‘अनिवार्य मास्क’ हटाएको केही दिनभित्रै संक्रमित संख्या ७० प्रतिशतले वृद्धि

मंगलबार, १५ असार, २०७८
डिजिटल संस्करण

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सुरुदेखि नै कोरोना भाइरसविरुद्ध लड्न मास्क नै पहिलो उपाय भएको बताउँदै आइरहेको छ । विश्वमा कोरोना भाइरसको पहिलो तथा दोस्रो लहर तीव्रताका साथ बढ्दा डब्लुएचओले सबै देशमा मास्क अनिवार्य हुनुपर्नेमा निकै जोड गरेको थियो । कोरोना संक्रमित संख्या कम भएसँगै धेरैजसो देशले मास्क अनिवार्य नियम हटाएका छन् । अहिले ती देश आफ्नो पूर्ववत् निर्णयमा पुनर्विचार गर्न बाध्य भएका छन् । केही महिनायतादेखि इजरायल, जर्मनी तथा अस्टे«लियाले अनिवार्य मास्क निर्णय हटाएका थिए । तर, यो निर्णय लिएको केही दिनभित्रै ती देशमा कोरोना संक्रमित संख्या ७० प्रतिशत बढेको छ । 

इजरायलमा दश दिनपछि नै मास्क अनिवार्य 
इजरायलमा २३ सेप्टेम्बर २०२० मा कोरोनाको पहिलो लहर आएको थियो । पहिलो लहरमा ११ हजार तीन सय १६ जना संक्रमित भए । २० जनवरीमा इजरायलले कोरोनाको दोस्रो लहर सामना गर्यो । यो समयमा एकैदिन १० हजार दुई सय १३ जना संक्रमित भएको रेकर्ड दर्ता भयो । १९ डिसेम्बर २०२० मा इजरायलले कोरोनाविरुद्धको खोप अभियान सुरु गर्यो । भ्याक्सिन कार्यक्रम अगाडि बढ्दै जाँदा इजरायलमा संक्रमित संख्या पनि घट्दै गयो । मे महिनामा इजरायलमा मास्क अनिवार्य हटाइयो । तर, यसको दश दिनपछि नै इजरायलमा संक्रमित संख्या पुनः बढ्न थाल्यो । यससँगै सरकारले फेरि मास्क अनिवार्य नियम लागू गरेको छ । कोरोना भाइरस नियन्त्रणमा नआउँदासम्म नागरिकलाई मास्क अनिवार्य भनिएको छ । मास्कविना बाहिर निस्कँदा जरिवाना हुने नियम छ । 

४७ प्रतिशत जर्मन नागरिक मास्ककै पक्षमा
जर्मनीमा १८ डिसेम्बर २०२० मा कोरोनाको पहिलो लहर चल्यो । एक दिनमै ३१ हजार पाँच सय ५३ जना संक्रमित भए । त्यसपछि १४ अप्रिल २०२१ मा जर्मनीले दोस्रो लहरको सामना गर्यो । दोस्रो लहरका क्रममा जर्मनीमा एकै दिन ३२ हजार पाँच सय ४६ जना संक्रमित भए । जर्मनीले २७ डिसेम्बर २०२० देखि भ्याक्सिन सुरु गरेको हो । जर्मनीमा भएको एक सर्वेक्षणमा ४४.७ प्रतिशत जनताले जीवनभरि नै मास्क लगाउने पक्षमा मत राखेका छन् । ४१.९ प्रतिशत जर्मन नागरिक विश्वबाट कोरोनाको महामारी समाप्त भएपछि मात्र मास्क नलगाउने पक्षमा छन् । ६५ वर्ष उमेरमाथिकाले मास्कलाई जीवनकै एक हिस्साका रूपमा लिएका छन् । 

फिजीमा मास्क नलगाउने दण्डित
तीन सय ३३ टापु मिलेर बनेको फिजीमा २० मार्च २०२० मा पहिलोपटक कोरोना संक्रमित केस भेटिएको थियो । फिजीले कोरोना नियन्त्रण गर्न अभियान नै चलायो । पछिल्लो डाटाअनुसार फिजीमा तीन हजार आठ सय ३२ जना संक्रमित छन् । यहाँ कोरोनाका कारण १७ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घन्टामा दुई सय ४१ जना संक्रमित थप भएका छन् । फिजीले कोरोना महामारीका रूपमा फैलन नदिन अति नै कडा नियम बनाएको छ । फिजी सरकारले मास्क अनिवार्य नै भनेको छ । यदि कसैले यो नियम तोडे जरिवाना तिर्नुपर्ने हुन्छ ।

अस्ट्रेलियामा फेरि अनिवार्य मास्क
अस्ट्रेलियामा २२ मार्च २०२० मा कोरोनाको पहिलो लहर देखियो । त्यसवेला एक दिनमै पाँच सय ३७ जना संक्रमित भए । २२ फेब्रुअरी २०२१ देखि भ्याक्सिन अभियान सुरु भयो । भ्याक्सिन अभियान सुरु भएपछि बिस्तारै मास्क अनिवार्य हट्दै गएको थियो । मास्क अनिवार्य नियम हटाएको केही दिनपछि नै अस्ट्रेलियामा कोरोना संक्रमित दर बढ्यो । यस कारण अस्ट्रेलियामा फेरि मास्क अनिवार्य गरिएको छ ।

See More On

सुझावित समाचार