एमालेको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलमा विवादित विषयमा बुँदागत छलफल सुरु भएको छ । मंगलबारको बैठकमा नेताहरूले विवादित विषयमा आ–आफ्नो पक्ष र सहमतिको विकल्पबारे धारणा राखेका छन् । त्यसमा पनि मंगलबार पार्टीलाई २ जेठ ०७५ अघिको संरचनामा फर्काएपछि तल्लो तहमा बनेका समानान्तर कमिटीको समायोजन गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको छ ।
सर्वोच्च अदालतको फैसलाबाट गत २३ फागुनमा नेकपा भंग भएर पूर्ववत् पार्टी ब्युँतिए पनि प्रधानमन्त्री केपी ओलीले एकलौटी बैठक राखेर अगाडि बढेपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गत ४ र ५ चैतमा राष्ट्रिय भेला गरेर देशभर समानान्तर कमिटी गठनलाई तीव्रता दिएको थियो । कार्यदलमा तिनै समानान्तर कमिटीको समायोजन र व्यवस्थापनका विषयमा केन्द्रित रहेर सबै नेताले आ–आफ्ना सुझाब राखेका छन् ।
‘अदालतको फैसलापश्चात् पुनर्जीवित एमालेको संगठनका सम्पूर्ण कामलाई कसरी अगाडि बढाउने र संगठनात्मक समस्या कसरी समाधान गर्ने भन्ने विषयमा छलफल ग¥यौँ,’ कार्यदल सदस्य भीम रावलले भने, ‘ती सबै विषयमा कार्यदल सदस्यबाट विचार व्यक्त भएका छन् । तत्काल टुंगो नलागे पनि समस्या समाधानको दिशामा अगाडि बढ्ने सहमतिका साथ बैठक सम्पन्न भएको छ ।’
त्यस्तै, कार्यदलका अर्का सदस्य गोकर्ण विष्टले छलफलमा प्रस्तुत विषयमा समग्रमा टुंगोमा पुग्नका लागि विधिमा केन्द्रित रहेर छलफल भएको बताए । कार्यदलको बैठक बुधबार बिहान बस्ने गरी स्थगित भएको छ । सोमबार ब्युँतिएको दश सदस्यीय कार्यदलको अघिल्लो बैठकमा नेताहरूले यसबीचमा भएका समझदारी ब्रिफिङ गरेका थिए । कार्यदलमा सहमतिपछि प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालको भेटवार्ताबाट संयुक्त वक्तव्य जारी गराउने तयारी छ ।
प्रचण्ड–नेपाल भेटवार्ता
एमाले विवाद समाधानका लागि कार्यदल सक्रिय भएकै वेला विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता नेपालबीच भेटवार्ता भएको छ । जनकपुरबाट दिउँसो काठमाडौं आएका प्रचण्ड विमानस्थलबाट नेपाललाई भेट्न सीधै उनको निवास कोटेश्वर पुगेका थिए ।
उनीहरूबीच करिब एक घन्टा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । नेपालले निरन्तर आफू विपक्षी गठबन्धनमा रहेको बताउँदै आएका छन् । तर, एमाले विवाद समाधानमा कार्यदल सक्रिय भएपछि गठबन्धनमा रहेका नेताहरूले नेपालको भूमिकालाई लिएर चासो राखेका छन् ।
प्रचण्डले भेटमा उनको धारणा बुझ्ने र सहकार्यलाई निरन्तरता दिने विषयमा केन्द्रित रहेर कुराकानी गरेको स्रोतले जनाएको छ ।