संयोग : १९ वर्षअघि प्रतिनिधिसभा विघटन गर्ने देउवा ओलीले विघटन गरेको पुनर्स्थापित संसदबाट प्रधानमन्त्री बन्दै

मंगलबार, २९ असार, २०७८
डिजिटल संस्करण

१९ वर्षअघि तत्कालीन प्रतिनिधिसभा विघटन गरेर आलोचित बनेका कांग्रेस सभापति शेरबहादुर देउवा अहिले प्रधानमन्त्री केपी ओलीले विघटन गरेको पुनर्स्थापित संसद्का प्रधानमन्त्री नियुक्त हुने भएका छन् । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) बमोजिम नियुक्त गर्न परमादेश जारी भएपछि उनी पाँचौँपटक मुलुकको प्रधानमन्त्री बन्न लागेका हुन् । यसपटक संसद् विघटनविरुद्ध विपक्षी मोर्चाको नेतृत्व गरेर देउवाले लोकतन्त्र र संविधानका लागि निर्णायक भूमिका खेलेका छन् । मुलुकको बागडोर सम्हाल्न लागेका देउवाको विगतको चार कार्यकाल भने विवादमुक्त थिएन । 

दोस्रोपटक ११ साउन ०५८ सालमा प्रधानमन्त्री भएपछि देउवाले ८ जेठ ०५९ सालमा प्रतिनिधिसभा विघटनका लागि तत्कालीन राजा ज्ञानेन्द्र शाहसमक्ष सिफारिस गरेका थिए । उक्त विघटित प्रतिनिधिसभा ०६२/०६३ मा भएको दोस्रो जनआन्दोलनपछि मात्रै पुनर्स्थापना भएको थियो । संयोग, अहिले तिनै देउवाले प्रधानमन्त्री ओलीले विघटन गरेर सर्वोच्चले पुनर्स्थापना गरेको प्रतिनिधिसभाबाट प्रधानमन्त्री बन्ने अवसर पाए ।

टिप्पणी : प्रा. कृष्ण पोखरेल 

शेरबहादुर देउवा नयाँ पात्र होइनन् । यो केपी ओलीको मैमत्ता शासनको अगाडि विपक्षी दलको नेता भएको हिसाबले ओलीको विकल्पमा उनलाई अघि सारिएको हो । त्यसैले यो उनको नितान्त नयाँ भूमिका होइन मात्र बदलिएको राजनीतिको उपज हो । त्यसैले मैलेचाहिँ यसलाई देउवाजीको पुरानो राजनीतिमा लागेको दाग मेटाउने मौकाको रूपमा बुझेको छु । यो उहाँको सकारात्मक पाइला चालेर छाप छोड्ने मौका हो । ओलीजीले जुन संविधान कार्यान्वयन गर्दै लोकतन्त्रलाई मजबुद पार्ने काम गर्नुपर्ने थियो, त्यो नगर्नुका कारणले यो अवस्था आएको हो । 
 

देउवा विपक्षी गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री बन्दै छन् । विपक्षी गठबन्धनका एक सय ४६ जना सांसदले हस्ताक्षरसहित प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्न र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरेका थिए । जसमा अदालतले विघटनको निर्णय बदर गर्दै मंगलबार साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । 

पहिलोपटक प्रतिनिधिसभा विघटन हुँदा चर्को प्रतिरोधसमेत नगरेका देउवा दोस्रोपटकको विघटनपछि पुनस्र्थापित संसद्बाट आफैँ प्रधानमन्त्री बन्ने निश्चित भएको हो । सर्वोच्चले अबको एक साताभित्र पुनर्स्थापित प्रतिनिधिसभाको बैठक बोलाउनसमेत आदेश दिएको छ । देउवा मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएसँगै पुनर्स्थापित संसद्बाट एक महिनाभित्र विश्वासको मतसमेत लिनेछन् ।

देउवा यसअघि २७ भदौ ०५२ सालमा पहिलोपटक प्रधानमन्त्री भएका थिए । देउवाको पहिलो प्रधानमन्त्री कार्यकालमा नेपालको राजनीतिलाई नयाँ दिशामा डोहोर्‍याउने ठुल्ठूला घटना भएका थिए । उनी प्रधानमन्त्री भएको केही महिनामै माओवादी जनयुद्ध सुरु भएको थियो । जनयुद्ध सुरु गर्नुअघि माओवादीले तत्कालीन प्रधानमन्त्री देउवालाई ४०बुँदे मागपत्र बुझाएको थियो, तर उनी त्यसलाई बेवास्ता गरेर दिल्ली भ्रमणमा गएका थिए । तिनै मागलाई लिएर मुलुकमा १० वर्ष लामो जनयुद्ध भयो ।

