गृहमन्त्री विष्णु पौडेलले नेपालको अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने बताएका छन् । अध्यागमन विभागले गरेको प्रणालीसिर्जित क्यु.आर. कोडसहित छपाइ गरिएको भिसाको शुभारम्भ कार्यक्रममा सोमबार पौडेलले नेपालको अध्यागमनलाई सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।
उनले विदेशीको पहिलो आँखा अध्यागमनमै पर्ने उल्लेख गर्दै अध्यागमनको सुधार गर्नुपर्नेमा जोड दिए । अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रियस्तरको बनाउन कामको योजना बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘नेपाललाई विदेशीले चिन्ने पहिलो दृश्य अध्यागमन हो । एयरपोर्ट हो । हामीले यो भिसा प्रणालीमा त एक प्रकारको सुधार गरेका छौँ र अरू थप सुधार गर्दै जान्छौँ । साथै समग्र अध्यागमन प्रशासनलाई समग्रतामा अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने आवश्यकता छ । हामीले गर्नुपर्ने कामबारे योजनाहरू निर्माण गर्दै जाऊँ ।’
पौडेलले अध्यागमन प्रणालीलाई प्रभावकारी बनाउन र यसको प्रतिष्ठालाई माथि उठाउन प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशनसमेत दिए । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले क्यु.आर. कोडसहितको नेपाली कोडबाट सीधै छपाइ रहने भिसा प्रणालीको सुरुवात गरिएको बताए । यसबाट विदेशी नागरिकहरूले विश्वको जुन–कुनै ठाउँबाट पनि भिसाका लागि आवेदन दिन सक्ने बताए ।