५८ थान भेन्टिलेटरसहित इजरायलबाट पठाएको २० करोडको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

बिहिबार, २४ असार, २०७८
डिजिटल संस्करण

इजरायलका लागि नेपालकी राजदूत डा.अन्जान शाक्यको विशेष पहलमा इजरायलबाट नेपाल पठाइएको कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरण नेपाल आइपुगेको छ । 

स्वास्थ्य सामग्री तथा उपकरण लिन इजरायल गएको नेपाल वायुसेवाको २३५३ ‘चार्टर्ड फ्लाइट’मार्फत ती सामग्री बिहीबार बिहान ११:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकाे दूतावासले जानकारी दिएको छ । 

विमानस्थलमा परराष्ट्र र स्वास्थ्य मन्त्रालका पदाधिकारीहरू तथा नेपालका लागि इजरायली राजदूत हनान गोडेरसहितको टोली आइपुगेको र उनीहरूबाट  ती सामग्री हस्तान्तरण भएको  दूतावासले जानकारी दिएको छ । 

‘नेपाल आएका स्वास्थ्य सामग्रीहरू इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्थाहरू, व्यावसायिक क्षेत्र, इजरायलीहरू, नेपाली दूतावास परिवार र इजरायलमा रहेका नेपालीहरूबाट सहयोगस्वरूप प्राप्त भएका हुन्,’ राजदूत डाक्टर शाक्यले भनिन्, ‘करिब २० करोड रुपैयाँ जति अनुमानित मूल्य पर्ने उक्त स्वास्थ्य सामग्रीको तौल करिब १८ टन छ ।’ 

राजदूत शाक्यका अनुसार सामग्रीहरूमा ५८ थान भेन्टिलेटर, एक सय २० थान अक्सिजन कन्सन्ट्रेटर, आइसियूसँग सम्बन्धित उपकरण, औषधि, पिपिई, थर्मल गनलगायतका कोरोनाको उपचारसँग सम्बन्धित छन् ।

यसअघि पनि राजदूत शाक्यले नेपालका लागि इजरायलका तर्फबाट कोभिडसँग सम्बन्धित विभिन्न सहयोगहरू जुटाउन उल्लेख्य भूमिका खेलेकी थिइन् ।  ‘कोभिड– १९ सम्बन्धी इजरायलले अपनाएको उपचार पद्धतिबारे नेपाललाई सहयोग गर्न नेपाल सरकारसँगको समन्वयमा ‘स्मार्ट कोभिड कमान्ड कन्ट्रोल रुम’ स्थापना गर्न सफ्टवेयर तथा आवश्यक उपकरणहरूसमेत पठाएको राजदूत डा. शाक्यले बताइन् । 

सुझावित समाचार