इटालीलाई उपाधिको दाबेदार देखेको छु : विशाल राई

बिहिबार, १७ असार, २०७८
डिजिटल संस्करण
इटालीलाई उपाधिको दाबेदार देखेको छु : विशाल राई

विशाल राई मिडफिल्डर, नेपाली राष्ट्रिय फुटबल टोली

युरोकप रोमाञ्चक भइरहेको छ । नकआउट चरणको प्रतिस्पर्धा सुरु भएसँगै युरोकप थप रोमाञ्चक बन्दै गएको छ । दर्शकका रूपमा युरोकपको मज्जा लिइरहेको छु । तर, समर्थकका रूपमा भने युरोकप सोचेजति रमाइलो भइरहेको छैन ।

म स्पेनको समर्थक हुँ । मैले फुटबल हेर्न थालेदेखि नै स्पेनको टोली मनपरेको हो । फर्नान्डो टोरेस, एन्द्रेस इनस्टा, जाभीलगायत खेलाडीको खेल देखेर स्पेनको समर्थक बनेको हुँ । तर, अहिले उनीहरू टोलीमा छैनन् । टोलीमा सबै खेलाडी नयाँ छन् । तैपनि जारी युरोकपमा मेरो मनपर्ने टोली त स्पेन नै हो । 

आफ्नो मनपर्ने टोली भएको कारण स्पेनले उपाधि जितोस् भन्ने चाहन्छु । यद्यपि, यसपटक स्पेनलाई उपाधि जित्न मुस्किल देखेको छु । स्पेनको सट्टा इटालीलाई उपाधिको मुख्य दाबेदार देखेको छु । इटालीबाहेक जर्मनी पनि बलियो लागेको थियो । तर, जर्मनी प्रिक्वार्टरफाइनल चरणमा इंग्ल्यान्डसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो ।

जर्मन टोलीको एउटा पक्ष निकै बलियो लागेको थियो । जर्मनीका खेलाडीहरूले तीनदेखि चार पासमै बललाई आफ्नो पोस्टबाट विपक्षीको पोस्टमा पुर्याएका थिए । कुनै पनि विपक्षी टोलीका लागि यो खतरनाक हुन सक्छ । बललाई जति धेरै र जति छिटो विपक्षीको पोस्टमा पुर्याउन सकियो, त्यति नै धेरै गोलको अवसर हुने गर्छ । यद्यपि, जर्मनी अघि बढ्न सकेन ।

अब इटालीकै सम्भावना देखेको छु । इटालीको रक्षापंक्ति प्रतियोगिताकै बलियो छ । रक्षकहरूले गोल गर्न नदिएपछि टोलीको जितको सम्भावना उत्तिकै बढी हुने गर्छ । त्यसमाथि इटालीको अग्रपंक्ति पनि बलियो देखेको छु ।

स्पेनले पछिल्ला खेलमा सुधारिएको प्रदर्शन गरेको छ । प्रतियोगिताको पछिल्लो दुई खेलमा उसले कीर्तिमानी प्रदर्शन नै दिएको छ । स्पेन युरोकप इतिहासमा एकै प्रतियोगिताको लगातार दुई खेलमा पाँच वा पाँचभन्दा बढी गोल गर्ने पहिलो टोली बनेको छ । 

तर, स्पेनको टोली इटालीको जत्तिको सशक्त छैन । विशेषगरी स्पेनको अग्रपंक्तिमा धेरै समस्या देखेको छु । स्पेनले अल्भारो मोराटालाई मुख्य स्ट्राइकरका रूपमा खेलाइरहेको छ । उनले क्रोएसियाविरुद्धको खेलमा गोल पनि गरेका छन् । तर, उनले धेरै अवसर गुमाएका छन् । स्पेनजत्तिको टोलीको मुख्य स्ट्राइकरमा हुनुपर्ने गुण उनमा देखेको छैन । त्यसैले पनि स्पेनलाई मुस्किल देखेको छु । 

पछिल्लो दुई खेलको सफलताबाट सिकेर स्पेनले अझै अगाडि प्रयास गरोस् । आशा गरौँ कि स्पेनले आगामी प्रतिस्पर्धाहरूमा थप सशक्त प्रदर्शन गर्न सकोस् र उपाधि जित्न सफल होस् ।

See More On

सुझावित समाचार