भुटानको ‘द ग्रिन रोड’ले जित्यो उद्यमशीलता विश्वकप

मंगलबार, २९ असार, २०७८
डिजिटल संस्करण

भर्चुअल माध्यमबाट भएको उद्यमशीलता विश्वकप (इडब्लुसी) भुटानको ‘द ग्रिन रोड’ नामक कम्पनीले जितेको छ । नेपालमा पहिलोपल्ट नेपाल र भुटानका उद्योगहरू सहभागी भएको कार्यक्रममा उत्कष्ट चौधजना अन्तिम चरणका प्रतियोगीहरूले छनोट समितिमा राखेका आफ्ना आइडियाको मूल्यांकनको नतिजासँगै विश्वकप सकिएको थियो । 

सहभागीमध्येबाट उत्कृष्ट नौजना विशेष स्टार्टअप फाइनलका लागि छानिएका थिए । फाइनलमा अफरमाण्डू, प्याड टू गो, निर्माण, लिफ प्लस प्रालि, प्लाज्माड लिमिटेड इन्टरप्राइजेज, जिबी हेल्थ प्रालि, चेली नेपाल, वर्कहब र द ग्रिन रोड रहेको आयोजक नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ)ले जनाएको छ । उत्कृष्ट ९ फाइनल प्रतियोगीहरूले छनोट समितिबाट अन्तिम चरण पूरा गरेका र तिनैमध्येबाट विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअपको घोषणा गरिएको थियो ।

नेपाल–भुटान संयुक्त इडब्लूसी २०२१ को उत्कृट नौमध्ये भुटानको कम्पनी ‘द ग्रिन रोड’ विजयी हुन सफ्mल भएको जनाइएको छ । उक्त कम्पनी भुटानको पहिलो रिसाइक्लिङ कम्पनी भएको र यसले खेर गएको प्लास्टिकबाट सन् २०१४ को अक्टोबरदेखि सडक कालोपत्रे गर्ने काम गर्दै आएको छ । त्यस्ता सडकमा गरिएको कालोपत्रे टिकाउ तथा वातावरणमैत्री रहेको जनाइएको छ । 

अहिलेसम्म सो प्रविधिबाट १ सय किलोमिटर सडक कालोपत्रे भएको र ५ सय ४० टन खेर गएका प्लास्टिकको प्रयोग गरिएको आयोजकले जानकारी दिएका छन् । फस्ट रनरअपमा ‘जिबी हेल्थ’ छानिएको छ । जिबी हेल्थले स्वास्थ्यसम्बन्धी प्रविधिको विकास गरी स्वास्थ्य सेवामा सुधारात्मक कार्य गर्दै आएको जनाइएको छ । सेकेन्ड रनरअपमा ‘लिफ प्लस’ नामक कम्पनी छनोट भएको छ । उक्त कम्पनी वातावरण तथा समाजमा उल्लेखनीय कार्य गर्दै महिला र विपन्न किसानहरूको उत्पादकत्व वृद्धि तथा प्रवद्र्धनमा संलग्न रहेको आयोजकले जानकारी दिएका छन् । 

छनोट समितिमा सातजना विज्ञ रहेको आयोजकले जनाएका छन् । जसमा काठमाडौं स्कुल अफ म्यानेजमेन्टका सहायक प्राध्यापक तथा आइडिया स्टुडियो नेपालका को–फाउन्डर रूपेशकृष्ण श्रेष्ठ, बिल्टज्मिडिया प्रालिका को–फाउन्डर जुना माथेमा, पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उदीप श्रेष्ठ रहेका थिए । त्यस्तै, अर्बान गर्ल तथा युजी केक्सका सिटिओ तथा को–फाउन्डर किरण तिमलसिना, कालिका कन्स्ट्रक्सनका कार्यकारी निर्देशक निकोलश पाण्डे, नव नेपाल प्लास्टिक प्रालि र सिर्जना प्लास्टिक उद्योगका निर्देशक तथा मानव संसाधन व्यवस्थापक सैलजा श्रेष्ठ र मेटल कास्ट प्रालिका कार्यकारी निर्देशक प्रबिना घिमिरे छनोट समितिमा रहेको एनवाइइएफले जनाएको छ । 

यस प्रतियोगिताका विजेताले विश्व प्रतियोगितामा भाग लिन पाउनुका साथै १० लाख अमेरिकी डलर नगद पाउने जनाइएको छ । साथै, थप लगानीका अवसरहरूका लागि ७ लाख ५० हजार अमेरिकी डलर पनि सहयोग प्राप्त हुने आयोजकले जनाएका छन् । इडब्लुसीका माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा लगानी गर्ने र जीवन परिवर्तन गर्न सक्ने पुरस्कार प्राप्त हुने जनाइएको छ । नोभेम्बर २०२१ मा १ सयवटा राष्ट्रिय विजेता स्टार्टअपलाई साउदी अरबको रियाद सहरमा इडब्लुसीमा भाग लिनका लागि स्टार्टअप बुट क्याम्पमा पठाइने र त्यसैका आधारमा फाइनल प्रतियोगितामार्फत इडब्लुसीको अन्तर्राष्ट्रिय विजेताको घोषणा गरिने जनाइएको छ ।

सुझावित समाचार