इंग्ल्यान्डलाई रोक्ने दाउमा युक्रेन

शनिबार, १९ असार, २०७८
डिजिटल संस्करण
इंग्ल्यान्डलाई रोक्ने दाउमा युक्रेन

युक्रेन राष्ट्रिय फुटबल टोली

५५ वर्षपछि जर्मनीलाई नकआउट चरणमा परास्त गरेको इंग्ल्यान्ड यतिवेला निकै आत्मविश्वासका साथ देखिएको छ । इंग्ल्यान्डले चालू युरोकप २०२० को प्रिक्वार्टरफाइनलमा जर्मनीलाई २–० ले स्तब्ध पारेको हो । सन् १९६६ को विश्वकप फाइनलपछि इंग्ल्यान्डले जर्मनीलाई कुनै पनि मेजर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नकआउट चरणमा हराएको यो नै पहिलोपटक हो । फुटबल इतिहासमा इंग्ल्यान्डको उपस्थिति बलियो छ । 

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको थुप्रै अनुभव बटुलेको इंग्ल्यान्डले युक्रेनले सम्भवतः हल्का लिँदा भुल हुनेछ । युक्रेनले सन् १९९२ को अप्रिलमा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको हो । अन्तर्राष्ट्रिय फुटबल खेलमा त्यति धेरै लामो इतिहास नभए पनि युक्रेनले युरोकप तथा विश्वकपमा आफ्नो प्रदर्शन सधैँ दमदार बनाएको छ । यसकारण, पनि युक्रेनले सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्डलाई कडा चुनौती दिने सम्भावना छ । 

जर्मनीमाथिको सनसनी जितसँगै इंग्ल्यान्ड पुनः एकपटक मेजर फुटबल प्रतियोगिताको उपाधितर्फ लम्केको छ । तर, इंग्ल्यान्डले उपाधिसम्मको यात्रा सम्भव पार्न शनिबार मध्यराति इटालीको राजधानी रोमको स्टुडियो रंगशालामा युक्रेनको चुनौती पाखा लगाउनुपर्ने हुन्छ । चालू युरोकपमा युक्रेन डार्क हर्सकै रूपमा अगाडि बढिरहेको छ । 

युक्रेनले क्वार्टरफाइनलसम्मको यात्रामा उपाधि दाबेदार टोलीमाथि जित निकाली सनसनी मच्चाइरहेको छ । इटालीको रोम रंगशालामा युक्रेन र इंग्ल्यान्डबीचको खेल प्रतिस्पर्धात्मक बन्ने पक्का छ । युक्रेनका प्रशिक्षक एन्ड्रेय सेभ्चेन्कोको प्रशिक्षणमा रहेको युक्रेनले समूह चरणमा मिश्रित नतिजा निकाले पनि खेलाडी फर्ममै छन् । बरीयतामा आफूभन्दा माथिका टोलीविरुद्ध युक्रेनले राम्रो प्रदर्शन गरेको देखिन्छ । 

यता उपाधिकै दाबेदारका रूपमा हेरिएको इंग्ल्यान्डलाई गेराथ साउथगेटले प्रशिक्षण दिइरहेका छन् । साउथगेट प्रशिक्षकका रूपमा आएपछि इंग्ल्यान्डको भाग्य नै परिवर्तन भएको छ सन् २०१८ को विश्वकपको सेमिफाइनलमा पुग्नु यसको उदाहरण हो । साउथगेटले विपक्षीको रणनीति र स्तरअनुसार खेलाडी मैदानमा पठाउने गरेका छन् । सेट खेलाडीले भरिएको इंग्ल्यान्ड निकै सन्तुलित टोलीका रूपमा देखिएको छ । 

रक्षापंक्तिदेखि फिनिसिङसम्म इंग्ल्यान्डका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । जर्मनीविरुद्ध घाइते भएका कप्तान ह्यारी केन प्रशिक्षणमा फर्कनु इंग्लिस टोलीका लागि सुखद समाचार हो । प्रशिक्षक साउथगेटले केन, ह्यारी मागिएरे तथा किएरान ट्रिपिएरलाई प्रशिक्षण गराएका छन् । अहिले इंग्ल्यान्डको अर्को बलियो पक्ष नै गोलरक्षक जोर्डान पिकफोर्ड नै हुन् । उनले जर्मनीविरुद्ध उत्कृष्ट बचाउ गरेका थिए । युक्रेनी खेलाडीको हौसला बढाउन सरकारी अधिकारी रोम रंगशालामा उपस्थित हुने जनाइएको छ । 

रेकर्डमा इंग्ल्यान्ड बलियो
युक्रेन र इंग्ल्यान्डबीच अहिलेसम्म मैत्रीपूर्ण र मेजर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा गरी सातपटक प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्डले युक्रेनलाई चारपटक हराउँदा युक्रेनले एकपटक बाजी मारेको छ । युक्रेनले इंग्ल्यान्डलाई दुईपटक बराबरीमा रोक्न सफल भएको छ । सन् २०१२, ११ सेप्टेम्बरमा फिफा विश्वकपको छनोट खेलमा १–१ को बराबरी रोकेको थियो । ११ सेप्टेम्बर २०१३ मै विश्वकप छनोटमै युक्रेनले इंग्ल्यान्डलाई गोलरहितमा रोक्यो । 

