गाउँबाट बिजुली पठाउने, गाउँमा विकास पुर्‍याउने दोर्दी खोला

शनिबार, १९ असार, २०७८
डिजिटल संस्करण
गाउँबाट बिजुली पठाउने, गाउँमा विकास पुर्‍याउने दोर्दी खोला

दोर्दी गाउँपालिकाको सबैभन्दा दुर्गम स्थानमा रहेको ताँजे गाउँ ।

८३ वर्षसम्म सडक, विद्युत्लगायत पूर्वाधारको आधारभूत विकाससमेत नदेखेका दोर्दी गाउँपालिका–६, ताँजेका बाइवीर घले अहिले गाउँमा विकासका पूर्वाधारहरू बन्दै गएको र आफैँले प्रयोग गर्न पाएपछि प्रसन्न छन् । विकासको कथा मात्र सुनेका र अन्यत्रको विकास मात्र देखेका दोर्दी खोलाआसपासका नागरिक अहिले आफ्नै घरआँगनमा पूर्वाधार विकासको उपयोग गरिरहेका छन् । 

दोर्दी खोलामा निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाका कारण दोर्दी खोलाआसपास छोटो समयमै पूर्वाधार विकासले ठूलो फड्को मारेको छ । दैलोमा जलविद्युत् आयोजना निर्माण भएसँगै आफूहरूको जीवनशैली फेरिएको घले बताउँछन् । घले भन्छन्, ‘राज्यको आँखा नपुगेको ठाउँमा निजी क्षेत्रको आँखा पुग्यो, ८३ वर्षको उमेरमा भए पनि घरबाटै गाडी चढेर सदरमुकाम बेँसीसहरसम्म पुग्न पाउँदा खुसी छु ।’ गाउँमा सडक नहुँदा दुई दिन हिँडेर सदरमुकाम बेँसीसहर पुगेको सम्झँदै घले भन्छन्, ‘यो गाउँमा सडक पुग्ला अनि गाडी चढेर बेँसीसहर पुग्छु भन्ने त कल्पनासमेत गरेको थिइनँ ।’ अहिले दैलोमै आयोजनाले सडक ल्याइदिएपछि पहिले दुई दिन लाग्ने बेँसीसहरबाट घर आउन अहिले दुई घन्टा नै पर्याप्त हुन्छ । 

उनी मात्र होइन, ताँजेकै ७५ वर्षीय बुलाल घले पनि गाउँमा बिजुली र सडक पुगेसँगै खुसी छन् । उनी भन्छन्, ‘जलविद्युत् आयोजनाले कडा चट्टान फोरेर सडक निर्माण गरेपछि गाउँलेलाई आवतजावत गर्न र उत्पादित कृषिजन्य सामग्रीले बजार पाएको छ ।’ ७० वर्षको उमेर टुकीकै भरमा बिताएको सम्झँदै आयोजनासँगै बिजुली पनि आएकोमा सन्तुष्ट छन् । 

बिजुली नहुँदा ढिकी र जाँतोमै कुटानी–पिसानी गर्दै भान्सा धानिरहेका महिलाहरूको गाउँमै बिजुलीको मिल सञ्चालनमा आएकाले जीवन निकै सहज बन्दै गएको बुलाल बताउँछन् । 

दोर्दी खोलामा जलविद्युत् आयोजनाहरू निर्माण हुनेक्रम बढ्दै जाँदा यो खोला गाउँबाट बिजुली पठाउने र गाउँमा विकास पुर्‍याउने माध्यम बनेको छ । जसले गर्दा जलविद्युत् आयोजनासँगै गाउँमा खेलमैदान, विद्यालय भवन, सामुदायिक भवन निर्माण भएको छ । दोर्दी खोलामा निर्माणाधीन ५४ मेगावाट सुपरदोर्दी ‘ख’ले आफ्नो आयोजना निर्माणका लागि बनाएको ११ केभीको प्रसारण लाइनबाट सिमी, ताँजे, लप्सीबोटलगायतका करिब १ हजार घरधुरी उज्यालोमा बस्न पाएको आयोजनाका सञ्चालक अर्जुन गौतम बताउँछन् । 

