नेपाल र विश्व बैंकबीच १७ अर्ब ७८ करोड रुपैयाँ (१५ करोड अमेरिकी डलर) बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्झौता भएको छ । कोभिड–१९ महामारीबाट अति विपन्न र जोखिममा रहेकाहरूको संरक्षण एवं दिगो विकास हासिल गर्न विश्व बैंकले नेपाललाई ऋण उपलब्ध गराएको हो । सम्झौतामा सरकारका तर्फबाट अर्थसचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् ।
अर्थसचिव ढुंगानाले सहयोगले कर र भन्सार प्रणाली, सार्वजनिक लगानी व्यवस्थापन, वातावरणीय नियमन र ऋण व्यवस्थापनलगायतका क्षेत्रमा थप सुधार गरी नेपाललाई थप मजबुत बनाउन र हरित पुनर्निर्माणमा टेवा पुर्याउने बताए । उनले बजेटरी सहायता नेपालको आवश्यकता र प्राथमिकताका आधारमा भौतिक पूर्वाधार आयोजना तथा आर्थिक पुनरुत्थानका क्षेत्रमा परिचालन हुने जानकारी दिए ।
माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले कोभिड–१९ को महामारीका वेला तथा सोपश्चात् पनि यस आयोजनाले नेपालमा दिगो वृद्धि हासिल गर्न सहयोग गर्ने र समावेशी, रोजगारी प्रवद्र्धक तथा पर्यावरणीय रूपमा दिगो हुने बताए । ‘कोभिड महामारीका समयमा मानिसको जीवनरक्षा तथा अर्थ–व्यवस्थाको पुनरुत्थान गर्नका लागि सरकारले ल्याएका कार्यक्रमलाई सघाउन विश्व बैंक प्रतिबद्ध छ,’ उनले भने ।
आर्थिक पुनस्र्थापनामा नेपाल सही बाटोमा छ : अर्थमन्त्री
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिडविरुद्धको लडाइँ र आर्थिक पुनस्र्थापनाका लागि नेपाल सही बाटोमा रहेको बताएका छन् । माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोससँग आइतबार भएको भेटमा अर्थमन्त्रीले यस्तो बताएका हुन् । उनले यो सन्देश विश्व बैंकको नेतृत्वसमक्ष पुर्याउन आग्रहसमेत गरे । निर्देशक फारिस हदाद जर्भोसले नेपालमा कोभिड नियन्त्रण तथा न्यूनीकरण र उपचारका साथसाथै आर्थिक विकासलाई पनि जोड दिन आग्रह गरे ।