अमेरिकाले दियो ५ प्रतिशत नेपाली नागरिकलाई पुग्ने कोभिडविरुद्धको जोन्सन एन्ड जोन्सन खोप

मंगलबार, २९ असार, २०७८
डिजिटल संस्करण

२१ प्रतिशत नागरिकलाई पूर्णखोपको सुनिश्चितता, लामो समय भण्डारण सम्भव नभएकाले खोप अभियानलाई नियमित गर्ने सरकारको तयारी

खोप टाइमलाइन

-  हालसम्म नेपालमा आएको खोप : ६५ लाख २ हजार ५० डोज
-  पहिलो मात्रा खोप लगाउनेको संख्या : २६ लाख ११ हजार ८०७ 
-  दोस्रो मात्रा लगाउनेको संख्या : १० लाख ४१ हजार ३६६
-  कोभिसिल्ड खोप एक लाख ९९ हजार डोज प्रयोगमा, तर तथ्यांकमा जोडिन बाँकी

...                                                           ...

नेपाललाई कोरोनाविरुद्धको खोप दिनेमा सबैभन्दा अग्रस्थानमा अमेरिका देखिएको छ । संख्याका हिसाबले चीन रहे पनि अमेरिकाले एक मात्रा लगाए पुग्ने खोप दिएकाले ऊ अगाडि छ । अमेरिकाले नि:शुल्क दिएको १५ लाख ३४ हजार ५८० डोज जोन्सन एन्ड जोन्सन खोप सोमबार नेपाल आइपुगेको छ । 

अन्य खोप दुई मात्रा लगाउनुपर्छ भने जोन्सन एन्ड जोन्सन खोप एक मात्रा लगाए पुग्छ । अमेरिकाले दिएको जोन्सनको खोपले कुल जनसंख्याको ५ प्रतिशतलाई कभर गर्ने छ । यो अहिलेसम्मकै सबैभन्दा बढी प्रतिशत हो । बाँकी १६ प्रतिशत नागरिकलाई चीन र भारतबाट आएको खोपले कभर गरेको छ । 

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले सोमबार स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई कोभ्याक्स सुविधामार्फत आएको १५ लाख खोप हस्तान्तरण गरेका छन् । कोरोनाविरुद्ध जोन्सन एन्ड जोन्सन कम्पनीको खोप एक डोज मात्रै पर्याप्त भएको मानिन्छ । नेपालका लागि अमेरिकी राजदूत बेरीले नेपाली जनतालाई अमेरिकी जनताका तर्फबाट दिइएको नि:शुल्क उपहार भएको बताए । उनले कोभिड–१९ को प्रतिकार्यका लागि नेपालमा अमेरिकी सहयोग सबैभन्दा धेरै रहेकोसमेत जिकिर गरे । स्वास्थ्यमन्त्री श्रेष्ठले कोभ्याक्सअन्तर्गत खोप उपलब्ध गराएकोमा अमेरिकी सरकारलाई धन्यवाद दिए । 

‘कोभ्याक्समार्फत आएको यो प्रारम्भिक अनुदान हो । यसले तत्काल १५ लाखभन्दा बढी नागरिकको सुरक्षा गर्न सक्छ, नेपालको जनसंख्याको ५ प्रतिशत जनता यसबाट लाभान्वित हुनेछन् भन्नेमा हामी विश्वस्त छौँ,’ अमेरिकी राजदूत बेरीले सोमबार जारी भिडियो सन्देशमा भनेका छन्, ‘७५ वर्षदेखि अमेरिका नेपालको सबैभन्दा नजिकको साझेदार रहँदै आएको छ । आज हाम्रो साझेदारी सदाभन्दा झन् महत्वपूर्ण भएको छ ।’

अमेरिकाले यी खोप कोभ्याक्स विश्वव्यापी खोप पहल तथा युनिसेफसँगको साझेदारीमा उपलब्ध गराएको जनाएको छ । अमेरिकी दूतावासका अनुसार महामारीको सुरुवातदेखि हालसम्म अमेरिकाले नेपाललाई करिब सात करोड डलरबराबरका स्वास्थ्य सामग्री सहयोग गरिसकेको छ । युएसएआइडीले करिब पाँच करोड डलरबराबरका अक्सिजन सिलिन्डर, श्वासप्रश्वास उपकरण, कन्ट्याक्ट ट्रेसिङ उपकरणलगायत उपलब्ध गराइसकेको छ । अमेरिकी रक्षा मन्त्रालयले करिब ७३ लाखबराबरका स्वास्थ्य उपकरण, आइसोलेसन निर्माण, अक्सिजन थेरापी उपकरण, स्वास्थ्य क्लिनिकलगायत उपलब्ध गराएको छ । 

