राष्ट्रिय सभामा प्रधानमन्त्रीको आलोचना, विदेशी हस्तक्षेप निम्त्याएको आरोप

मंगलबार, २२ असार, २०७८
डिजिटल संस्करण

संघीय संसद्को राष्ट्रिय सभामा बसेको बैठकमा अधिकांश सांसदले प्रधानमन्त्री केपी ओलीका कारण मुलुकको स्वाधीनता संकटमा परेको भन्दै आलोचना गरेका छन् । बैठकमा बोल्ने अधिकांश सांसदले प्रतिनिधिसभा विघटनलगायत प्रधानमन्त्री ओलीको आलोचना मात्रै गरेनन्, कतिपय सांसदले सांकेतिक रूपमा समेत विरोध जनाए ।

माओवादी नेता एवं राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीका कारण राष्ट्रिय स्वाधीनता संकटमा परेको बताए । श्रेष्ठले प्रधानमन्त्री ओलीले विदेशी हस्तक्षेप आमन्त्रण गरेर आन्तरिक मामिलामा हस्तक्षेप निम्त्याएको बताए ।

‘प्रधानमन्त्रीले संविधानको नांगो उल्लंघन गर्नुभयो, लोकतन्त्रको धज्जी उडाउनुभयो, अध्यादेशबाट शासन चलाएर निरंकुशता लाद्न खोज्नुभयो र भ्रष्टाचार बढाउनुभयो,’ श्रेष्ठले भने, ‘सत्ता लिप्साका कारण विदेशीलाई आन्तरिक मामिलामा हस्तक्षेप गर्न निम्त्याउनु मात्रै भएन, उनीहरूकै सहयोगमा अहिले राष्ट्रियताविरोधी काम गरिरहनुभएको छ ।’ 

सांसद विमला राई पौडेलले अपांगता भएका व्यक्तिहरूका लागि घरघरमै कोभिड– १९ विरुद्धको खोपको व्यवस्था गर्न माग गरेकी छिन् । सांसद राईले हिँडडुल गर्न नसक्ने सबै उमेरका अपांगता भएका व्यक्तिहरूलाई तुरुन्त खोपको व्यवस्था गर्न माग गरेकी हुन् । ‘जुनसुकै उमेर समूहका अपांगता भएका व्यक्तिहरूलाई घरघरमै खोपको व्यवस्था गरियोस् ।

पछिल्लो उपनिर्वाचनबाट राष्ट्रिय सभा सदस्यमा विजयी भएका खिमलाल देवकोटाले सरकारका धेरै वेबसाइटहरूमा नेपालको पुरानो नक्सा नै रहेको भन्दै सच्याउन अनुरोध गरे । देवकोटाले सरकारका धेरै निकायमा पुरानो नक्सा नै रहेकाले सच्याउनुपर्ने आवश्यकता औँल्याए । उनले शपथसम्बन्धी अध्यादेश ल्याउनुबाट सरकारको संविधानप्रति विश्वास नभएको स्पष्ट देखिएको बताए । अघिल्लो दिन गलत शपथ लिएकोमा भोलिपल्ट सच्याएर शपथ लिन लगाउनुपर्ने राष्ट्रपतिले शपथसम्बन्धी अध्यादेश जारी गरेर संविधानविपरीत काम गरेको देवकोटाले टिप्पणी गरे ।

यस्तै, राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने सरकारको कदम निरंकुश नभएको दाबी गरे । सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य दाहालले पहिलोपटक विघटित प्रतिनिधिसभा पुनर्स्थापनापछि पनि केही काम गर्न नसकेकाले वर्तमान अवस्थामा निर्वाचनमा जानु नै सही निर्णय भएको जिकिर गरे । 

जसपा सांसद शेखरकुमार सिंह, अन्य सांसदहरूमा उदया शर्मा पौडेल, रामलखन चमार, दीर्घनारायण पाण्डे, सांसद खिमप्रसाद विश्वकर्मा, मृगेन्द्रकुमार सिंह यादव, चक्रप्रसाद स्नेहीलगायतले धारणा राखेका थिए ।

राष्ट्रिय सभाको १७ असारमा बसेको पहिलो बैठकमा सरकारले पेस गरेका १६ वटा अध्यादेशमध्ये १० वटा अध्यादेशमा अस्वीकार प्रस्ताव दर्ता भएका छन् । संसद् सचिवालयले अध्यादेशमा अस्वीकार गर्न प्रस्ताव पेस गर्न चाहने सांसदहरूका लागि २० असारसम्मको समय दिएको थियो । 

कालो पहिरन लगाएर संसद्मै सरकारको विरोध

कांग्रेस सांसद रमेशजंग रायमाझीले संसद्मा कालो झन्डा देखाउन नमिल्ने भन्दै कालो पहिरन लगाएर विरोध गरे । सुटदेखि टोपीसम्म कालो नै पहिरिएर राष्ट्रिय सभाको बैठकमा उपस्थित भएका उनले सरकारको कदमको विरोध जनाउन उक्त पहिरन लगाएको बताए । ‘मैले अहिलेसम्म सदनमा यस्तो (कालो) टोपी पहिरिएको थिइनँ । संसद्मा कालो झन्डा देखाउन नमिल्ने भएकाले कालो टोपी पहिरिएको छु,’ आफूले विरोधस्वरूप लगाएको कालो टोपी झिक्दै उनले भने । प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध कालो झन्डा लिएर जनता सडकमा आउने अवस्था नभएकाले आफूले उक्त पहिरन लगाएर प्रस्तुत भएको उनको भनाइ थियो । 

सुझावित समाचार