प्रतिगामी षड्यन्त्रमा नलाग्न नेपालनिकट युवा संघको चेतावनी

बुधबार, २३ असार, २०७८
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री, एमालेका पूर्वमहासचिव तथा वरिष्ठ नेता माधवकुमार नेपालनिकट युवा संघले प्रतिगमनकारी अभिव्यक्ति आइरहेको भन्दै प्रतिगामी षड्यन्त्रमा नलाग्न सम्बद्ध सबैलाई चेतावनी दिएको छ । जनतामा नेता र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रणालीमाथि अविश्वास सिर्जना हुने र समग्र व्यवस्थालाई कमजोर बनाई प्रतिगमनमा लैजाने दुस्साहसका अभिव्यक्तिहरू आइरहेको भन्दै संघले भत्र्सना गरेको छ । 

संघका अध्यक्ष नरेश शाहीले विज्ञप्ति जारी गर्दै राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, संघीय गणतान्त्रिक व्यवस्थाविरुद्धका गतिविधि र षड्यन्त्र भएमा सशक्त रूपमा प्रतिरोधमा उत्रिन अपिल गरेका छन् । ‘नेपाली जनताले गरेको आन्दोलनको जगमा स्थापित भएकोे धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रणाली, संघीय गणतान्त्रिक व्यवस्थालाई अझै पनि धेरै सामन्तवादी, प्रतिगमनकारी शक्तिहरूले स्वीकार गर्न सकिरहेका छैनन् । नेपाली जनताको संघर्षको जगमा निर्माण भएको यस व्यवस्थालाई कमजोर बनाउन निरन्तर रूपमा विभिन्न जालझेल र षड्यन्त्रहरू भइरहेको छ,’ शाहीले भनेका छन्, ‘सत्तासीन पार्टीको केन्द्रीय कमिटीमा संघीय व्यवस्था, धर्मनिरपेक्षता हुँदै घुमाउँरो रूपमा गणतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाउने गरी छलफल र बहस हुनु दुःखद विषय हो । राष्ट्रिय सभामा शीर्ष नेतृत्वलाई व्यंग्य गर्दै प्रयोग भएका गालीगलौजका शब्दले पनि प्रतिगमनकारी शक्तिहरूमा यो व्यवस्थाप्रति अझै पनि वितृष्णा र गणतन्त्र ल्याउने नेतृत्वप्रति रिस र पूर्वाग्रह रहेको देखिन्छ ।’ 

देशमा भएका घटनाले राज्य–व्यवस्था कमजोर बनाउने र व्यवस्थामाथि जनतामा वितृष्णा बढाई प्रतिगमनकारी कदमलाई अगाडि बढाउने गम्भीर षड्यन्त्र भइरहेको आरोप शाहीको छ । शाहीले अपहरणमा परेको सूचना प्रहरीलाई दिँदा पनि समयमै सक्रिय पहलकदमी नलिँदा चितवनकी सुजिता भण्डारीको हत्या भएको आरोप लगाएका छन् । भण्डारीको हत्याको गम्भीर छानबिन गरी दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउन शाहीले माग गरेका छन् । 

यस्तै, जातीय विभेदको घटनामा संघीय मन्त्री मुछिनु दुःखद भएको शाहीले बताएका छन् ।  ‘देशको राजधानी काठमाडौंमा नै कोठाभाडाको विषयलाई लिएर जातीय विभेद भएको भन्ने मुद्दाको विषयमा संघीय सरकारको मन्त्री नै विभेदको आरोप लागेको व्यक्तिलाई प्रहरी प्रशासनबाट छुटाउन जानु दुःखद र भत्र्सनायोग्य विषय हो । राज्य सबैको बराबर संरक्षक र अभिभावक हुनुपर्नेमा विभेदको मुद्दामा राज्यको मन्त्री स्वयं सहभागी हुनु राज्यको विभेदकारी चिन्तन र प्रवृत्ति प्रस्ट हुन्छ,’ शाहीले विज्ञप्तिमा भनेका छन् । 
 

सुझावित समाचार