चीनको इतिहासलाई मार्गनिर्देशन मान्ने हो भने चीनको कम्युनिस्ट पार्टी चाँडै दुर्घटनामा पर्ने अवस्था छैन
चिनियाँ कम्युनिस्ट पार्टीले १ जुलाईमा आफ्नो स्थापनाको सय वर्ष मनायो । पार्टी विघटनको आशा गरेर बसेका पश्चिमी शक्तिलाई यो दिगोपन प्रिय लाग्नेछैन । चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो शासनकालमा केही गम्भीर गल्ती गर्दा पनि अहिले पनि यो निकै बलियो स्थितिमा छ । अमेरिका र पश्चिमी शक्तिलाई अझै वर्षौंसम्म पार्टीले चुनौती पेस गर्ने निश्चित छ । संसारका कुनै एकदलीय पार्टीको तुलनामा चीनको कम्युनिस्ट पार्टीले असाधारण काम गरेको मान्नुपर्छ । चीनको कम्युनिस्ट पार्टीको ऐतिहासिक तुलनाका लागि धेरैले रुसतर्फ हेर्छन् । तर, यस्तो गर्नेले पार्टीको स्थायित्वको शक्ति बुझेका छैनन् । लेनिनको पार्टी र सोभियत संघको तुलनामा पश्चिमले चिनियाँ कम्युनिस्ट पार्टीलाई निकै पछि मात्र बलियो प्रतिद्वन्द्वीका रूपमा लिन थाल्यो । बल्ल आएर पश्चिमले कम्युनिस्ट शासित चीनलाई सैन्य र विचारात्मक मात्र होइन, प्राविधिक र आर्थिक प्रतिद्वन्द्वी पनि मान्न थालेको छ ।
कम्युनिस्ट पार्टीको चरित्र चीनमा लामो इतिहास रहेको जहानियाँ राजतन्त्रकै निरन्तरताजस्तो देखिन्छ । यस हिसाबमा कम्युनिस्ट पार्टी चिनियाँ विशेषताअनुरूपको छ, त्यसैले यसले चीनमा बलियो जरा गाडिसकेको छ । आजको दिनमा चिनियाँ कम्युनिस्ट पार्टी निकै ठूलो, तहगत र संगठित छ । सन् १९२१ मा स्थापना हुँदा जम्मा १२ सदस्य रहेको पार्टीमा अहिले झन्डै नौ करोड सदस्य छन् । १.४ अर्ब चिनियाँ जनतामाथि शासन गर्नका लागि पार्टी नेतृत्वले शताब्दीऔँ पुरानो रणनीतिलाई प्रविधिसित जोडेर प्रयोग गरिरहेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीले विगतका चिनियाँ शासक वंशले जस्तै आफूअघिका ऐतिहासिक घटनाबाट पाठ सिक्ने गरेको देखिन्छ । यसले पार्टीलाई संकटको समाधान गर्न र थप सबल हुन सघाउँदै आएको छ ।
उदाहरणका लागि चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ जनतामाथि गर्ने बृहत्तर निगरानीको अभ्यास चिनियाँ इतिहासमा पनि व्यापक प्रयोग हुन्थ्यो । ‘बाओजिया’ भनिने यस अभ्यास छिङ वंशमा आविष्कार भएर पछि पुनः सङ वंशले बिउँताएको थियो । छिङ वंशले यसलाई व्यापक स्तरमा प्रयोग गर्यो । अहिले आएर चिनियाँ कम्युनिस्ट पार्टीले त्यस अभ्यासमा डिजिटल क्यामेरा मात्र थपेको हो । चिनियाँ कम्युनिस्ट पार्टीले विगतका चिनियाँ शासक वंशले जस्तै आफूअघिका ऐतिहासिक घटनाबाट पाठ सिक्ने गरेको देखिन्छ । यसले पार्टीलाई संकटको समाधान गर्न र थप सबल हुन सघाएको छ । उदाहरणका लागि सन् १९८९ को तियानमेन चोक प्रकरणलाई नै लिन सकिन्छ ।