सदरमुकाम बेँसीसहरबाट पूर्वी लमजुङमा पर्ने दोर्दी खोला जलविद्युत्को हिसाबले राम्रो मानिएको छ । जलविद्युत् आयोजना निर्माण गर्नेक्रम बढ्दै जाँदा यस क्षेत्रका मानिसको जीवनस्तर बढ्नुका साथै जीवनशैली पनि फेरिएको छ । विकासमा सधैँ पछाडि परेको दोर्दी गाउँपालिका–६, ढोडेनी, फलेनीलगायतका क्षेत्रमा सडक पुगेसँगै स्थानीयको जीवनशैली फेरिएको दोर्दी गाउँपालिका–६ का वडाध्यक्ष नन्दराज घले बताउँछन् । जलविद्युत् आयोजना आएसँगै गाउँले विकास निर्माणमा मुहार फेरेको उनको बुझाइ छ । 

छ्याङ्दीको सुरुवात 
दोर्दी करिडोरमा पहिलोपटक जोखिम मोलेरै भए पनि २ मेगावाटको आयोजना निर्माण आँट्दै छ्याङ्दीले आफ्नो काम सुरु गरेको थियो । आयोजना निर्माणका लागि आवश्यक न्यूनतम पूर्वाधार नभए पनि छ्याङ्दीले आफ्नो निर्माण अघि बढाएको थियो । आयोजनाले सुरुवाती चरणमा सडक, विद्युत्का पूर्वाधार, छरछिमेक कार्यक्रममा बढी जोड दियो, जसले गर्दा सदीयाैँदेखि विकास नदेखेका स्थानीयहरूको आयोजनाप्रति विश्वास बढ्यो । छ्याङ्दीको यो पहलसँगै दोर्दी खोलाबाटै विकासको ढोका खुलेको दोर्दी ताँजेका मेखलाल घले बताउँछन् । एउटै खोलामा भित्रिएको अर्बौँ लगानीले स्थानीयका लागि रोजगार, व्यापार र विकासका ढोका खुलेका छन् । गाउँ–गाउँमा सडक, पुल, सामुदायिक भवन, विद्यालय सुधार, सिँचाइ, खानेपानी तथा कृषि उत्पादनमा सहयोग पुगेपछि स्थानीय खुसी छन् । आयोजना निर्माणको क्रमसँगै दोर्दीको पूर्वाधार विकासमा वृद्धि भएको छ ।

झाडीले ढाकेका जग्गाले मूल्य पायो
कुनै वेला कौडीको मूल्यमा नबिक्ने झाडीले ढाकेका जग्गाको मूल्य जलविद्युत् आयोजना निर्माणको क्रमसँगै बढ्दै गएको छ । उत्पादन लिन नसकेका जग्गा पनि जलविद्युत् आयोजनालाई चाहिँदा र चित्तबुझ्दो मूल्य आएपछि आयोजनालाई जग्गा बिक्री गरेर पनि स्थानीय बासिन्दाले अन्य क्षेत्रमा लगानी गर्न पाएका छन् । आयोजना प्रभावित क्षेत्रका स्थानीयले सन्तोषजनक मूल्य पाएसँगै सदरमुकामलगायत अन्य सहरहरूमा समेत घरजग्गालगायत क्षेत्रमा लगानी गरेका छन् । मालपोत कार्यालयले निर्धारण गरेभन्दा पनि स्थानीयको चलनचल्तीको भाउमा महँगो मूल्यमा जग्गा बिक्री गरेको दोर्दीका स्थानीय गोरे गुरुङ बताउँछन् । उनी भन्छन्, ‘उब्जाउ नहुने, कैयाँै वर्षदेखि बाँझो रहेका, पाती फुलेका जग्गासमेत आयोजनाले राम्रो मूल्य दिएर खरिद गरेको छ ।’

