कोसी राजमार्गको दुई ठाउँमा पहिरो

मंगलबार, २२ असार, २०७८
डिजिटल संस्करण
कोसी राजमार्गको दुई ठाउँमा पहिरो

माम्लिङ—पिलुवाखोला सडकमा खसेको ढुंगा । तस्बिर: नयाँ पत्रिका

जोगबनी—किमाथांका सडकअन्तर्गतका कोसी राजमार्गस्थित संखुवासभाको दुई ठाउँमा पहिरोले सडक अवरुद्ध भएको छ । धर्मदेवी नगरपालिकाअन्तर्गत माम्लिङ—पिलुवाखोला सडकमा ढुंगासहितको पहिरो खसेपछि अवरुद्ध बनेको छ । यस्तै मकालु गाउँपालिकाको नुम—फ्याक्सिन्दा सडकमा समेत पहिरो खसेपछि सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय तुम्लिङटारका प्रमुख गौतमकुमार श्रेष्ठले बताए । 

उनका अनुसार अविरल वर्षाका कारण सोमबार संखुवासभामा कोसी राजमार्गअन्तर्गत दुई ठाउँमा सडकमाथिबाट पहिरो खसेर अवरुद्ध भएको छ । मंगलबार दिनभर सडक खुलाउने प्रयास भए पनि नसकिएको सडक डिभिजन प्रमुख श्रेष्ठको भनाइ छ । ‘माम्लिङ—पिलुवाखोला सडकमा सडकमाथिबाट ठूला–ठूला ढुंगा खसेकाले एक्स्काभेटरद्वारा पहिरो पन्छाउने र ढुंगा फुटाउन ब्रेकर प्रयोग गरिएको छ । मकालुमा घुम्तीमा पहिरो गएकाले पहिरो पन्छाउन एक्स्काभेटरले काम गरिरहेको छ,’ श्रेष्ठले भने, ‘बुधबार (भोलि) बिहानैदेखि काम गर्दा ११ बजेसम्म सडक खुलाउन सकिन्छ कि भनेर लागेका छौँ ।’
    
विराटनगर हुँदै धरान—धनकुटाबाट संखुवासभामा भित्रिने कोसी राजमार्गको माम्लिङ—पिलुवाखोला सडकखण्ड मुख्य सडकखण्ड भएकाले एकातर्फी भए पनि खुलाउने प्रयास भइरहेको सडक डिभिजन प्रमुख श्रेष्ठको भनाइ छ । 

सदरमुकाम खाँदबारीदेखि उत्तरी क्षेत्रको किमाथांका जाने मुख्य सडकखण्ड हुनुका साथै अरुण तेस्रो ड्यामसाइड फ्याक्सिन्दा जाने मुख्य सडक भएकाले खुलाउने प्रयासलाई तीव्रता दिइएको सडक डिभिजनको भनाइ छ । 

अविरल वर्षाका कारण जिल्लाका अन्य सडकहरूमा समेत क्षति पु¥याएको छ । तर, आवतजावत नै अवरुद्ध भने भएको छैन । 
 

सुझावित समाचार