मनाङमा ६ लाखबराबरको अवैध वन लसुनसहित दुई पक्राउ

शनिबार, १९ असार, २०७८
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय मनाङले वन लसुनसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले ६ लाख रुपैयाँबराबरको प्रतिबन्धित वन लसुनसहित दुईजनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मनाङका डिएसपी सुवास खड्काका अनुसार शुक्रबार बिहान गोरखाको धार्चे गाउँपालिका ५, गुम्दा घर भई मनाङको चामे गाउँपालिका ३, खितीपुर बस्ने वर्ष ४५ का कान्छा भन्ने माइला गुरुङ र धार्चे गाउँपालिका ७, लापु घर भई हाल खितीपुरमै बस्दै आएका वर्ष ३८ का जितबहादुर गुरुङलाई पक्राउ गरेको हो ।

वन लसुनलाई राम्ररी सुकाएर बिक्री गर्दा प्रतिकिलो १८ हजारदेखि २० हजार रुपैयाँमा सम्म बिक्री गर्न सकिने प्रहरीको भनाइ छ । उक्त वनलसुन उनीहरूले नार्पाभूमिको नारका स्थानीयबाट प्रतिकिलो चार हजार रुपैयाँका दरले किनेर ल्याएको प्रहरीले बताएको छ ।

प्रहरीले लुकाइछिपाइ राखेको अवस्थामा ३० केजीबराबरको वनलसुनसहित दुईजनालाई पक्राउ गरिएको डिएसपी खड्काले बताए । उच्च पहाडी क्षेत्रको दुई हजार पाँच सय देखि पाँच हजार उचाइसम्म पाइने वनलसुन जेठ असारमा संकलन   गरिन्छ ।

शुक्रबार बरामद गरिएको वनलसुन मनाङको नासों गाउँपालिका ५, थोँचे हुँदै मनास्लु पदमार्गमा पर्ने मनाङको तिल्चे, भीमताङ हुँदै गोरखाको लार्के पास गरेर गोरखाकै वर्ष ४६ का छिरिङ बुन्जो लामा नामको व्यापारीलाई बिक्री गर्ने तयारी गरेको प्रहरीको अनुसन्धानमा खुल्न आएको डिएसपी खड्काले बताए ।

मनाङ प्रहरीले पक्राउ परेका दुईजनासहित बरामद गरिएको वनलसुनलाई थप अनुसन्धान र कारबाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लाई बुझाएको छ ।

See More On

सुझावित समाचार