यसका साथै देउवाको पहिलो कार्यकालमा नै विवादास्पद महाकाली सन्धिसमेत भयो । सन्धि भएकोमा देउवाले गर्व गरे पनि अहिलेसम्म महाकाली सन्धिलाई लिएर मुलुकको राजनीति विभाजित अवस्थामा छ । सोही समयमा सन्धिमा सहयोग गरेको भन्दै एमालेसमेत विवादमा पर्‍यो, पार्टी विभाजन नै भयो । यही वेलामा संसद्मा भएका प्राडो–पजेरोलगायत काण्डहरूसमेत अहिलेसम्म चर्चाको विषय बन्ने गरेका छन् । उनी पहिलो कार्यकालमा नै ४८ जनाको जम्बो मन्त्रिपरिषद् बनाएरसमेत आलोचित भएका थिए । 

यस्तै, दोस्रोपटक ११ साउन ०५८ मा प्रधानमन्त्री भएका देउवा संसद् विघटन गरेर विवादमा आएका थिए । त्यतिवेला देउवाले ८ जेठ ०५९ मा पार्टीको बहुमत सदस्यको चाहनाविपरीत संसद् विघटन गरेर चुनावको घोषणा गरेका थिए । संसद्को दुई सय पाँच सिटमध्ये कांग्रेसले एक सय १३ सिट जितेको थियो, तर देउवाको संसद् विघटन गर्ने निर्णयले पार्टी फुटको अवस्थामा पुग्यो । 

त्यसपछि सभापति गिरिजाप्रसाद कोइरालाले देउवालाई नै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका थिए । कारबाहीमा परेपछि देउवाले नयाँ पार्टी नेपाली कांग्रेस प्रजातान्त्रिक चलाए । त्यो विघटनपछिको संसद् जनआन्दोलनबाट ११ वैशाख ०६३ सालमा मात्रै पुनर्वहाली भएको थियो । उनले संसद् विघटन गरेपछि दरबारलाई मुलुकको राजनीतिमा प्रत्यक्ष खेल्ने भूमिका मिलेको थियो भने मुलुक करिब चार वर्षसम्म जनप्रतिनिधिविहीन बनेको थियो 

तेस्रोपटक उनी २१ जेठ ०६१ मा प्रधानमन्त्री भए । तत्कालीन कांग्रेस प्रजातान्त्रिकका सभापतिका रूपमा देउवा ०६१ देखि ०६२ सालसम्म प्रधानमन्त्री बने । उनलाई निर्वाचन गराउन नसकेको आरोप लगाउँदै तत्कालीन राजा ज्ञानेन्द्रले बर्खास्त गरेर शासनसत्ता हातमा लिएका थिए । देउवाले अघिल्लो कार्यकालमा संसद् विघटन गरेसँगै राजनीतिक दलहरू आन्दोलित थिए । त्यहीवेला ज्ञानेन्द्रले राजनीतिक नेतृत्व अक्षम छ भनेर देखाउनका लागि पनि मनलाग्दी नियुक्ति गर्दै अपदस्थ गर्दै आइरहेका थिए । देउवा त्यही संसद्विनाको प्रधानमन्त्री बन्न तयार भएका थिए, तर उनलाई ज्ञानेन्द्रले अपदस्थ गरेपछि उनी पनि अरू राजनीतिक दलसँगै आन्दोलनमा होमिएका थिए । 

मुलुकमा गणतन्त्र स्थापित भएपछि देउवा चौथोपटक २३ जेठ ०७४ मा प्रधानमन्त्री बने । देउवाकै नेतृत्वमा आमचुनावसमेत भयो, तर उनको आफ्नै पार्टीले भने संसद्मा गतिलो सिट जित्न सकेन । उक्त कार्यकालमा देउवाले गरेका नियुक्तिलगायत विभिन्न विषय विवादित बने । सरकार गठन भएदेखि नै आलोचना खेपिरहेका देउवाले चुनावपछि कामचलाउ सरकारमा परिणत भएर पनि संविधानको मर्मविपरीतका निर्णय र नियुक्तिहरू गरेको आरोप खेप्नुपर्‍यो । 

सरकार टिकाउन उनले दैनिकजसो सहिद घोषणा, नियुक्ति र दीर्घकालीन महत्वको निर्णय गरेको आरोप त्यतिवेला उनलाई लागेको थियो । उनकै पालामा मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्नमा रोक लगाइएको थियो । जुन कार्यलाई केपी ओली नेतृत्वको सरकारले थप कडाइका साथ लुकाउने काम गर्‍यो । उनले चुनाव जितेको पार्टीलाई सरकार गठनमा सहयोग नगरेको आरोप पनि त्यतिवेला खेप्नुपरेको थियो । 

See More On

सुझावित समाचार