पर्यटकको ध्यान तान्दै 
फरक–फरक डिजाइले बनेका जलविद्युत् आयोजनाले पर्यटकलाई आकर्षित गरेको छ । पहिले एकनास सुसाउँदै र ढुंगाहरूमा ठोक्किँदै बग्ने दोर्दी खोला अहिले कतै बाँधले थुनिएको छ भने कतै सुरुङभित्र पसेको छ । कतै पहिलेजस्तै बगेको छ भने कतै पोखरी बनेर जमेको छ । दोर्दीको यही अनौठो बगाइ नै पर्यटकको आकर्षणको कारण बनेको छ । शिक्षा, स्वास्थ्य, सञ्चार, सडक खानेपानी, विद्युत्को विकास गाउँमै भएपछि र रोजगारी पाएपछि सदरमुकामलगायत अन्य ठाउँमा गएका स्थानीय युवायुवतीले पुनः गाउँमै फर्किएर होमस्टे व्यवसाय सुरु गरेका छन् । 

दोर्दी गाउँपालिकाकै दुर्गम गाउँ मानिने ताँजेमा खोलिएको होमस्टेमा आगन्तुकलाई स्वागत गर्ने तयारीमा स्थानीय ।

होमस्टे सुरु भएसँगै स्थानीय युवायुवती कृषि, पशुपालनका क्षेत्रमा लागेका छन् । आयआर्जनमा वृद्धि भएको छ । बिदेसिएका र बसाइँसराइलाई रोक्न सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको सहयोगमा दोर्दी गाउँपालिका–६, ताँजेमा होमस्टे सञ्चालन गरिएको छ । ५५ घरधुरी रहेको ताँजेमा युवाहरूकै सक्रियतामा होमस्टे सञ्चालन गरिएको हो । गाउँको अर्गानिक उत्पादन र संस्कृतिसँग जोडेर होमस्टे सञ्चालन भएसँगै ताँजेका युवाहरू गाउँ फर्किएका छन् । पहिले युवायुवती विदेश वा देशकै विभिन्न सहरमा गएर रोजगार हुनुपर्ने अवस्थालाई फेरेर अहिले गाउँमै सक्रिय भएका छन् । बुढाबुढी र महिला मात्र देखिने गाउँ अहिले पूर्ण पारिवारिक वातावरणमा रमाइरहेको छ । सुरुमा गाउँका ३ घरमा होमस्टे सञ्चालन गरिएको छ । होमस्टे सञ्चालनमा स्थानीय आमा समूहले युवाहरूलाई साथ दिएको ताँजे होमस्टे व्यवस्थापनका अध्यक्ष तथा होमस्टेका अभियन्ता टकलाल घले बताउँछन् । 

अध्यक्ष घले भन्छन्, ‘युवा पलायनका कारण ग्रामीण बस्ती बिस्तारै युवाविहीन बन्नेक्रम बढ्दो छ । यसलाई रोक्न गाउँमै स्वरोजगार बन्न होमस्टे सञ्चालन गरिएको हो ।’ दोर्दी खोलामा भएका जलविद्युत् आयोजनाले नै यो सम्भव भएको उनको बुझाइ छ । ताँजे गाउँमा घले, गुरुङ, तामाङ र दलित बस्ती रहेका छन् । गाउँमा सडक निर्माणसँगै पर्यटकको आगमन बढ्न थालेपछि ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाले पनि युवाको अभियानमा साथ दिएको स्थानीय विष्णुकुमारी घले बताउँछिन् ।      

२४ अर्ब लगानी छ दोर्दी खोलामा 

दोर्दीखोलामा सबैभन्दा पहिले निर्माण गरिएको २ मेगावाट क्षमताको छयाङ्दी जलविद्युत आयोजना पावर हाउस । 

