निर्माणकै क्रममा २४ करोड लागतको कमला नदीको पुल बाढीले भत्काएपछि गुणस्तर छानबिन गर्न गृह मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रलाई पत्राचार
बुधबारदेखिको अविरल वर्षापछि आएको बाढीपहिरोले देशका अधिकांश भागको जनजीवन प्रभावित बनेको छ । बाढीपहिरो र चट्याङले चितवन र तनहुँमा गरी पाँचजनाको मृत्यु भएको छ । तीनजना बेपत्ता भएका छन् । वर्षासँगै आएको बाढीले सिरहामा कमला पुल र चितवनमा लदरी खोलाको पक्की पुल भत्काएको छ । तनहुँमा एक घर पहिरोले पुरेको छ । बाढीले चितवनको खैरहनी नगरपालिका–१ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा क्षति पुर्याएको छ । महोत्तरीका धेरै क्षेत्रमा बाढीको पानी पसेको छ ।
१० वर्षदेखि निर्माणाधीन कमला पुलमा उद्घाटन नहुँदै क्षति
सिरहाबाट सुरेन्द्रकुमार कामती

हुलाकी राजमार्गको सिराहा–धनुषा खण्ड जोड्ने कमला नदीको पुल बिहीबार भासिएको छ । सिराहा नगरपालिका– ६ बसपिट्टातर्फबाट पुलको दोस्रो पिलर भासिएको हो । १३ पिलर र १२ स्पानको निर्माणाधीन पुल ४२ महिनामा सक्ने गरी ०६८ जेठमा पप्पु लुम्बिनी बिल्डर्स जेभीले ठेक्का लिएको थियो । तस्बिर : सुरेन्द्रकुमार कामती/नयाँ पत्रिका
अविरल वर्षापछि आएको बाढीले हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला नदीको पुल भासिएको छ । हुलाकी राजमार्गको सिरहा–धनुषाखण्ड जोड्ने बहुप्रतीक्षित कमला नदीको पुल बिहीबार दिउँसो भासिएको हो । सिरहा नगरपालिका–६ बसपिट्टा तर्फबाट पुलको दोस्रो पाया (पायर) भासिएको हो । १३ वटा पाया (पायर) र १२ स्पान (स्ल्याब)सहितको निर्माण भइरहेको पुलको सिरहातर्फबाट दोस्रो पाया भासिएको छ । करिब तीन मिटर पाया तल भासिएपछि स्पान ‘भी–टाइप’ आकृतिको बनेको छ ।
सिरहा–धनुषा जिल्ला जोड्न सिरहा नगरपालिका–६ बसपिट्टा घाटनजिकै ४७० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल ०६८ देखि निर्माणाधीन थियो । ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी २४ करोड ६२ लाख रुपैयाँमा पप्पु लुम्बिनी बिल्डर्स जेभीले ३१ जेठ ०६८ मा सम्झौता गरेको थियो । निर्माण कम्पनीसँग सम्झौता भएपछि तत्कालीन भौतिक पूर्वाधार यातायातमन्त्री हृदयेश त्रिपाठीले पुल निर्माणको शिलान्यास गरेका थिए । पुल निर्माण सुरु गरे पनि पटकपटक म्याद गर्दा पप्पु कन्स्ट्रक्सनले पुल निर्माणमा ढिलाइ गर्दा निर्माणको जिम्मेवारी लुम्बिनी बिल्डर्सलाई दिइएको थियो ।
हुलाकी सडक आयोजना कार्यालय जनकपुरधामका इन्जिनियर जयनाथ यादवले निर्माण कम्पनी पप्पुले कामको प्रगति देखाउन नसक्दा लुम्बिनी बिल्डर्सलाई निर्माण गर्न जिम्मेवारी दिएको बताए । सम्झौताअनुसार ३० मंसिर ०७१ सम्म निर्माण सकिनुपर्ने पुल ढिलाइ र बेवास्ताकै कारण १० वर्षदेखि निर्माणाधीन अवस्थामा छ । पछिल्लोपटक दुईपटक म्याद थपिएर पुल निर्माण ९५ प्रतिशत पूरा भएको थियो । प्रधानमन्त्री केपी ओलीले सिरहा सदरमुकाममा आयोजित एक कार्यक्रममा कमला नदीको पुल ०७७ वैशाखमै उद्घाटन हुने प्रतिबद्धता जनाएका थिए । उनले १८ माघ ०७५ माघमा आयोजित एक कार्यक्रममा प्रतिबद्धता जनाएको कमला पुल उद्घाटन हुनुपूर्व नै भासिएको छ । निर्माण नसकिँदै पुल भासिएपछि स्थानीय चिन्तित बनेका छन् ।
गृह मन्त्रालय र सतर्कता केन्द्रलाई पत्राचार
