बिपी कोइराला अध्ययन–अनुसन्धान केन्द्र भवनको शिलान्यास

काठमाडौं महानगरपालिकाको रु दुई करोड आर्थिक सहयोग

बुधबार, १६ असार, २०७८
डिजिटल संस्करण

 जननायक बिपी कोइराला मेमोरियल ट्रस्टले ‘बिपी कोइराला अध्ययन–अनुसन्धान केन्द्र’ भवन निर्माण गर्ने भएको छ । आज सो भवनको कांग्रेस सभापति शेरबहादुर देउवा, बिपीपुत्र डाक्टर शशांक कोइराला र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रूपमा शिलान्यास गरे ।

उक्त भवन निर्माणका लागि काठमाडौं महानगरपालिकाले दुई  करोड आर्थिक सहयोग गरेको छ । भवन निर्माणका लागि बागमती प्रदेश सरकारले ५० लाख र ट्रस्ट आफैँको एक करोड लगानी रहनेछ ।  थप रकम दाताबाट जुटाउने ट्रस्टले जानकारी दिएको छ । भवन निर्माणको मात्रै लागत करिब ४ करोड ५० लाख लाग्ने अनुमान गरिएको छ ।   

काठमाडौं  महानगरपालिका वडा– ५ को हाँडीगाउँमा निर्माण हुने सो भवन निर्माणका लागि काठमाडौं महानगरपालिकासँगै प्रदेश सरकारलगायतबाट पनि सहयोग प्राप्त भएको प्रतिष्ठानका महासचिव रामचन्द्र पोख्रेलले जानकारी दिए । 

शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्दै कांग्रेस सभापति देउवाले बिपीको योगदानलाई कदर गर्दै भवन निर्माणका लागि काठमाडौं महानगरपालिका र अन्यले गरेको सहयोगप्रति  पार्टीका तर्फबाट धन्यवाद दिए ।  ‘बिपी राजनीतिक, साहित्यिक र सामाजिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो,’ देउवाले भने, ‘बिपीको सम्झना हामी सबैले गर्नुपर्छ । उहाँ विद्वान् मात्रै होइन राष्ट्रवादी र समाजवादी नेता हुनुहुन्थ्यो ।’ 

करिब दुई मिनेटजति मात्रै सम्बाेधन गरेका देउवाले आगामी दिनमा आमनेपालीका लागि यो केन्द्र बिपीको ख्याति र उहाँका बारेमा अध्ययन–अनुसन्धान गर्ने केन्द्रका रूपमा दरिलो गरी उभिने अपेक्षा लिएको बताए । कार्यक्रमलाई सम्बाेधन गर्दै कांग्रेस महामन्त्रीसमेत रहेका  बिपीपुत्र शशांकले बिपीको स्मृतिमा भवनको शिलान्यास भएको दिनलाई आफूले महत्वपूर्ण दिनका रूपमा लिएको बताए ।  ‘काठमाडौं महानगरपालिकाका मेयरज्यूलाई धन्यवाद,’ कोइरालाले भने, ‘उहाँले बजेट दिनुभयो । त्यसैको आधारमा यहाँ आज शिलान्यास कार्यक्रम राखेका छौँ । भवन त संरचना मात्रै हो । त्यहाँ आत्मा हुनुपर्छ । आत्माले नै प्रोत्साहन गर्ने हो । आत्मा नमर्ने गरी अध्ययन–अनुसन्धान केन्द्रलाई अघि बढाउनुहोला ।’ 

कार्यक्रमलाई सम्बाेधन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले आफू कुनै समय बिपीलाई हेर्न र सुन्न सार्जजनिक कार्यक्रममा जाने गरेको स्मरण गराउँदै आज उहाँकै स्मृतिमा निर्माण हुन लागेको बिपी अध्ययन–अनुसन्धान केन्द्र भवनको शिलान्यास कार्यक्रममा काठमाडौं महानगरपालिका सहभागी हुन पाउँदा खुसी लागेको बताए । ‘कुनै समय टाढाबाट सुनेको, हेरिएको र आफूले पनि सम्मान गरेको व्यक्तिको स्मृतिमा निर्माण हुने भवनलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ,’ शाक्यले भने, ‘बिपीपुत्र शशांकले भन्नेबित्तिकै राम्रो काममा सबैले सहमतिका साथ सहयोग गर्नुपर्छ भनेर महानगरपालिकाले सहयोग गरेको हो ।’

कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा प्रमुख शाक्यले कांग्रेस सभापति देउवातिर संकेत गर्दै  दुर्घटनाबाट देशलाई बचाउन आग्रह गरे ।  ‘बिपीले २०१५ सालमा ल्याएको दुईतिहाई पछि तत्कालीन शासकबाट खोसियो,’ शाक्यले भने, ‘अहिलेको नेतृत्वले मुलुकलाई कुनै पनि दुर्घटना नहुने गरी देशलाई बचाएर अघि बढाउनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’ 
शाक्यले आफू स्वर्गीय बिपीको कार्यकर्ता नभए पनि एक अनुयायी भएको स्मरण गराए । 

सुझावित समाचार