कुनै वेला जलविद्युतमा लगानी गर्न डर मान्ने प्रवर्द्धकहरू अहिले लगानीका लागि उक्सिएका छन् । आयोजना निर्माणका लागि आवश्यक न्यूनतम पूर्वाधारहरू पनि नभएको भन्दै लगानी गर्न पछि हटेका प्रवर्द्धकहरू पछिल्लो समय जिल्लामै लगानीयोग्य वातावरण भएपछि खोलामै अर्बौँ  रुपैयाँ लगानी गरिरहेका छन् । स्थानीय र निजी क्षेत्रको अर्बौँको लगानीमा जलविद्युुत् आयोजना निर्माण भइरहेका छन् । दोर्दी खोलामा अहिले ५ वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । सबै आयोजना पूरा भएपछि १ सय २२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । निजी क्षेत्र र स्थानीय मिलेर यी आयोजनामा २४ अर्ब लगानी गरेका छन् । यहाँ निर्माण भएका केही आयोजनाले केही महिनामा र केही आयोजनाले करिब एक वर्षभित्र विद्युत् उत्पादन गर्नेछन् । ‘एउटै खोलामा भित्रिएको अर्बौँ लगानीले भविष्यमा हाम्रो ठाउँ कायापलट हुनेछ,’ दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहाहदुर गुरुङ भन्छन्, ‘हाम्रा लागि यो ठूलो अवसर हो ।’ 

हिमालयन पावर पार्टनरले निर्माण गरेको २७ मेगावाटको दोर्दी खोला र लिबर्टी इनर्जी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत्को निर्माण अबको केही महिनाभित्र सम्पन्न हुने माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाका सञ्चालक राजेन्द्र वस्ती बताउँछन् । 

छ्याङ्दी खोलामा यसअघि २ मेगावाटको छ्याङ्दी जलविद्युत् आयोजना निर्माण सम्पन्न भइसकेको छ । प्रवर्द्धक छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीले सोही खोलामा हाल ४ मेगावाटको माथिल्लो छ्याङ्दी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यो आयोजना पनि केही महिनामा निर्माण सम्पन्न हुने गरी काम भइरहेको छ । यस्तै, पिपुल्स हाइड्रोपावरले निर्माण गरेको ५४ मेगावाटको सुपरदोर्दी ‘ख’, दोर्दी खोला जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १२.५ मेगावाटको दोर्दी ‘ए’को निर्माणकार्य पनि अन्तिम चरणमा पुगेको छ । सबै आयोजनामा गरी निजी क्षेत्र र सर्वसाधारणले करिब २४ अर्ब रुपैयाँ लगानी गरेका छन् । 

सयौँले पाए रोजगारी
दोर्दी खोलामा जलविद्युत् आयोजना निर्माणको क्रमसँगै यस क्षेत्रका अधिकांश युवाले रोजगारी पाएका छन् । सीप भएका र सीप नभएका दुवै थरीका युवाहरू यी आयोजनामा रोजगार छन् । 

आफ्नै दैलोमा रोजगारी पाउने भएपछि खाडीलगायतका धेरै मुलुकमा गएका युवाहरू गाउँ फर्किएका छन् । सुपरदोर्दी ‘ख’ले निर्माण गरेको ५४ मेगावाट क्षमताको आयोजनाले प्रभावित क्षेत्रका ६० जनाभन्दा बढीलाई रोजगारी दिएको छ । दोर्दी खोलामै निर्माणको चरणमा रहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका ५० जना स्थानीयलाई रोजगारी दिएको छ । यस्तै, २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजनाले सयजनालाई रोजगारी दिएको दोर्दी खोला जलविद्युत् आयोजनाका कार्यकारी निर्देशक गुरुप्रसाद ढकाल बताउँछन् । दोर्दी खोलामा निर्माणको अन्तिम चरणमा रहेको १२.५ मेगावाटको दोर्दी–१ जलविद्युत् आयोजना र ४ मेगावाटको माथिल्लो छ्याङ्दीले पनि सयाैँ स्थानीयलाई रोजगारी दिएको छ ।

