सञ्चालकहरू उत्साहका साथ पाहुना कुरिरहेका छन्

शनिबार, १२ असार, २०७८
डिजिटल संस्करण

कोभिड–१९ मा होमस्टे

देशकै सबैभन्दा पहिला होमस्टे स्थापना भएर सञ्चालनमा आएको स्याङ्जाको सिरुबारी होमस्टेमा पहिलो लहरको कोरोनाकालमा १० महिना र दोस्रो कोरोनाकालको सुरुवातदेखिको यो अवधिमा पर्यटक गएका छैनन् । तर, जान चाहनेहरूको मन भने सिरुबारी पुगिरहेको स्थानीय नवयुवा क्लबकी सचिव उर्मिला गुरुङ बताउँछिन् । उनी भन्छिन्, ‘पाहुना आउन पाउनुभएको छैन । उहाँहरूको मन भने सिरुबारी आइरहेको छ । दैनिकजसो हामीलाई सिरुबारी कहिले खुल्छ ? आउने अवस्था कस्तो छ भनेर फोनबाट सोधिरहनुहुन्छ । अवस्था सहज हुनासाथ हामीलाई स्वागत गर्न भ्याइनभ्याई हुने पक्का छ ।’ 

पहिलो लहरको कोरोना संक्रमणको प्रभाव कम हुनेबित्तिकै माघ २७ देखि दोस्रो लहरको कोरोना संक्रमण आएपछि लकडान सुरु नहुँदाका दिनसम्म हरेक दिन खाली नभई पाहुना आउने गरेको गुरुङको अनुभव छ । अहिले पनि काठमाडौं, पोखरा र पाल्पालगायतका जिल्लाबाट पाहुनाहरूले दैनिक फोनमार्फत सिरुबारीको बारेमा चासो राख्दै आउने इच्छा राखिरहेको उनी बताउँछिन् । ग्राहकको यही सोधपुछले नै आफूहरूलाई निराश हुन नदिएको बताउँछिन् उनी । 

पाहुनालाई स्वागत गर्नेबाहेक पर्यटकलाई आकर्षण गर्नका लागि नियमित गर्नुपर्ने काम स्थानीयले गरिरहेको उनी बताउँछिन् । गाउँको सरसफाइदेखि लिएर घरहरूलाई चिटिक्क पारेरै राखिएको उनको भनाइ छ । गुरुङ भन्छिन्, ‘यहाँको विशेषता भनेकै गुरुङ संस्कृति हो । यहाँको एकता हो । अझ यहाँको सरसफाइ व्यवस्थापनलाई हामीले निरन्तरता दिएका छौँ । मात्र पाहुना आएका छैनन् र उनीहरूलाई स्वागत गर्दै सांस्कृतिक कार्यक्रम देखाउन पाएका छैनौँ । अरू हाम्रा नियमित काम गरेरै बसेका छौँ । छिट्टै कोरोना अन्त्य भएर पाहुनालाई स्वागत गर्न पाइयोस् । हाम्रो प्रतीक्षा यसैमा छ ।’ 

जब वातावरण सहज हुन्छ, तब सिरुबारी होमस्टे जागा भइहाल्नेमा सिरुबारी होमस्टे व्यवस्थापन समितिका संयोजक जुमबहादुर गुरुङ पनि विश्वस्त छन् । जुमबहादुर भन्छन्, ‘कोरोना सकियोस्, पाहुना त आइहाल्नुहुन्छ । हामी स्वागत गरिहाल्छौँ । तर, पहिलो कुरा मानिसको ज्यान जोगाउनुपर्छ । यसवेला हिँडडुल नगर्नु भनेर सरकारले भनेको छ, सबैले मान्नुपर्छ । त्यसपछि पाहुना आउने र हामीले स्वागत गर्ने त भइहाल्छ ।’ तत्कालको आफ्नो व्यवसायभन्दा मानिसको ज्यानको महŒव बढी भएको बताउँदा भोलिको दिन उज्यालो रहेको उनको बुझाइ छ । 

व्यवस्थापन समितिका संयोजक जुमबहादुरका अनुसार अहिले सिरुबारीमा होमस्टेकै स्ट्यान्डरमा ६० जना पाहुना राख्न सकिन्छ । आवश्यक परेको खण्डमा १ सय ५० जना पाहुनालाई व्यवस्थापन गर्न सक्ने उनी बताउँछन् । हाल २३ घरमा होमस्टे सञ्चालन गरिएको छ । आफूहरूले होमस्टेमा दिने सुविधा स्टार होटेलसँगको तुलना गर्ने हो भने थ्री स्टार होटेलको सुविधासरहको सुविधा हुने उनको तर्क छ । यद्यपि, होटेलको स्ट्यान्डरमा मापन भने नहुने र आफूहरूको सेवा–सुविधा सबै होमस्टेका प्रावधानअनुरूपको उत्कृष्ट सुविधा रहेको जुमबहादुर तर्क गर्छन् । 

See More On

सुझावित समाचार