नदी उत्खननले गाउँका खेत बाँझै असार सकिनै लाग्दासम्म भएन रोपाइँ

सोमबार, २८ असार, २०७८
डिजिटल संस्करण
नदी उत्खननले गाउँका खेत बाँझै असार सकिनै लाग्दासम्म भएन रोपाइँ

अर्जुनधारा–१ स्थित मदनपुर क्षेत्रको बाँझो जमिन । नदी उत्खननले पानी अभाव हुँदा असार सकिनै लाग्दा पनि यहाँ अझै खेती हुन सकेको छैन । तस्बिर : चिरञ्जीवी घिमिरे/नयाँ पत्रिका

नदीको चरम दोहनले झापाको अर्जुनधारा नगरपालिका–१ को पूरै वडा मरुभूमि बन्ने खतरामा पुगेको छ । बिरिङ नदीमा भइरहेको अवैध उत्खननले कृषकका लागि बनाइएको नहरमा पानी नचढ्ने अवस्था सिर्जना भएको छ । अर्जुनधारा–१ का वडाध्यक्ष गजाधर खतिवडाका अनुसार वडाको दक्षिणी क्षेत्रका सयौँ बिघा खेतमा पानीको अभाव छ । ‘अवैध नदी उत्खननले हामी त हैरान भएका छौँ । रोक्नलाई प्रयास ग–यौँ । तर, सम्भव भएको छैन,’ उनी भन्छन्, ‘खोलाबाट नहरसम्म पानी आउनै छाड्यो । माथिल्लो क्षेत्रमा अलि–अलि खेती हुँदै छ । तल्लो क्षेत्रका खेत बाँझै छन् । यो वर्षौँदेखिको उत्खननको परिणाम हो ।’ 

स्थानीय कृषक यदुकुमार भट्टराई विगतमा मध्यअसारमा खेत रोपिसक्थे । तर, यसपटक खेतको बाँझो जोत्न पनि पाएका छैनन् । ‘खोला जेसिभी लगाएर जतिवेलै खनेर गहिरिएर पानी आउनै छाड्यो,’ उनी भन्छन्, ‘दुई–तीन वर्ष भयो, यस्तो समस्या आएको । वरिपरिका सबै खेत बाँझै छन् । गाउँ नै मरुभूमि बन्ने खतरा भयो ।’ मधुमाया भण्डारीको खेत पनि पानी नभएका कारण बाँझै छ । ‘खोला खनेका खन्यै गर्छन् । पानी कहाँबाट आउँछ ?’ उनले भनिन्, ‘पानी नभएर वर्षमा एकपटक मात्र खेती गर्छौँ । अब त त्यो पनि हुन छाड्यो ।’ बिरिङ नदीको दोहन नरोके अर्जुनधारा–१ को मदनपुर, सिस्ने र साधुटार क्षेत्रबाट मानवबस्ती नै हट्नुपर्ने खतरा रहेको स्थानीय युवा तिवेन्द्र काफ्ले बताउँछन् । ‘नदी दोहन नियन्त्रणका लागि कति प्रयास ग¥यौँ । तर, हामीले सकेनौँ,’ उनी भन्छन्, ‘मापदण्डले ढुंगा, बालुवा निकाले त केही असर पर्दैनथ्यो । तर, जथाभावी निकालेपछि गाउँ नै मरुभूमि हुने खतरा बढेको छ ।’ 

सरकारले नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको असारदेखि असोजसम्म पनि उत्खनन भइरहेको वडाध्यक्ष खतिवडा बताउँछन् । ‘हामीले रोक्ने प्रयास गर्दागर्दै पनि सकेका छैनौँ । खोलाछेउका स्थानीयले बाढीले बगाएर ल्याएको ढुंगा उठाएर आफ्नो खेतमा राखेर स्टक भनेर बेच्छन्,’ उनी भन्छन् । जनप्रतिनिधि आएपछि नदीमा स्काभेटर प्रवेशमा रोक लगाइएको उनको दाबी छ । तर, सरकारले नदीजन्य सामग्री उत्खननमा रोक लगाएको समयबाहेक अन्य समयमा बिरिङमा दर्जनौँ स्काभेटर हुन्छन् । असारअघि स्थानीयले नदी दोहनविरुद्ध सर्वोच्चमा रिट हालेपछि स्थानीय तहले ठेक्का लगाउन पाएन । तर, नदी दोहन पनि रोकिएन । स्थानीय सरकारले ठेक्का नलगाए पनि अमानतमा राजस्व उठाएर नदी दोहन गर्न दियो ।

 नदी दोहनले खानेपानी अभाव
नदी दोहनले खेत मात्र बाँझिएको छैन, घरमा खानेपानीको पनि अभाव भएको छ । दक्षिणी क्षेत्रका इनार र ट्युबेल सुक्न थालेका छन् । ‘पहिला त इनारमा प्रशस्त पानी हुन्थ्यो । तर, अघिल्लो सालदेखि त पानी नै सुक्यो,’ स्थानीय भीमादेवी तिम्सिनाले भनिन्, ‘हामी त जिउँदै मर्ने भयौँ । सरकारले पनि हेरेन ।’  बिरिङ नदीबाटै सञ्चालन भएको छ, खुदुनाबारी–अर्जुनधारा खानेपानी आयोजना । विगतमा नदीछेउको जरुवा पानीलाई प्रशोधन गरेर खानेपानी निकालिन्थ्यो । तर, नदी दोहनले पानी सुकेको छ । अहिले नदीबाटै पानी ल्याएर वितरण गरिँदै आएको वडाध्यक्ष खतिवडाले बताए । उनका अनुसार बर्खामा पानी धमिलो आउने र बिग्रिरहने समस्या रहेको छ ।   

सुझावित समाचार