१८ दिनमा बाढीपहिरोमा परी ३३ जनाको मृत्यु

चितवनमा २४ घन्टामा ३९१ मिलिमिटर वर्षा

शुक्रबार, १७ असार, २०७८
डिजिटल संस्करण
१८ दिनमा बाढीपहिरोमा परी ३३ जनाको मृत्यु

मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलो भन्ने ठाउँमा खसेको भीमकाय ढुंगा

यसपटक मनसुनको सुरुवातीमै ठूलो पानी पर्दा सिन्धुपाल्चोक र मनाङमा बाढीले धेरै क्षति पुर्यायो । ३१ जेठयता बाढीपहिरोका कारण २६ जिल्ला प्रभावित भएको र ती घटनामा ३३ जनाको मृत्यु भएको राष्ट्रिय आपतलीन कार्यञ्चालन केन्द्रको तथ्यांक छ । ३० जना बेपत्ता छन् । केन्द्रका प्रमुख दिलकुमार तामाङका अनुसार बाढीपहिरोका कारण चार सय ७५ घरमा पूर्ण क्षति भएको छ । एक सय १२ घरमा आंशिक क्षति पुगेको छ । साढे ६ सय परिवार विस्थापित भएका छन् ।

मनसुन फेरि सक्रिय हुँदा बुधबारबाट देशभर पानी परेको छ । मध्य नेपाल केन्द्रित ठूलो वर्षा भएकोे छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले ठूलो वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए । ‘पानी त देशभर नै परिरहेको छ, तर मध्यनेपालमा झरीसहितको ठूलो पानी पर्दा बाढीपहिरोको जोखिम निम्त्याएको हो,’ उनले भने, ‘अझै तीन–चार दिनसम्म यस्तै रहन्छ ।’

महाशाखाका अनुसार प्रदेश १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा ठूलो पानी परेको छ । यो क्षेत्रमा शनिबारसम्म यो क्रम जारी रहने आकलन मौसमविद्ले गरेको छ । बिहीबार सबैभन्दा बढी पानी चितवनमा परेको छ । त्यहाँ २४ घन्टामा ३९१ मिलिमिटर वर्षा मापन गरिएको छ । मौसमविद्हरू यसलाई भीषण वर्षा भन्ने गर्छन् । ठूलो पानी पर्दा बिहीबार भरतपुर क्षेत्रमा डुबान परेको थियो । स्थानीय खोलामा बाढी आएको थियो । यसैगरी, मकवानपुरमा २७७ र तनहुँमा २०७ मिलिमिटर वर्षा मापन भएको छ ।

शुक्रबार देशभर बदली रही प्रदेश १, २, बागमती, लुम्बिनी र गण्डकीका धेरै क्षेत्र र कर्णाली–सुदूरपश्चिमका केही स्थानमा पानी पर्ने आकलन गरिएको छ । त्यसमा पनि प्रदेश १, २, बागमती, लुम्बिनी र गण्डकीका  केही स्थानमा धेरै ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ । शनिबार प्रदेश  १, २, बागमती, लुम्बिनी र गण्डकीका धेरै स्थानमा पानी पर्नेछ । प्रदेश १ का  केही क्षेत्रमा भने ठूलो वर्षाको आकलन गरिएको छ ।

पूर्वतयारीमा जुट्न गृहमन्त्रीको निर्देशन  
फेरि बाढीपहिरोका घटना बढ्न थालेपछि उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले आकस्मिक छलफल गरेका छन् । मन्त्रालयका सचिव र विपद् प्राधिकरणका पदाधिकारीसँग बिहीबार छलफल गर्दै पौडेलले अतिवृष्टिका कारण बाढीपहिरोले क्षति पुग्न सक्ने भएकाले न्यूनीकरणका लागि पूर्वतयारी गर्न निर्देशन दिए । उद्धार, राहत र पुनस्र्थापनालाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने उनको भनाइ थियो । राहत र उद्धारका लागि अन्तरमन्त्रालय र विभिन्न निकायबीच समन्वय हुनुपर्ने उनले बताए । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले प्रधानमन्त्री दैवीप्रकोप कोषमा पाँच अर्बभन्दा बढी रकम रहेकाले राहत र उद्धारमा स्रोतको कमी नहुने बताए । 

सुझावित समाचार