‘डेल्टा प्लस’ तेस्रो लहरको कारण बन्न सक्छ ?

के हो ‘डेल्टा प्लस’ भेरियन्ट ?

आइतबार, १३ असार, २०७८
डिजिटल संस्करण

हालसम्म ११ देशमा जम्मा दुई सयवटा केस मात्रै भेटिएको नयाँ भेरियन्ट ‘डेल्टा प्लस’ ले संसारको ध्यान खिच्यो

विश्व स्वास्थ्य संगठनले कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टा प्लस’मा खोपको असर प्रभावहीन हुन सक्ने बताएको छ । हालसम्मकै उच्च संक्रामक मानिएको डेल्टा भेरियन्टमा खोपको प्रभावकारिता कम भएको र म्युटेसन भएर आएको नयाँ भेरियन्टमा समेत खोपको असर न्यून हुन सक्ने डब्लुएचओले संकेत गरेको हो । डब्लुएचओले भाइरसको बदलिँदो स्वरूपले थप चिन्ता बढाएको बताउँदै आएको छ । 

डा.शेरबहादुर पुन सरुवा रोग विशेषज्ञ 

भेरियन्ट अफ कन्सर्नभित्र रहेका बिटा र डेल्टामा अन्यको तुलनामा भ्याक्सिनको प्रभाव कम देखिएको छ । भाइरसले स्वरूप परिवर्तन गर्दै जाँदा प्रभाव घट्दै जानु सामान्य हो । जस्तै, एन्फ्लुएन्जा भाइरसमा पनि हरेक वर्षजसो म्युटेसन भइराख्ने भएकाले भ्याक्सिनसमेत अपडेट गरिराख्नुपर्छ । यसका लागि भेरियन्टमाथि अनुसन्धान गरी भ्याक्सिन अपडेट गर्नु आवश्यक हुन्छ । नयाँ देखिएको भेरियन्टमा पनि भ्याक्सिनले काम नगर्न सक्छ, तर यसबारे अनुसन्धानले कुनै निष्कर्ष भने दिएको छैन ।

डेल्टाको परिवर्तित रूपलाई वैज्ञानिकहरूले ‘डेल्टा प्लस’ भनेका छन्, तर विश्व स्वास्थ्य संगठनले यसको नामाकरण गरेको छैन । नेपालमा पनि ‘डेल्टा प्लस’को संक्रमण देखिइसकेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले २६ वैशाखदेखि २० जेठसम्म देशका विभिन्न स्थानबाट फरक–फरक उमेर समूहको ४८ वटा नमुना संकलन गरेको थियो । सो नमुना परीक्षणका लागि भारतको इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टग्रेटिभ बायोलोजी प्रयोगशाला पठाइएको थियो । जसमध्ये नौवटा नमुनामा भाइरसको परिवर्तित रूप ‘डेल्टा प्लस’ पुष्टि भएको थियो । जुन यसअघि पनि नेपालमा देखिइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार स्वरूप परिवर्तन भएर आएको नयाँ भेरियन्ट ‘डेल्टा प्लस’ अहिलेसम्म ११ देशमा देखिएको छ । 

नेपालसहित ११ देशमा ‘डेल्टा प्लस’ फैलियो
भारतको स्वास्थ्य मन्त्रालयले डेल्टाको स्वरूप परिवर्तन भएर आएको नयाँ भेरियन्ट ‘डेल्टा प्लस’ तीव्र रूपमा फैलिइरहेको बताएको छ । अध्ययनअनुसार अन्य भेरियन्टको तुलनामा यो भाइरस सजिलै फैलिने, फोक्सोको कोशिकामा सजिलैसँग संक्रमण हुने, मोनोक्लोनल एन्टिबडी थेरापीमा प्रभाव पार्ने र शरीरमा भएको एन्टिबडीको कार्यक्षमतामा समेत असर पार्ने देखिएको मन्त्रालयले जनाएको छ । 

