विपतबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्न गृहमन्त्रीको निर्देशन

बिहिबार, १७ असार, २०७८
डिजिटल संस्करण

उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले विपतबाट हुन सक्ने सबै खालका क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्न निर्देशन दिएका छन् । उद्धार, राहत र पुनस्र्थापनालाई उच्च प्राथमिकता दिएर काम गर्न पनि उनले निर्देशन दिएका छन् । 

गृह मन्त्रालयमा बिहीबार बसेको विपतसम्बन्धी बैठकमा पौडेलले देशका विभिन्न ठाउँमा अतिवृष्टिबाट सिर्जित जोखिमलाई विशेष ध्यान दिएर आवश्यक तयारी गर्न निर्देशन दिएका हुन् । उनले विपतका कारण जोखिममा परेकालाई तत्काल उद्धार र राहत प्रदान गर्न सरकारले सम्भव भएका सबै प्रयास गर्ने भन्दै प्रभावकारी र नतिजामुखी भएर काम गर्न पनि सम्बद्ध निकायहरूलाई निर्देशन दिए । 

पौडेलले राहत र उद्धारका लागि स्रोतको अभाव नहुने जानकारी दिँदै विपतका घटना भएपछि के गर्ने भन्दा पनि पहिले नै कसरी घटनाहरूलाई न्यूनीकरण गर्न सकिन्छ भन्नेमा केन्द्रित हुन आग्रह गरे । राहत र उद्धारका लागि अन्तरमन्त्रालय र विभिन्न निकायबीच समन्वय हुनुपर्नेमा जोड दिँदै उनले कोही छुट्ने र कोही दोहोरिने स्थिति सिर्जना नहुने वातावारण सिर्जना गर्न पनि आग्रह गरे । 

पौडेलले क्षति न्यूनीकरणका लागि एकीकृत कार्ययोजना ल्याउने तयारी भइरहेको जानकारी दिँदै अवरुद्ध भएका सडकलाई सञ्चालनदेखि पुनस्र्थापना र पुनर्निर्माणका लागि समय तालिका बनाएर काम गर्न निर्देशन दिए । उनले क्षति भएका ठाउँमा व्यवस्थित पुनर्निर्माणका लागि पनि योजना बनाएर काम गर्न निर्देशन दिए । 

बैठकमा भौतिक पूर्वाधार तथा यातायात, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संघीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोगका सचिव, सुरक्षा निकायका प्रमुखहरूलगायत सहभागी थिए ।
 

सुझावित समाचार