पहिलो मात्रा खोप लिनेको संख्या २६ लाख
नेपालमा गत ८ माघदेखि खोप आउन सुरु गरेको हो । हालसम्म ६५ लाख ८२ हजार ५८० डोज खोप नेपाल आइपुगेको छ । तर, अहिलेसम्म प्राप्त खोपमध्ये ५० लाख ४८ हजार डोज दुई मात्रा लगाउनुपर्छ । भारतबाट २० लाख खरिद गरेको सरकारले १० लाख मात्रै ल्याउन सकेको छ । नेपाललाई चीनले १८ लाख साइनोफार्म कम्पनीको भेरोसेल खोप अनुदान दिएको छ । नेपालले खरिद गरेको ४० लाखमध्ये आठ लाख डोज खोप आइसकेको छ । चाँडै बाँकी ३२ लाख डोज खोप आउने छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार २६ लाख ११ हजार ८०७ जनाले पहिलो मात्रा खोप लिएका छन् । १० लाख ४१ हजार ३६६ जनाले दोस्रो मात्रा लगाएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीले जानकारी दिए । कोभिसिल्ड खोप एक लाख ९९ हजार डोज प्रयोग भए पनि तथ्यांकमा जोडिएको छैन । कोभिसिल्ड खोपको म्याद सकिएको छ । 

अमेरिकाबाट आएको खोप केन्द्रीय खोप भण्डारण स्टोर टेकुमा राखिएको छ । नियमित खोप भण्डारण गर्ने स्थान खाली भएकाले त्यहाँ व्यवस्थापन गरिएको सरकारी अधिकारीहरूले बताएका छन् । कोरोनाविरुद्धको प्रयोग हुन बाँकी भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोप तत्काल लगाउन सुरु गरिने भएको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलका अनुसार बुधबारदेखि पहिलो चरणको खोप अभियान सुरु हुनेछ । प्रत्येक प्रदेशमा एक लाखदेखि एक लाख ५० हजारका दरले खोप वितरण भइसकेको छ । स्वास्थ्यमन्त्रीस्तरको २८ असारको निर्णयअनुसार खोप उपलब्ध भएको आधारमा मंगलबारदेखि नै लगाउन सुरु गर्न ७७ वटै जिल्लालाई निर्देशन दिएको छ । लामो समय भण्डारण सम्भव नभएकाले सरकारले तत्काल खोप अभियानलाई नियमित गर्ने भएको हो । 

स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार कोभिसिल्ड जस्तो भायलमा खोप आए ५० लाख डोजसम्म भण्डारण गर्न सकिन्छ । तर, रिफिलवाला (सिरिन्ज) खोप आएमा १० देखि १५ लाख डोज खोप मात्र भण्डारण गर्न सकिन्छ । खोप उत्पादन कम्पनीहरूका फरक फरक साइजमा खोप प्याकिङ गर्ने भएकाले त्यसले ‘स्पेस’ लिने हुँदा धेरै भण्डारण गर्न नसकिने उनको भनाइ छ । नेपाली सेना र निजी क्षेत्रसँग गरी १५ लाख डोजभन्दा बढी भण्डारण गर्नसकिने थापाले बताए ।

क–कसले पाउँछन् खोप ?
भेरोसेल खोप ५५ वर्षभन्दा माथिका उमेर समूहका पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिक परेका छन् । त्यस्तै, विश्वविद्यालय, विद्यालयका शिक्षक र कर्मचारीहरूलाई पनि लगाइने भएको छ । सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरू र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई लगाइने छ ।

जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका कोभिडविरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबै नगरिक परेका छन् । पूर्ण र अति अशक्त अपांगता (वर्ग क र ख) भएका नागरिकले पनि जोन्सनको एक मात्रा खोप पाउने छन् । त्यस्तै, हाल नेपालमा बसोवास गरिरहेका शरणार्थीहरू, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मी (यसअघिको अभियानमा खोप लगाउन छुटेकाहरू)लाई जोन्सनको खोप दिइनेछ । 

चिनियाँ राजदूतले भनिन् : नेपाललाई थप खोप उपलब्ध गराउँछौँ

चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई थप खोप सहयोग गर्ने आश्वासन दिएकी छन् । सोमबार बिहान आयोजित भर्चुअल पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालले खरिद गरेको सबै खोप पनि चाँडै आउने बताइन् । कोभिडको सुरुवातमा नेपालले चीनलाई मद्दत गरेको उल्लेख गर्दै यान्छीले खोप उत्पादन दैनन्दिन बढिरहेकाले नेपाललाई आफ्नो देशले भविष्यमा थप सहयोग गर्न सक्ने उल्लेख गरिन् ।

‘हामीसँग १० प्रकारका खोप उत्पादन भएका छन् र दुईवटालाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छ, उत्पादन पनि क्रमशः बढिरहेको छ,’ उनले भनिन्, ‘नेपालले खरिद गरेको ४० लाख डोज साइनोफार्ममध्ये सबै चाँडै आउनेछ । हामी भविष्यमा नेपाललाई बढीभन्दा बढी खोप पठाउनेछौँ किनभने हामीकहाँ उत्पादन क्षमता बढिरहेको छ ।’ चीनले नेपालसहित विश्वका एक सय देशलाई ४५ करोड डोज खोप उपलब्ध गराइसकेको उनले बताइन् । 

See More On

सुझावित समाचार