राष्ट्रिय सभामा एमालेको दलका नेता सुमनराज प्याकुरेलले राजनीतिक विवादको अन्त्य राजनीतिक रूपमा नै गर्नु आवश्यक रहेको बताएका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा प्याकुरेलले न्यायपालिकालाई हाबी गर्ने प्रयत्न भइरहेको भन्दै सचेत हुनुपर्ने आवश्यकता औँल्याए ।
उनले जन्मदेखि नै बहुदलीय प्रणालीका लागि प्रतिबद्ध भनिएका कतिपय राजनीतिक शक्तिहरूले अहिले संविधानको मूल मर्मविपरीत निर्दलीयताको वकालत गरिरहनु दुःखद भएको बताए ।
उनले भने, ‘राजनीतिक विवादको अन्त्यलाई हामीले अन्यत्रैबाट खोज्यौँ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको शक्ति पृथकीकरणको सिद्धान्तलाई नबुझीकन हरेक कुरालाई जसरी न्यायपालिकामा लगिरहेका छौँ र न्यायपालिकालाई हाबी गर्ने जुन प्रयत्न भइरहेको छ त्यसबाट सचेत हुन आवश्यक छ । प्रत्येक राजनीतिक समस्या समाधानको थलो न्यायपालिका हुन सक्दैन । आफ्नो जन्मदेखि नै बहुदलीय प्रणालीका लागि प्रतिबद्ध भनिएका कतिपय राजनीतिक शक्तिहरू अहिले जसरी संविधानको मूल मर्मविपरीत निर्दलीयताको वकालत गरिरहनुभएको छ त्यो दुखद छ ।’