मादक पदार्थ सेवन गरेका आफ्नै भाइले राष्ट्रिय अनुसन्धान सूचक पदमा कार्यरत दाजुको हत्या गरेका छन् । विराटनगर महानगरपालिका ५ का ३१ वर्षीय साजन सिंहले शुक्रबार राति धारिलो हतियार प्रहार गरेर राष्ट्रिय अनुसन्धान खोटाङमा सूचक पदमा कार्यरत ४२ वर्षीय दाजु भोला सिंहको हत्या गरेका हुन् ।
मोरङ प्रहरीका अनुसार मापसे गरेका भाइ साजनले शुक्रबार राति १० बजेतिर दाजु भोलालाई धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । घाइते दाजुलाई प्रहरीले राति नै उपचारका लागि विराट अस्पताल लगिएको थियो । तर, उनको उपचारकै क्रममा राति ११ बजे मृत्यु भएको थियो ।
दाजुको हत्या आरोपमा प्रहरीले भाइ साजनलाई नियन्त्रणमा लिएको छ । राष्ट्रिय अनुसन्धानको कार्यालय खोटाङमा कार्यरत सूचक भोला हेटौँडामा तालिम सम्पन्न भएपछि केही दिनअघि विराटनगरस्थित घर आएका थिए । आजभोलि नै उनी कार्यरत जिल्ला जाने तयारीमा थिए ।
भोलाका १६ वर्ष मुनिका दुई छोरा र श्रीमती छन् । भोलाको हत्या गर्ने साजनको भने गत वैशाखमा श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको पाइएको छ । मादक पदार्थ र लागुऔषध सेवन गरेर सधैँ घरमा झैँझगडा तथा कुटपिट गर्ने गरेपछि श्रीमतीले सँगै बस्न नमानेर सम्बन्धविच्छेद गरेको स्थानीयको भनाइ छ ।