निर्माण सकेर उद्घाटनको तयारीमा रहेको पुल पानीको सामान्य बहावले भासिएपछि गुणस्तर छानबिन गरी कारबाही अघि बढाउन राष्ट्रिय सतर्कता केन्द्र र गृह मन्त्रालयलाई पत्राचार गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले बताए । ‘पुलमा सवारीसाधन नचल्दै भासिएकाले निर्माण कम्पनीले गलत डिजाइन वा डिजाइनविपरीत काम गरेको सम्भावना देखिएकाले राष्ट्रिय सतर्कता केन्द्रलाई पत्र लेखेको बताउँदै उनले भने, ‘कमला पुलको मापदण्ड परीक्षण गर्नु अवश्यक छ ।’ कमला नदीमा पानीको बहाव बढेसँगै जिल्ला प्रशासन कार्यालय सिरहाले सतर्कता अपनाउन तटीय क्षेत्रका स्थानीयलाई आग्रह गरेको छ । डेढ मिटरभन्दा बढी पानीको बहाव बढेकाले सतर्कता अपनाउन सिरहा, कल्याणपुर र कर्जन्हा नगरपालिकाका तटीय क्षेत्रका स्थानीयलाई आग्रह गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी कँणेलले बताए ।
चितवनमा पहिरो र चट्याङले तीनको मृत्यु, धेरै भाग डुबानमा
भरतपुरबाट विवेक पोख्रेल
लगातारको वर्षापछि आएको बाढीले पूर्वी चितवनको लदरी खोलाको पुल भत्काएको छ । लदरी खोलामा आएको बाढीले चितवनको खैरहनी नगरपालिका–२, धुसरीमा रहेको करिब २० मिटरको पक्की पुल भत्काएको हो । यो पुल दुई दशकअघि निर्माण गरिएको थियो । पुल भाँचिएपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ । वर्षासँगै चितवनको राप्ती नगरपालिका–१२ का मोतीराम चेपाङको घर पहिरोले पुर्दा तीनजना बेपत्ता भएका छन् । चार बेपत्तामध्ये एकजना पुरुषको शव घटनास्थलभन्दा ५० मिटर तल फेला परेको जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । पहिरोले सडक अवरुद्ध हुँदा उद्धारका लागि पुग्नसमेत समस्या भएको राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले जानकारी दिइन् ।
चितवनको कालिका नगरपालिका–११, दानेटार बस्ने ज्ञानबहादुर चेपाङ आफन्तकोमा जानेक्रममा एक्कासि खसेको पहिरोसँगै पानीले बगाउँदा मृत्यु भएको छ । यस्तै, आफ्नै घरनजिक धान रोप्ने क्रममा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । चट्याङ लागेर गम्भीर घाइते भएकी राप्ती नगरपालिका–९ लालपुरकी ४५ वर्षीया बिजुली श्रेष्ठको उपचारका लागि भरतपुर ल्याउने क्रममा मृत्यु भएको थियो ।
बाढीका कारण सौराहा र आसपासका क्षेत्रसमेत प्रभावित बनेका छन् । खैरहनी नगरपालिका–१ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा समेत बाढीले क्षति पुर्याएको छ । उद्योगका सिलिन्डर बाढीले बगाएका छन् । उद्योगको संरचनामा समेत नोक्सान पुगेको छ । पानी पर्ने क्रम नरोकिएपछि भरतपुर महानगरपालिकाको वडा नम्बर ११ र १२ डुबानमा परेको छ ।
पहिरोमा परी तनहुँमा दुईको मृत्यु, तीन घाइते
तनहुँबाट उपेन्द्र खनाल
पहिरोमा परी तनहुँमा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका– ३ तामुङकी ७० वर्षीय हरिमाया नेपाली र ३० वर्षीय सरस्वती थापा छन् । बुधबारदेखि परेको अविरल वर्षाका कारण घरमाथिबाट खसेको पहिरोमा परी उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले बताए । ‘भिरालो ठाउँमा भएकाले पनि घर पहिरोको उच्च जोखिममा रहेछ । दुई दिनदेखि निरन्तर पानी परिरहेको छ । अत्यधिक वर्षाका कारण पहिरो खस्दा घर पुरिन पुगेको हो, जसका कारण दुईजनाले ज्यान गुमाउनु पर्यो,’ उनले भने ।
पहिरोमा परी तीनजना घाइते भएका छन् । घाइते हुनेमा बन्दीपुर गाउँपालिका– ३ तामुङका ६६ वर्षीय लीलबहादुर थापा, उनकी श्रीमती ६५ वर्षीय दाउरीमाया थापा र ३५ वर्षीय छोरा सुभास थापा छन् । उनीहरूको दमौली अस्पतालमा उपचार भइरहेको उपरीक्षक तिमल्सिनाले बताए । त्यस क्षेत्रमा पहिरोले पाँच घरमा क्षति पुर्याएको थियो ।