स्वरूप परिवर्तन भएर आएको नयाँ भेरियन्टमा खोपहरू र इन्फेक्सन इम्युनिटी प्रभावहीन हुने बताइएपछि ‘डेल्टा प्लस’ कोरोनाको तेस्रो लहरको कारण बन्न सक्ने वैज्ञानिकहरूले बताएका छन् । हालसम्म ११ देशमा जम्मा दुई सयवटा केस मात्रै भेटिएको ‘डेल्टा प्लस’ ले संसारको ध्यान खिचेको छ । डब्लुएचओले खोपको प्रभाव कम हुने बताएपछि कम संक्रमण देखिए पनि ‘डेल्टा प्लस’ लाई घातक मानिन थालिएको छ । योसँगै अनुमानको आधारमा ‘डेल्टा प्लस’ लाई तेस्रो लहरको कारणसम्म मान्न थालिएको छ । तर, हालसम्म ११ देशमा देखिइसकेको र भारतबाहेक अन्य देशमा मृत्यु नभएको ‘डेल्टा प्लस’का केस अन्य भेरियन्टको तुलनामा न्यून नै रहेकाले तत्काल यकिन नभएको चिकित्सकहरूको भनाइ छ । कोरोनाको दोस्रो लहर नियन्त्रणबाहिर जाँदा ‘डेल्टा’ मात्रै भएको वा ‘डेल्टा प्लस’ पनि थियो भन्ने पुष्टि नभएकाले संक्रमण बढ्छ भन्ने आधार नभएको भाइरोलोजिस्ट शेरबहादुर पुन बताउँछन् । 

‘नेपालमा डेल्टा प्लसका संक्रमित पहिले नै देखिइसकेका छन् । संक्रमण बढाइरहेको भेरियन्ट तत्काल पत्ता लगाउन हामीसँग संयन्त्र छैन । केही नमुना परीक्षणका लागि विदेश पठाइएको आधारमा नेपालमा कुन भेरियन्ट बढी छ भन्न सकिँदैन । अर्थात् यदि दोस्रो लहरले पिक लिएको समयमा डेल्टा प्लस पनि थियो भने संक्रमण बढ्दैन, तर तत्काल मात्रै देखिन थालेको हो भने अत्यधिक संक्रामक रहेकाले तेस्रो लहर भित्रिन सक्छ,’ उनले भने । भारतीय स्वास्थ्य मन्त्रालयले ‘डेल्टा प्लस’ अत्यधिक संक्रामक रहेको र छोटो समयमै तेस्रो लहर आउने बताए पनि त्यहाँ चिकित्सकहरूले भने संक्रमितको संख्या न्यून रहेकाले आत्तिहाल्ने अवस्था नरहेको बताएका छन् । 

के हो ‘डेल्टा प्लस’ भेरियन्ट ?
‘डेल्टा प्लस’ महामारीको दोस्रो लहरमा उच्च संक्रामक रहेको डेल्टा अर्थात् बी.१.६१७.२ को परिवर्तित स्वरूप हो । वैज्ञानिकहरूले यो भेरियन्टको स्पाइक प्रोटिनमा के४१७एन म्युटेसन भएको बताएका छन् । भारतले भेरियन्ट अफ कन्सर्नभित्र राखेको यो भेरियन्टमा हाल प्रयोगमा आइरहेका खोपहरूसमेत प्रभावकारी नदेखिने विज्ञहरूले बताउँदै आएको छ । डब्लुएचओेले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

‘डेल्टा प्लस’ पहिलोपटक गत मार्चमा युरोपमा देखिएको थियो । म्युटेसनले भेरियन्टको रूप लिएपछि १० जुनमा मात्रै यसलाई सार्वजनिक गरिएको हो । सुरुवातमा नेपालमा पनि ‘डेल्टा प्लस’का संक्रमित देखिएपछि बेलायतका केही सञ्चारमाध्यमले यसलाई ‘नेपाली भेरियन्ट’ नाम दिएका थिए । नेपालबाट गएका व्यक्तिहरूमा के४१७एन भेरियन्ट देखिन थालेपछि यसलाई ‘नेपाली भेरियन्ट’ भन्न थालिएको थियो । तर हालसम्म धेरै देशमा देखिइसकेकाले सुरुमा देखिएको स्थान भने अनुसन्धानपछि मात्रै पत्ता लाग्ने वैज्ञानिकहरूले बताएका छन् । ‘डेल्टा प्लस’ भेरियन्ट कोरोना भाइरस स्पाइक प्रोटिनमा भएको म्युटेसन हो । वैज्ञानिकहरूका अनुसार के४१७एन म्युटेसन दक्षिण अफ्रिकामा संक्रमणको पहिलो लहरमा अस्पताल भर्ना र मृत्युदर बढाएको बिटा र तीव्र रूपमा फैलिन सक्ने गामा भेरियन्टमा समेत भइसकेको छ । 

नयाँ भेरियन्टमा खोपको प्रभाव 
विश्व स्वास्थ्य संगठनले डेल्टा भेरियन्टमा खोपको असर कम भएको पाइएकाले म्युटेड भएर आएको नयाँ भेरियन्टमा पनि खोपको प्रभाव कम हुने बताएको छ । हाल प्रयोगमा आइरहेका खोपहरूको असर स्वरूप परिवर्तन हुँदै आएका भेरियन्टमा घट्दै गएको छ । तर मृत्युदर नियन्त्रणका लागि भने खोप सहयोगी रहेको विश्व स्वास्थ्य संगठनले दाबी गरेको छ । कोरोना भाइरसमा स्वरूप परिवर्तन हुँदै गएकाले सबै भेरियन्टमा खोप प्रभावकारी छैनन् । दक्षिण अफ्रिकामा देखिएको भेरियन्टमा एस्ट्राजेनेका खोप प्रभावकारी नभएको भन्दै सो देशले भारतबाट खरिद गरेको खोप मार्चको अन्तिम साता अन्य देशलाई बेचेको थियो । सुरुमा एक मिलियन खोप लिएको अफ्रिकाले परीक्षणका क्रममा प्रभावकारी नदेखिएको भन्दै खोप कार्यक्रम नै रोकेको थियो । सम्झौता गरेअनुसारको खोपसमेत फिर्ता गरेको थियो । 

कतारमा गरिएको अर्को अध्ययनले अल्फामा मोडेर्ना र फाइजर भ्याक्सिन ८९ प्रतिशत प्रभावकारी देखिए पनि बिटामा भने २० प्रतिशत कम प्रभावकारी देखिएको जनाएको थियो । तर, भाइरस म्युटेसन हुँदै जाँदा भ्याक्सिनको प्रभावकारिता घट्दै जाने र प्रत्येक भेरियन्टअनुसार भ्याक्सिनको प्रभावकारिता फरक फरक हुने विज्ञहरू बताउँछन् । ‘भेरियन्ट अफ कन्सर्नभित्र रहेका बिटा र डेल्टामा अन्यको तुलनामा भ्याक्सिनको प्रभाव कम देखिएको छ । भाइरसले स्वरूप परिवर्तन गर्दै जाँदा प्रभाव घट्दै जानु सामान्य हो । जस्तै एन्फ्लुएन्जा भाइरसमा पनि हरेक वर्षजसो म्युटेसन भइराख्ने भएकाले भ्याक्सिनसमेत अपडेट गरिराख्नुपर्छ । यसका लागि भेरियन्टमाथि अनुसन्धान गरी भ्याक्सिन अपडेट गर्नु आवश्यक हुन्छ,’ डा.पुनले भने, ‘नयाँ देखिएको भेरियन्टमा पनि भ्याक्सिनले काम नगर्न सक्छ, तर यसबारे अनुसन्धानले कुनै निष्कर्ष भने दिएको छैन ।’ 

See More On

सुझावित समाचार