सेयरमा बढ्यो आकर्षण
दोर्दी करिडोरमा निर्माण भएका र निर्माणाधीन आयोजनाहरूले आइपिओ निष्कासन गरेसँगै स्थानीय बासिन्दा सेयर खरिदमा लगानी गर्न थालेका छन् । केही वर्षअगाडिसम्म सेयरसम्बन्धी कुनै जानकारी नभएका र चासो नराख्ने स्थानीय, आयोजना गाउँमै निर्माण भएसँगै सेयरमा चासो लिने र लगानी गर्न थालेका हुन् । लमजुङको मध्यमस्र्याङ्दीमा ७० मेगावाटको विद्युत् उत्पादन भए पनि जिल्लाका नागरिकले सेयर हाल्न पाएका थिएनन्, तर अहिले जिल्ला जलविद्युत्मैत्री भएसँगै लमजुङका ग्रामीण भेगका नागरिकसमेत सेयरमा आकर्षित भएको दोर्दी गाउँपालिकाका मोहनप्रसाद घिमिरे बताउँछन् । उनी भन्छन्, ‘दोर्दीका स्थानीयले लाखौँ रुपैयाँ सेयरमा लगानी गरेका छन् ।’ दोर्दी गाउँपालिका–६, ताँजेका प्रत्येक घरले २५ हजारदेखि ५० लाखसम्म सेयरमा लगानी गरेको स्थानीय बासिन्दा खुसीराम घले बताउँछन् । 

एम्बुलेन्स पनि छ गाउँमै

दोर्दी खोलामा निर्माणको अन्तिम चरणमा रहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रका प्रभावितलाई छरछिमेक कार्यक्रममार्फत एम्बुलेन्स हस्तान्तरण गर्दै लिबर्टी इनर्जीका अध्यक्ष कुशकुमार जोशी । 

दोर्दी खोलामा निर्माणको अन्तिम चरणमा रहेको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रका प्रभावितलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । माथिल्लो दोर्दी ‘ए’ सरोकार तथा समन्वय समितिको नाउँमा आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत खरिद गरिएको एम्बुलेन्स समुदायलाई हस्तान्तरण गरिएको हो ।

जिल्लाको विकट मानिएको ठाउँका नागरिकले एम्बुलेन्स पाएकोमा खुसी व्यक्त गरेका छन् । आयोजनाका अध्यक्ष कुशकुमार जोशी प्रभावित क्षेत्रका नागरिकले हिजोको जस्तो समस्या भोग्नुनपर्ने बताउँछन् । आयोजनाको सरोकार समितिका अध्यक्ष चिनबहादुर गुरुङ आयोजनाले नागरिकलाई लक्षित गरी एम्बुलेन्स खरिद गरेपछि स्थानीयलाई धेरै सहज भएको बताउँछन् । उनी भन्छन्, ‘एम्बुलेन्स नहुँदा पहिले यस क्षेत्रका नागरिकले निकै सास्ती खेप्नुपथ्र्यो । कहिले आयोजनाकै गाडीमा लैजानुपर्थ्यो, कहिले जिपमा महँगो पैसा तिरेर बिरामीलाई स्वास्थ्य संस्था पुर्‍याउनुपर्थ्यो ।’ अहिले एम्बुलेन्सबाट दोर्दी गाउँपालिका–६ ढोडेनी, ७ फलेनी र ८ बन्सारका साथै सिङ्गो गाउँपालिका लाभान्वित भएको माथिल्लो दोर्दी ‘ए’ सरोकार समितिका सचिव धर्म गुरुङ बताउँछन् । उनका अनुसार बजारमा ४२ लाख ५० हजार पर्ने एम्बुलेन्स सरोकार समितिले १० लाख १५ हजारमा खरिद गरेको हो । 

माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व वहन गर्नका लागि छरछिमेक कार्यक्रममार्फत ६ करोड रुपैयाँ विनियोजन भएकोमा साढे ३ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाका सञ्चालक राजेन्द्र वस्ती बताउँछन् । आयोजना निर्माण सकिएपछि २ करोड खर्च गर्ने उनको भनाइ छ । छरछिमेक कार्यक्रमअन्तर्गत आयोजना प्रभावित क्षेत्रमा सरोकार समितिमार्फत सडक, शिक्षा, खानेपानी र स्वास्थ्य क्षेत्रमा खर्च गर्दै आएको आयोजनाको भनाइ छ । 

सुझावित समाचार