मृतक सरस्वती थापाका देवर सुभास थापाले दिनभरिको काम सकेर राति सबैजना खाना खाएर सुतेपछि अविरल वर्षापछि आएको पहिरोले दुखद घटना भएको बताए । ‘खाना खाँदा रातको दश बजिसकेको थियो । थकाइ लागेकाले सबैजना सुत्ने तर्खरमा लागियो । आमा र भाउजू एउटा कोठामा सुत्नुभयो, बाबा र म अर्को कोठामा । राति ११ बजेपछि ठूलो पानी पर्न थाल्यो । हामी सुत्याैँ । बिहान ३ बजेतिर घरमाथिबाट पहिरो खस्यो । बाबालाई पहिरोले च्याप्यो मैले बोलाएँ, तर बाबा बेहोस भएकाले बोल्न सक्नुभएन । मेरो पनि हात च्यापेको थियो । मैले केही गर्न सकिनँ,’ उनले भने, ‘पहिरो गएको हल्ला गाउँलेले थाहा पाएछन् । त्यसपछि ४ बजे उनीहरू आएर हामीलाई उद्धार गरे । आमा र भाउजू एउटै खाटमा सुत्नुभएको थियो । आमा, बाबा र म बाँच्न सफल भयौँ, तर भाउजूलाई बचाउन सकिएन ।’
मनाङमा बाढीले भत्काएका सडक अझै बनेनन्
लमजुङबाट शान्ता कमली
असारको पहिलो साताभर आएको विनाशकारी बाढीले क्षतविक्षत बनाएको मनाङको सडक सम्पर्क अझै जोडिन सकेको छैन । बाढीले ठाउँठाउँमा सडक भत्काएकाले हिमाली जिल्ला मनाङको अन्य जिल्लासँग सडक सम्पर्क बिच्छेद भएको छ ।
बेँसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङदेखि मनाङको माथिल्लो मनाङसम्मका विभिन्न स्थानमा बाढीले भत्काएका सडक अझै उस्तै छन् । बाढीले बेँसीसहर–चामे सडकखण्ड छियाछिया बनाएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । उनले भने, ‘जेठ ३१ देखि नै परेको वर्षासँगै विभिन्न खोलामा आएको बाढीले बेँसीसहर–चामे सडकको ठाउँठाउँमा सडक भत्किएको छ, केही ठाउँमा बाढीले सडक बगाएको छ । ती सडक तत्काल सुचारु हुने सम्भावना छैन ।’
१ असारमा आएको बाढीले बेँसीसहर–चामे सडक अवरुद्ध भएकाले खाद्यान्नलगायत अत्यावश्यक सामानसमेत हेलिकोप्टरको माध्यमबाट ल्याउनुपर्र्ने बाध्यता रहेको प्रजिअ लामिछानेले बताए । उनले बेँसीसहर–चामे सडकखण्डको ४० प्रतिशत सडक अवरुद्ध भएको भन्दै सडक सञ्चालन हुन कम्तीमा एक महिना लाग्ने बताए ।
मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बाढीले सडकमा ठूलो क्षति पुर्याएकाले बाढीको क्षतिको विवरण संकलन गर्न जान पनि असहज भएको जानकारी दिए । प्रहरीका अनुसार माथिल्लो मनाङतिर माटो र ढुंगाले बनेका केही घर पनि भत्किएका छन् । केही घर उच्च जोखिममा छन् । बाढीले नासोँ गाउँपालिकामा सबैभन्दा बढी क्षति पुर्याएको छ । नासोँ गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार नासोँ गाउँपालिका– १ तालगाउँ, ३ धारापानी, ४ ओडार, ५ थोचे र ६ र ७ तिल्चे र ताचै बाढीपहिरोबाट बढी प्रभावित भएका छन् ।
जिल्लाका चारवटा स्थानीय तहमध्ये नार्पाभूमिबाहेक चामे, नासोँ र मनाङ ङिस्याङ गाउँपालिकामा बाढीले क्षति पु¥याएको सशस्त्र प्रहरी बल मनाङका प्रमुख डिएसपी होमनाथ पन्थीले बताए । उनले प्रभावित क्षेत्रमा सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली जाने प्रयास गरे पनि चामे बजारको बीच भएर बग्ने घट्टेखोलाको बाढीले खोला तर्न नसकेर बाटोबाटै टोली फर्किएको जानकारी दिए ।
नासोँ गाउँपालिका– २ का वडाध्यक्ष भीमबहादुर गुरुङले बाढीले खानेपानीको पाइप बगाएपछि खानेपानीको समस्या बढेको छ । खानेपानीका लागि आकशेपानीको भर पर्नुपर्ने अवस्था आएको स्थानीय जनप्रतिनिधिले बताए । चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार चामेबजारका ६० बढी घर जोखिममा परेका छन् । ३१ जेठदेखि परेको वर्षाले मनाङमा ५६ घर पूर्ण रूपमा क्षति भएको छ । दुई सय घर जोखिममा परेको मनाङ प्रशासनले जनाएको छ । बाढीले मस्र्याङ्दी नदी अन्य खोलानलामाथि बनेको बेलिब्रिज, झोलुंगे पुल, लघु जलविद्युत् र खानेपानीको पाइप बगाएको छ ।