गरेकाले सो उल्लेख गरेर नियुक्तिको व्यवस्था गर्न आग्रह गरेका हुन् । 

प्रधानमन्त्रीमा देउवासँगै कांग्रेसका तर्फबाट बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्की तथा नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाललाई पनि मन्त्रीको शपथ गराउने तयारी छ । 

कांग्रेसका प्रमुख सचेतक खाणले गृहमन्त्रीको जिम्मेवारी पाउने भएका छन् । यस्तै, कार्कीलाई कानुन, न्याय तथा संसदीय मामिला दिने तयारी छ । शर्मालाई अर्थ मन्त्रालय र भुसाललाई ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । 

सुझावित समाचार