मुलरद्वारा आत्मलोचना

मंगलबार, २२ असार, २०७८
डिजिटल संस्करण

इंग्ल्यान्डसँग २–० ले क्वार्टरफाइनलमा पराजित भएसँगै जर्मनीको युरोकपको यात्रा समाप्त भयो । इंग्ल्यान्डले सन् १९६६ पछि नकआउट चरणमा पहिलोपटक जर्मनीलाई पाखा लगाएको हो । जर्मन पत्रिका र विश्लेषकहरूले जर्मनी इंग्ल्यान्डसँग स्तब्ध हुनुको पछाडि भेट्रान स्ट्राइकर थोमस मुलरलाई कारणका रूपमा लिएका छन् ।

मध्यान्तरपछि एउटा यस्तो क्षण आएको थियो जहाँ जर्मनीले सहजै खेल १–१ को बराबरी गर्न सक्थ्यो । त्यो क्षणको सदुपयोग टोलीका सबैभन्दा अनभुवी खेलाडी थोमस मुलरले गर्न सकेनन् । मुलरले गोल्डेन चान्स गुमाउँदा जर्मनी प्रतियोगिताबाटै बाहिरियो । इंग्लिस डिफेन्डर तथा गोलरक्षक जोर्डान पिकफोर्डसमेत विट भइसकेको अवस्थामा लगभग खाली पोस्टमै मुलरले प्रहार गरेको बल दोस्रो बारनजिक हुँदै बाहिरियो । 

धेरैजसोले मुलरको सशक्त प्रहारबाट गोल नै भएको ठानेका थिए । तर, उनले लक्ष्यभन्दा धेरै टाढा बल प्रहार गर्न पुगे । त्यो क्षणबाट मुलर मात्र होइन, अन्य खेलाडी र सम्पूर्ण जर्मन समर्थकहरू स्तब्ध भए । यदि मुलरले गोल गरेर बराबरी बनाएको भए खेलको कथा नै फरक हुने थियो । एक सातापछि मुलरले त्यो गम्भीर भूलको आत्मलोचना गरेका छन् । उनले आत्मालोचना गर्दै टिप्पणी गरेका छन्, ‘यतिवेला आफूले नर्कमा जस्तै दुःख भोगिरहेको अनुभव गरिरहेको छु । मैले गोल्डेन चान्स मिस गरेको क्षणमा फर्केर हेर्दा प्रशिक्षक, टिममेट तथा समर्थक सबै दुःखी थिए ।’ इंग्ल्यान्डलाई पहिलो गोल अग्रता दिलाएका रहिम स्टेर्लिङकै गल्तीमा मुलरले बराबरी गोलको अवसर प्राप्त गरेका थिए । 

‘अहिले पनि मलाई विश्वास लागेको छैन, त्यो अवसर मैले कसरी मिस गरेँ,’ पछाडि फर्कदै मुलरले भने, ‘जीवनमै म त्यति धेरै आत्तिएको थिइनँ, जुनवेला मैले त्यो बल प्रहार गरेको थिएँ ।’ क्वार्टरफाइनलबाट बाहिरिएको भोलिपल्टै जर्मन पत्रिकाले मुलरलाई ‘खेलकै खलनायक’ ट्याग झुन्ड्याइदियो । मुलरले पनि करिअरमै यति धेरै गाली र आलोचनाको सामना गरेको पहिलोपटक हो । ‘गोल्डेन अवसर चुकाउँदा यस्तो लाग्यो कि म सीधै नर्कमा पुगेछु, मैले आफू मात्रै नभएर समर्थक र सम्पूर्ण जर्मन टोलीलाई नै पीडा दिएँ,’ मुलरले समीक्षा गर्दै भने, ‘प्रशिक्षकको विश्वास तोडँे, उहाँले मलाई निकै विश्वास गर्नुहुन्छ ।’ मुलरले त्यो क्षणलाई दिवा सपनाका रूपमा लिएको जनाएका छन् । 

See More On

सुझावित समाचार