चीनको हजारौँ वर्षको इतिहासमा जति पनि असंख्य विद्रोह भए, तीमध्ये बौद्धिक तथा प्राज्ञले गरेको विद्रोह कहिले पनि सफल भएनन् । यसैलाई हेरेर शक्तिशाली देङ सियाओपिङको नेतृत्वमा पार्टीले तियानमेन चोकमा जम्मा भएका बौद्धिक प्रदर्शनकारीमाथि दमन गर्दा पनि थप प्रतिरोध नहुने विश्लेषण गर्यो । विदेशीले बहिष्कार गरे त्यो पनि छोटो समयका लागि हुने पार्टीको विश्लेषण थियो । नभन्दै केही समयपछि नै चीन लगानीकर्ताको आकर्षणको केन्द्र बन्यो र केही वर्षमा चीन विश्वको फ्याक्ट्री बन्यो । पश्चिमको एक हिस्सामा चिनियाँ कम्युनिस्ट पार्टीले आयातित लेनिनवादी विचारधारा अँगालेको र चिनियाँ जनतामा स्वतन्त्रता र प्रजातन्त्रको चाहना भएकाले पार्टी लामो समय नटिक्ने सोच छ ।
तर, यस्तो धारणा राख्नेले चिनियाँ कम्युनिस्ट पार्टीको नकारात्मकतालाई निस्तेज बनाउन सक्ने क्षमतालाई ख्याल गर्दैनन् । आखिरमा चिनियाँ कम्युनिस्ट पार्टी अत्यन्त सफल चिनियाँ शासक वर्गको संगठन हो । तर कम्युनिस्ट साम्राज्यको कमजोरी नभएको होइन । चिनियाँ कम्युनिस्ट पार्टीको सत्तातर्फको ऐतिहासिक यात्रा र उसले निर्माण गरेको कम्युनिस्ट राज्यको वैभव सन् २००८ मा सबैभन्दा शिखरमा पुगेकोजस्तो देखिन्छ । त्यस वर्ष चीनले ओलम्पिक प्रतियोगिता आयोजना गरेको थियो । चीनको वास्तविक कुल गार्हस्थ उत्पादन, उसको कामकाजी जनसंख्याको आकार, कुल वैदेशिक प्रत्यक्ष लगानी यहाँसम्म कि हङकङका मानिसको चीनप्रतिको धारणा त्यस समयतिर शिखरमा पुगेको थियो । यसका बाबजुद पनि इतिहासलाई मार्गनिर्देशन मान्ने हो भने चीन चाँडै दुर्घटनामा पर्नेवाला छैन । चिनियाँ इतिहासको सबैभन्दा दमनकारी मिङ वंश पनि आफ्नो वैभवको शिखरमा पुगेको ७२ वर्षसम्म टिकेको थियो ।
अहिलेको स्थितिमा चिनियाँ कम्युनिस्ट पार्टी असफल हुने आशा गर्नेहरूले निराशा मात्र भोग्नेछन् । यो पार्टीको आयु आजको दिनमा जीवित मानिसको भन्दा लामो देखिन्छ । मध्यम वर्गको विकासपछि चीनमा प्रजातन्त्र आउँछ भनेर पश्चिमले आशा गर्न थालेको पनि ४५ वर्ष भइसक्यो । १ जुलाई यो गल्ती स्विकार्ने दिन हो । यो मितिले पश्चिमलाई एक भयानक चुनौती तिनका अगाडि अझै विद्यमान छ भन्ने सोचलाई टड्कारो गराओस् ।
(लियान द हङकङ इकोनोमिक जर्नलका पूर्वप्रमुख सम्पादक हुन्)
द न्युयोर्क टाइम्स र नयाँ पत्रिकाको सहकार्य