यसैगरी युक्रेनले इंग्ल्यान्डलाई इतिहासमै एकपटक मात्र हराएको रेकर्ड छ । सन् २०१० को विश्वकप छनोटमा युक्रेनसँग इंग्ल्यान्ड १–० ले स्तब्ध भएको थियो । त्यसवेला युक्रेनको जितमा जारेन्कोले एक मात्र विजयी गोल गरेका थिए । यी दुई टोलीबीच पहिलोपटक सन् २००० मा मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा भएको थियो । 

डेनमार्क सामु चेक रिपब्लिक
बाकु रंगशालामा डेनमार्क र चेक रिपब्लिक युरोकप २०२० को सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै छन् । चेक रिपब्लिक र डेनमार्कले समूह चरण र प्रिक्वार्टरफाइनलमा अप्रत्यासित नतिजा निकाली अन्तिम आठको स्थान पक्का गरेका हुन् । सन् १९९२ को विजेता डेनमार्क योपटक असाध्यै फर्ममा छ । डेनमार्क २९ वर्षपछि युरोकपको क्वार्टरफाइनलमा पुगेको हो । सन् २००४ र २०१२ को संस्करणमा डेनमार्क पहिलो चरणबाटै बाहिरिएको थियो । 

२००८ र २०१६ मा डेनमार्क प्रतियोगितामा छनोट नै भएन । युरोकपमा सन् १९९६ को उपविजेता र २००४ को संस्करणमा सेमिफाइनलसम्म पुगेको चेक रिपब्लिक २०१६ मा पहिलो चरणबाटै बाहिरिएको थियो । फिनल्यान्डसँगको प्रतिस्पर्धामा मुख्य खेलाडी क्रिस्टियन एरिक्सन अचेत भएर मैदानमा ढेलेपछि डेनमार्कका खेलाडीमा सन्नाटा छाएको थियो । 

त्यसपछि डेनिस टोली यसरी अगाडि बढ्यो कि उसलाई रोक्न हिम्मत अरू टोलीले गर्न सकेनन् । रसियामाथि ४–१ को सनसनीपूर्ण नजितापछि प्रिक्वार्टरफाइनलमा गत संस्करणको सेमिफाइनलिस्ट वेल्सविरुद्ध ४–० को जित निकाली डेनमार्कले उपाधिको दाबेदारी प्रस्तुत गरेको छ । इंग्ल्यान्डको समूहमा रहेको चेक रिपब्लिकले प्रिक्वार्टरफाइनलमा उपाधि दाबेदारका रूपमा हेरिएको नेदरल्यान्ड्सविरुद्ध २–० को जित रच्यो । जारोस्लाभ सिल्भायको प्रशिक्षणमा रहेको चेक रिपब्लिक अहिले निकै आक्रामक रूपमा प्रस्तुत भइरहेको छ । इंग्ल्यान्डसँग समूह चरणमा १–० ले हारेपछि चेक रिपब्लिकले आफूलाई सम्हालेको देखिन्छ । 

चेक रिपब्लिकलाई क्वार्टरफाइनलसम्म पुर्याउनमा स्ट्राइकर प्याट्रिक सिकको योगदान अत्यधिक देखिन्छ । उनी प्रतियोगिताकै दोस्रो सर्वाधिक गोलकर्ता खेलाडी हुन् । उनले अहिलेसम्म चार खेलमा चार गोल गरेका छन् । डेनमार्कले आफ्नो यात्रा अगाडि बढाउनु छ भने फर्ममा रहेका स्ट्राइकर सिकलाई रोक्नु आवश्यक छ । टोमास साउसेक तथा होलेसले डेनमार्कको अगाडि मोर्चा सम्हालेका छन् । पछिल्लो खेलमा दुवैले प्रेरणदायी खेल प्रस्तुत गरेका थिए । 

रेकर्डमा डेनमार्क र चेक रिपब्लिक
डेनमार्क र चेक रिपब्लिकबीच ११ पटक आमनेसामने भएको छ । चेक रिपब्लिकले डेनमार्कलाई ६ खेलमा हराएको छ । डेनमार्कले केवल तीन खेलमा मात्र चेक रिपब्लिकलाई पाखा लगाएको छ । यी दुईबीच ६ खेल ड्रका रूपमा निस्किएको छ । यी दुई टोलीबीच अन्तिमपटक १६ नोभेम्बर २०१६ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा भएको थियो ।

जसमा दुवै टोलीले १–१ को बराबरी नतिजा निकाले । विश्वकपअन्तर्गत युरोपियन छनोटमा चारपटक भिडन्त भएको छ । जसमा दुवै टोलीले समान एक जित, हार र दुई बराबरी नतिजा आत्मसात् गरेका छन् । यसैगरी युरोकप च्याम्पियनसिपमा डेनमार्क र चेक रिपब्लिकबीच एक–एकचोटि प्रतिस्पर्धा भएको छ । दुवै टोलीले समान एक–एक जित निकालेका छन् । 

इंग्ल्यान्डको क्वार्टरफाइनल यात्रा
समूह चरण
इंग्ल्यान्ड १–० क्रोएसिया 
इंग्ल्यान्ड ०–० स्कटल्यान्ड
इंग्ल्यान्ड १–० चेक रिपब्लिक

प्रिक्वार्टरफाइनल
इंग्ल्यान्ड २–० जर्मनी
युक्रेनको क्वार्टरफाइनल यात्रा

समूह चरण
युक्रेन २–नेदरल्यान्ड्स ३
युक्रेन २–१ नर्थ मेसोडोनिया
युक्रेन ०–१ अस्ट्रिया

प्रिक्वार्टरफाइनल 
युक्रेन २–१ स्विडेन

सुझावित समाचार