युरोकप-२०२० : प्रिक्वार्टरफाइनल खेल आजबाट

शनिबार, १२ असार, २०७८
डिजिटल संस्करण

युरोकप २०२० अन्तर्गत शनिबारबाट नकआउट चरणका प्रतिस्पर्धा सुरु हुँदै छन् । नेदरल्यान्ड्सको आम्स्टर्डममा राति ९:४५ बजे हुने प्रिक्वार्टरफाइनल चरणको पहिलो खेलमा वेल्स र डेनमार्क भिड्दै छन् । लन्डनस्थित वेम्बली स्टेडियममा राति १२:४५ बजे दोस्रो प्रिक्वार्टरफाइनल खेलमा अस्ट्रियाले इटालीको सामना गर्दै छ । यो प्रतिस्पर्धाबाट क्वार्टरफाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ । चारै टोलीले प्रतियोगिताको अन्तिम आठमा स्थान सुरक्षित गर्नकै लागि प्रतिस्पर्धा गर्ने निश्चित छ । दुर्भाग्यवश दुई टोलीको यात्रा यही प्रतिस्पर्धाबाट टुंगिनेछ । 

वेल्सविरुद्ध डेनमार्क

वेल्स र डेनमार्क आ–आफ्नो समूहको दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेका टोली हुन् । वेल्स समूह ए र डेनमार्क समूह बीको दोस्रो स्थानका टोली हुन् । तर, प्रतियोगितामा डेनमार्कको यात्रा फरक रह्यो । प्रतियोगिताअन्तर्गत समूहगत चरणमध्ये आफू रहेको समूह बीको खेल आयोजना गरेको डेनमार्क पहिलो खेलमै एउटा डरलाग्दो घटनाबाट गुज्रियो । खेलको दौरान आफ्ना मुख्य खेलाडी क्रिस्टियन एरिक्सन मैदानमै ढलेपछि डेनमार्कका खेलाडीहरूमा त्यसको पीडा देखिएको थियो । 

वेल्सविरुद्ध डेनमार्क
समय -९:४५ बजे (आम्स्टर्डम, नेदरल्यान्ड्स)

वेल्सको प्रिक्वार्टर यात्रा

-स्विजरल्यान्डविरुद्ध १–१ को बराबरी
-टर्कीविरुद्ध ०–२ ले विजयी
-इटालीविरुद्ध १–० ले पराजित

डेनमार्कको प्रिक्वार्टर यात्रा

-फिनल्यान्डविरुद्ध १–० ले पराजित
-बेल्जियमविरुद्ध २–१ ले पराजित
-रुसविरुद्ध १–४ ले विजयी

यद्यपि, सो पीडाबाट सम्हालिएको डेनमार्कले सशक्त प्रदर्शन गर्दै मुस्किल अवस्थाबाट नकआउट चरणको स्थान पक्का गरेको हो । पहिलो खेलमा फिनल्याडसँग अप्रत्यासित १–० को नतिजा व्यहोरेको डेनमार्कले बेल्जियमविरुद्ध सशक्त प्रदर्शन गर्‍यो । तर, डेनमार्क खेलमा २–१ ले पराजित भयो । अन्तिम खेलमा रुसविरुद्ध ४–१ को ठूलो अन्तरको जितसहित डेनमार्क मुस्किल अवस्थाबाट अघि बढेको टोली हो । 

त्यसैले डेनमार्कले प्रतियोगिताको अघिल्लो चरणको खेलमा पनि त्यस्तै प्रदर्शन दोहोर्‍याउने अपेक्षा धेरैको छ । एरिक्सनको घटनापछि डेनमार्कको टोलीमा फरक खालको प्रेरणा र आत्मविश्वास देखिएको छ । डेनमार्कको यो फरक स्वरूपबारे वेल्स पनि जानकार छ । त्यसैले वेल्सका खेलाडीहरू यो प्रतिस्पर्धा कठिन हुने बताउँछन् । वेल्सका रक्षक कोन्नोर रोबर्ट्स भन्छन्, ‘९९ प्रतिशत विश्वले डेनमार्कलाई समर्थन गर्नेछ ।’

यद्यपि, वेल्सले प्रतिस्पर्धा सहजै छाड्नेछैन । वेल्स प्रतियोगितामा सशक्त प्रदर्शन गर्दै अन्तिम १६ स्थान सुरक्षित गरेको हो । बिस्तारै वेल्सको टोलीमा पनि खेलाडीबीचको तालमेल राम्रो बन्दै गइरहेको देखिएको छ । अग्रपंक्तिमा गेराथ बेल र आरोन राम्सीबीचको तालमेलमा वेल्सले अग्रपंक्तिमा विपक्षी टोलीविरुद्ध नियमित आक्रमण गर्दै आइरहेको छ ।

इटालीविरुद्ध अस्ट्रिया

दोस्रो प्रिक्वार्टरफाइनल खेलमा समूह एको विजेता इटाली र समूह सीको उपविजेता टोली अस्ट्रिया भिड्दै छन् । इटाली प्रतियोगिताको समूह चरणबाटै प्रदर्शनमार्फत उपाधिमाथि बलियो दाबेदारी प्रस्तुत गरेको टोली हो । जारी युरोकपको समूहगत चरणका सबै खेलमा इटालीले जत्तिको प्रभावशाली प्रदर्शन अन्य टोलीले सायदै गरेको छ । रक्षापंक्ति, मिडफिल्ड र अग्रपंक्तिमा उत्तिकै सन्तुलित देखिएको इटाली समूह एको सबै खेलमा जित हात पार्दै प्रिक्वार्टरफानइल चरणमा आइपुगेको टोली हो । 

इटालीविरुद्ध अस्ट्रिया

- समय - १२:४५ बजे  (वेम्बली स्टेडियम, लन्डन)

इटालीको प्रिक्वार्टर यात्रा

- टर्कीविरुद्ध ०–३ ले विजयी
- स्विट्जरल्यान्डविरुद्ध ०–३ ले विजयी
- वेल्सविरुवद्ध ०–१ ले विजयी

अस्ट्रियाको प्रिक्वार्टर यात्रा

- नर्थ मेसोडोनियाविरुद्ध १–३ ले विजयी
- नेदरल्यान्ड्सविरुद्ध २–० ले पराजित
- युक्रेनविरुद्ध ०–१ ले विजयी

अस्ट्रियाले पनि प्रतियोगितामा उच्चस्तरको प्रदर्शन दिएको छ । समूह सीको तीनमध्ये दुई खेलमा जित हात पारेको अस्ट्रियाले पनि आफू कमजोर नरहेको प्रमाण प्रस्तुत गरिसकेको छ । त्यसैले पनि प्रिक्वार्टरफाइनल चरणको दोस्रो खेल रोमाञ्चक हुने निश्चित छ । यी दुई टोलीबीचको यसअघिको प्रतिस्पर्धाले पनि खेल प्रतिस्पर्धात्मक हुने देखिएको छ । इटाली र अस्ट्रिया फुटबलमा परम्परागत प्रतिद्वन्द्वी हुन् । 

यी दुई टोलीले एकअर्काविरुद्ध अहिलेसम्म ३५ पटक प्रतिस्पर्धा गरेका छन् । जसमध्ये १६ खेलमा इटाली र ११ खेल अस्ट्रियाले जितेको छ । बाँकी आठ खेल बराबरीमा रोकिएका छन् । अस्ट्रियाले धेरै खेलमा पराजय व्यहोरे पनि इटालीविरुद्ध बढी गोल गरेको छ । इटालीविरुद्ध ४८ गोल व्यहोरेको अस्ट्रियाले उसको विरुद्ध ५० गोल गरेको छ ।

यी दुई टोलीले युरोकपमा तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेका हुन् । युरोकपको नकआउट चरणमा दुई टोलीले पहिलोपटक एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्न लागेका हुन् । इटाली र अस्ट्रियाले यसअघि सन् २०१६ को युरोकपको समूहगत चरणमा दुईपटक प्रतिस्पर्धा गरेका थिए । दुईमध्ये पहिलो खेलमा इटालीले २–१ को जित हात पार्दा दोस्रो खेल २–२ गोलको बराबरीमा टुंगिएको थियो । 

इटालीका प्रशिक्षक रोबर्टाे मान्सिनी भन्छन्, ‘अब फेरि अर्काे प्रतियोगिता सुरु भएको छ । यदि, खेलाडीहरूले अहिले खेलेको जस्तै खेले भने म खुसी हुनेछु । मैले उनीहरूबाट चाहेको त्यही हो । सबै खेलाडी लयमा छन् । राम्रो प्रदर्शनको अपेक्षा गरेको छु ।’

अस्ट्रेलियन प्रशिक्षक फ्रान्को फोदा भन्छन्, ‘प्रतियोगिताको यो यस्तो चरण हो, जहाँ हामीले सहज प्रतिद्वन्द्वी पाउँदैनौँ । इटाली अपराजित छ । सम्भवतः यो समय इटाली पराजित हुने समय पनि हुन सक्छ । यो प्रतियोगितामा केन्द्रित हुने र तयारी गर्ने समय हो । यो प्रतिस्पर्धा कठिन हुनेछ । तर, जितका लागि हामी धेरै मिहिनेत गर्नेछौँ ।’

सुझावित समाचार