एमाले कार्यदलको दाबी : आज एकताको सन्देश

आइतबार, २७ असार, २०७८
डिजिटल संस्करण

एमाले विवाद समाधानका लागि गठित कार्यदलका नेताहरूले पार्टीको आन्तरिक एकता सुदृढीकरणको छलफल अन्तिम बिन्दुमा पुगेकाले आइतबार एकतासम्बन्धी सहमति सार्वजनिक हुने दाबी गरेका छन् । शनिबार सिंहदरबारमा बसेको बैठकपछि कार्यदलका नेताहरूले सहमतिलाई अन्तिम रूप दिने दाबी गरेका थिए । 

कार्यदलले टुंग्याएको मस्यौदामा केन्द्रित रहेर प्रधानमन्त्री केपी ओलीले निकट नेताहरूसँग तथा वरिष्ठ नेता माधव नेपाल समूहले स्थायी समिति सदस्यहरूसँग राति अबेरसम्म छलफल गरेका छन् । दुवैतर्फका स्थायी कमिटी सदस्यहरूको समेत सुझाबलाई ध्यानमा राखेर मस्यौदालाई अन्तिम रूप दिने कार्यदलको तयारी छ ।

आइतबार बिहान  बस्ने कार्यदलको बैठकले सहमतिको प्याकेजलाई अन्तिम रूप दिने र त्यसपछि बस्ने स्थायी कमिटी बैठकबाट अनुमोदन हुने उनीहरूको भनाइ छ । ‘हामीले विभिन्न विषयवस्तुमा छलफल गरेका छौँ र छलफलको अन्तिम–अन्तिम बिन्दुतिर पुगेका छौँ । सम्भवतः छलफललाई छिटै पूरा गरेर एउटा निष्कर्षमा पुग्नेछौँ,’ कार्यदलमा वरिष्ठ नेता माधवकुमार नेपालतर्फका संयोजक भीमबहादुर रावलले भने ।

त्यस्तै, स्थायी कमिटी सदस्य सुवास नेम्वाङले भने, ‘हामीले साह्रै मिहिनेतका साथ तपाईंहरूको समेत शुभकामनामा काम टुंग्याएबराबर छ । भोलि बिहान ८ बजे तपाईंहरूले सुखद समाचार सुन्न पाउनुहुनेछ । ढुक्कैसँग बधाई र धन्यवाद दिए हुन्छ । तीन वर्षको कत्रो विवादमार्फत हामी यहाँ आयौँ । तीन वर्षको विवाद आज कति दिन भयो र बसेको ? त्यसैले ढिलो भएको छैन ।’

See More On

सुझावित समाचार