केयूमा एकैपटक डेढ सयलाई ‘रिसर्च फेलोसिप’

बुधबार, २३ असार, २०७८
डिजिटल संस्करण

काठमाडौं विश्वविद्यालय (केयू)ले एक सय ५० विद्यार्थीलाई अनुसन्धान गर्न ‘फेलोसिप’ दिने कार्यक्रम सुरु गरेको छ । अनुसन्धानको दायरा फरक बनाउन केयूले एक प्राध्यापक तथा सहप्राध्यापकले मास्टर्स, एमफिल, पिएचडीका कार्यक्रममा एक विद्यार्थीलाई नि:शुल्क अनुसन्धान गराउनुपर्ने व्यवस्था गरेको हो । 

काठमाडौं विश्वविद्यालयमा मास्टर्स बाई रिसर्च, एमफिल र पिएचडीमा अनुसन्धान भर्ना भएका फेलोसिप प्राप्त गर्न सक्नेछन् । यसरी प्राध्यापकबाट छनोटमा परेका ‘रिसर्च फेलो’ले केयूले मास्टर्सदेखि पिएचडीसम्मको निर्धारण गरेको शुल्क तिर्नुपर्दैन । केयूमा सबैभन्दा कम एमएस बाई रिसर्चमा तीन लाख ९५ हजार र सबैभन्दा महँगो पिएचडी बायोटेकमा सात लाख ३५ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । फेलोसिप पाउनेहरूका लागि त्यो नि:शुल्क हुनेछ ।

केयूका सहप्रवक्ता डा.उद्धव प्याकुरेलले विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले निर्णय गरी उक्त प्रावधान कार्यान्वयनमा अघि बढेको जानकारी दिए । आगामी साउनसम्ममा स्नातकोत्तरदेखि पिएचडीसम्मका एक सय ५१ विद्यार्थीले अनुसन्धान फेलोसिप पाउनेछन् । भर्ना भएका विद्यार्थीहरूबाट सुपरभाइजरले ‘फेलो’ छनोट गरी विभागीय प्रमुखकोमा पठाउने र त्यहाँबाट सिफारिस भई डिनले स्वीकृत गरेपछि फेलोसिप पाउने विश्वविद्यालयले व्यवस्था गरेको छ । 

केयूको विभिन्न स्कुल र विभागमा प्रोफेसर र एसोसियट्स प्रोफेसर गरी एक सय ११ जना कार्यरत छन् । नयाँ विज्ञापनबाट ४० जना थपिँदै छन् । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले कार्यक्रम सुरु भइसकेको बताएका छन् । विश्वविद्यालयका विभिन्न कार्यक्रममा भर्ना भएका विदेशी विद्यार्थीले समेत यस्तो सुविधा पाउने केयूले जनाएको छ । प्रोफेसर र एसोसिएट्स प्रोफेसरले विदेशी विद्यार्थी भर्ना भएपछि थप सुविधा बसोवासका लागि स्थानीय सुविधा पाउन सक्ने जनाएको छ । 

काठमाडौं विश्वविद्यालयले ल्यापटप खरिद गर्न चाहने शिक्षक तथा कर्मचारीलाई ब्याज नलिई ऋण दिने भएको छ । कोभिड–१९ का कारण एक वर्षदेखि घरमै बसेर काम गर्नुपरेको र ल्यापटप आवश्यक परेमा खरिदका लागि ब्याज नलिई रकम उपलब्ध गराउने निर्णय भएको सहप्रवक्ता प्याकुरेलले बताए ।

केयूका वित्तीय महाशाखा प्रमुख कुमार बरालले कार्यकारी परिषद्को निर्णयअनुसार नयाँ ल्यापटप खरिदका लागि एकपटकका लागि निब्र्याजी ऋण सुविधा दिने निर्णय गरेको जानकारी दिए । इच्छुकहरूले तीन महिनाभित्र ऋण लिइसक्न र १२ महिनाभित्र फिर्ता गर्न सूचना जारी भएको छ । कोरोना महामारीमा केयूले अनलाइन कक्षालाई प्राथमिकता दिँदै आएको छ । कोभिडको प्रभावको समयमा पनि अनलाइनमार्फत पठनपाठनलाई निरन्तरता दिएर, मूल्यांकन गरी माथिल्लो कक्षाको पढाइ सञ्चालन गरेको थियो । 

See More On

सुझावित समाचार