एमालेको संस्थापन पक्षले कारबाही गरिएका वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ नेताबाहेक उनका समूहका केन्द्रीय सदस्यलाई बुधबार बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा बोलाएको छ ।
बैठकबाट महाधिवेशन आयोजक कमिटी विघटन गरी ३ जेठ ०७५ अघिको एमालेको केन्द्रीय कमिटी ब्युँताउने तयारी छ । नेपालका स्वकीय सचिव मोहन गौतमले महाधिवेशन आयोजक कमिटीको बैठकबारे कुनै जानकारी नभएको बताए । ‘निम्तो भए पनि अवैधानिक कमिटीको बैठकमा जाने कुरा हुन्नथ्यो, खबर पनि आएको छैन,’ गौतमले भने ।
संस्थापन पक्षले प्रमुख विपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, भीमबहादुर रावल, झपट रावलसहित ११ सांसदलाई कारबाही गरेको थियो । महाधिवेशन आयोजक कमिटीको बैठकमा कारबाहीमा नपरेका नेपाल समूहका केन्द्रीय सदस्यहरू पनि सहभागी नहुने भएका छन् ।
‘खबर त आएको छ, तर हामी अवैधानकि कमिटीको बैठकमा सहभागी हुँदैनौँ,’ नेपाल समूहमा रहेका केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले भने, ‘उहाँहरूले आयोजक कमिटीको बैठकबाट कस्तो निर्णय लिनुहुन्छ, त्यस आधारमा कसरी अघि बढ्ने तय हुन्छ ।’
संस्थापन पक्षले बिहीबार केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ ।