वामदेव गौतमको प्रस्ताव– राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था गरौँ (भिडियोसहित)

आइतबार, २७ असार, २०७८
डिजिटल संस्करण

एमाले उपाध्यक्ष वामदेव गौतमले संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था राख्नुपर्ने बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा गौतमले प्रतिनिधिसभा र राष्ट्रिय सभाबीचको विभेद हटाउन संविधान संशोधन गरेर भए पनि राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउन सकिने व्यवस्था राख्नुपर्ने बताएका हुन् । 
उनले अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष ०७८–८९ को बजेट राष्ट्रिय सभामा पेस गर्नुपर्ने पनि बताए । नियमावली परिवर्तन गरेर भए पनि बजेट राष्ट्रिय सभाबाट पारित गर्नुपर्ने व्यवस्था राख्नुपर्नेमा उनले जोड दिए । 

राष्ट्रिय सभालाई बजेटबारे छलफल तथा विचार–विमर्श गर्ने अधिकार भएको उनले बताए । उनले भने, ‘पोहोर साल मैले एउटा विषय उठाएको थिएँ । मलाई प्रधानमन्त्री बन्न हाम्रो अध्यक्ष कमरेडले कुनै ठाउँबाट निर्वाचन लड्न भन्नु भो । म मानिनँ । त्यसो भए राष्ट्रिय सभामा उठ्नुस् भन्नुभयो म उठ्दिनँ भनेँ । तपाईं किन उठ्नुहुन्न भन्नुभयो ? मैले भनेँ राष्ट्रिय सभा र प्रतिनिधिसभाको बीचमा विभेद अन्त्य गर्दिनुुस् । कसरी हुन्छ विभेद अन्त्य भन्दा राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था राख्नुस् । संसारमा हाम्रो देशमा मात्रै त्यो बेलायतको नक्कल गरेको हुनाले राष्ट्रिय सभाकाहरूले शासन गर्नुपर्दैन भन्ने त्यसको ठाडो नक्कल भयो । त्यो हटाइदिनुस्, संविधान संशोधन गर्नुस् भन्दा मेरो यति धेरै चरित्र हत्या भयो । म आज फेरि पनि उठाउन चाहन्छु । यो राष्ट्रिय सभामा यदि यो हललाई आवश्यक पर्छ र यो हलले मैले भनेको प्रस्ताव मञ्जुर गर्छ भने हामीले आज पास गरौँ । र, त्यो बाहिर कोठाभित्र प्रस्तुत गरेको ०७८–७९ को बजेट वक्तव्य फेरि आएर अर्थमन्त्रीले यहाँ प्रस्तुत गर्नुस् । हामीले छलफल गर्न पाऊँ । र, यहाँबाट पारित हुने व्यवस्था गरौँ । नियमावालीमा परिवर्तन गर्नुपर्छ भने गरौँ । यदि त्यसो हुँदैन भने माग गरौँ । संविधानमा त्यो छैन भने यो आवश्यकता छ । बाहिर सडकमा चाहिँ प्रस्तुत हुन सक्ने, त्यसलाई यो राष्ट्रिय सभाले पनि मान्नुपर्ने । राष्ट्रिय सभा संघीय संसद्को एउटा अभिन्न अंग हो, यसमा त्यो अधिकार छ । छलफल गर्न सक्ने क्षमता यहाँ छ । त्यस विषयमा विचार–विमर्श गर्न सकिन्छ । त्यसकारण त्यो आउनुपर्दछ । यो मेरो माग हो ।’ 

राष्ट्रिय सभा सदस्य गौतमले सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन गराएर एमाले र माओवादी केन्द्र ब्युँतिएको अवस्थामा आफूले एमाले रोजेर बैठकमा समेत उपस्थित भएको पनि बताए । पार्टी अध्यक्ष ओलीले ०७५ साल जेठ २ गतेको अवस्थामा केन्द्रीय कमिटीको बैठक बोलाएपछि आफू बैठकमा सहभागी भएको उनले बताए । 
वामदेव केपी ओलीतर्फ गएको भन्ने हल्ला भएको भन्दै उनले आफू केपी ओलीतिर नभई आफू एमाले भएको प्रमाण पेस गर्न बैठकमा गएको बताए । उनले भने, ‘मैले केही समय पहिले नेकपा हुँदा भएको पार्टी विभाजनमा म कतै पनि सामेल हुन पाइनँ । सकिनँ । र, मलाई मन लागेन । अहिले म नेकपा एमाले पुनस्र्थापित भएपछि मैले एमाले रोज्नैप¥यो । म एमालेको एउटा सदस्य हुँ । जिम्मेवार व्यक्ति पनि हुँ । जिम्मा पाए त्यो निर्वाह गर्ने व्यक्ति पनि हुँ । त्यसो भएर म केही समय पहिले पार्टी अध्यक्ष कमरेड केपीले ०७५ साल जेठ २ को अवस्थामा केन्द्रीय कमिटीको बैठक बोलाउनुभयो । र, म त्यो बैठकमा भाग लिन गएँ । धेरै मानिसले वामदेव केपीतिर गयो भने । मैले यो सभामार्फत हाम्रो देशका सबै जिम्मेवार राजनीतिज्ञहरूलाई, जनतालाई, नागरिकलाई जानकारी गराउन चाहन्छु, म कुनैतर्फ गएको होइन । म नेकपा (एमाले) भएको हुनाले एमाले भएको प्रमाण पेस गर्न गएको हो । तर, मैले पार्टीमा गइसकेपछि जे भूमिका निर्वाह गर्छु भनेको थिएँ त्यो भूमिका यद्यपि प्राप्त गर्न सकिनँ ।’

गौतमले सत्तारुढ एमालेले गरेको अराजनीतिक क्रियाकलाप, संविधान र ऐन, नियमहरू कुल्चने क्रियाकलापले नेपाली जनताको शिर निहुराउने अवस्था सिर्जना गरेको टिप्पणी पनि गरे ।
 

सुझावित समाचार