नयाँ आर्थिक वर्ष नजिकिँदै गर्दा सेयर बजारमा निरन्तरको गिरावट भने रोकिएको छैन । नेप्सेसँगै कारोबार रकमले पनि साथ नदिएपछि सेयर बजारका नयाँ लगानीकर्तामा अन्योलता थपिएको विश्लेषक बताउँछन् ।
लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा बस्नु र ठूला लगानीकर्तामा भने घटेको बजारमा बिस्तारै र सकेसम्म अझ घटाएर सेयर किन्नेक्रम रहेको हुँदा सेयर बजार ओरालो लागेको पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलको भनाइ छ । उनी भन्छिन्, ‘अहिलेको सेयर बजार मौद्रिक नीतिको पर्खाइमा पनि रहेको र संस्थागत लगानीकर्ताले चालू आर्थिक वर्षभित्रै नाफा बुुक गर्नैपर्ने बाध्यता हुँदा अधिकांश लगानीकर्ता नयाँ आर्थिक वर्षपछि बल्ल सक्रिय हुनेछन् र सेयर बजारमा चमक आउने विश्वास छ ।’
मंगलबार नेप्से परिसूूचक ५ दशमलव २४ अंकले घटेर २ हजार ८ सय १८ दशमलव ११ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ९७ अंकले घटेर ५ सय २६ दशमलव ७५ बिन्दुमा पुगेको छ । नेप्से घटेसँगै कारोबार रकममा पनि दैनिक गिरावट आएको छ ।
धितोपत्र र ऋणपत्र गरी कारोबारमा २ सय २० कम्पनीको १ करोड १३ लाख कित्ता–इकाइ सेयर किनबेच हुुँदा ४ अर्ब २२ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । धेरै कारोबार हुने कम्पनीमा हिमालयन डिस्टिलरी लिमिटेड रहेको छ । हिमालयनको ३५ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ भने अपर तामाकोसी हाइड्रोपावरको २० करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ । त्यसैगरी, नेपाल बैंकको १३ करोड ६५ लाख रुपैयाँ र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १२ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा आएका १३ समूहका सूूचकमध्ये ८ समूहका सूूचक नकारात्मक बनेका छन् भने ५ समूहका सूूचक सकारात्मक बनेका छन् । जलविद्युुत्, लगानीगत फाइनान्स समूूहको सूचक घटेको तथा वाणिज्य बैंक, माइक्रो फाइनान्स, जीवन बिमा, निर्जीवन बिमा समूूहमा हरियाली छाएको छ ।
बढ्ने कम्पनीहरूमा राष्ट्रिय बिमा कम्पनीको ८ दशमलव ३१ प्रतिशतले बढेर प्रतिसेयर मूूल्य २२ हजार ५२ रुपैयाँ पुगेको छ । माउन्टेन इनर्जी नेपालको ५ प्रतिशतले बढेर प्रतिसेयर मूूल्य ८ सय ६९ रुपैयाँ पुुगेको छ । त्यसैगरी, सिभिल लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक, सुमित लघुवित्त ३ प्रतिशतले बढेको छ । धेरै घट्ने कम्पनीमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट डेभलपमेन्ट बैैंक, अपर तामाकोसी रहेका छन् । यी कम्पनीको सेयर मूल्य ५ प्रतिशतले घटेको छ भने रिडी हाइड्रोपावर डेभलपमेन्ट, नेसनल हाइड्रोपावर, नेपाल इस्योरेन्स कम्पनीको ४ प्रतिशतले घटेको छ ।
जीवन विकास लघुवित्तको आइपिओ बुधबार बाँडफाँड हुुँदै
जीवन विकास लघुवित्तले सर्वसाधारणका लागि निष्कासनमा ल्याएको प्राथमिक सेयर (आइपिओ) बुधबार बाँडफाँड गर्ने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बुधबार सेयर बाँडफाँड हुने जानकारी दिएको छ । लघुवित्तको आइपिओमा ३ अर्ब रुपैयाँबराबरको ३ करोड १२ लाख ६६ हजार २ सय ६२ कित्ता सेयरको खरिदका लागि आवेदन परेको क्यापिटलले जनाएको छ ।